‘मधेशी दललाई सरकारमा ल्याउन एमाले तयार !’

काठमाडौं, माघ १३ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान संशोधन र नयाँ सरकार गठनका विषयमा मधेशी दलसँग आफूहरु सहकार्यका लागि तयार रहेको बताएका छन् ।

अखिल नेपाल महिला संघले आज राजधानीमा गरेको कार्यक्रमपछि सञ्चारकर्मीसँग उनले मुद्दाका आधारमा संविधान संशोधनका लागि वाम गठबन्धन तयार रहेको र सहमति भएमा मधेशी दललाई केन्द्रीय सरकारमा सहभागी गराउन कुनै समस्या नरहेको स्पष्ट पारे ।

एमालेले प्रदेश नं २ मा मधेशी दलको नेतृत्वमा सरकार बनाउन पनि पार्टीले समर्थन गर्न सक्ने पोखरेलको भनाइ छ । महासचिव पोखरेलले राष्ट्रियसभाको निर्वाचनमा तालमेल र प्रदेशसभा गठनका विषयमा कार्यदलले काम गरिरहेको र अब बस्ने एकता संयोजन समितिले वैचारिक र संगठन व्यवस्थापनसम्बन्धी कार्यदल गठन गर्ने स्पष्ट पारे ।

प्रदेश नं २ मा सरकारको गठजोडमा मधेश केन्द्रित दल
मधेश केन्द्रित राजनीतिक दलले प्रदेश नं २ मा सरकार गठनका लागि छलफललाई तीव्रता दिएका छन् ।

संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश सरकारका लागि पदीय भागबण्डाका विषयमा छलफल गरिरहेका छन् । अनौपचारिक रुपमा केही खाका तयार पारे त्यसलाई मूर्तरुप दिन भने बाँकी रहेको बताइएको छ । मुख्यमन्त्री, सभामुखलगायतका पद बाँडफाँडबारे छलफल चलिरहेको भएपनि ठोस सहमति भने बनिसकेको छैन ।

दुवै दलले आगामी माघ २१ गते बोलाइएको प्रदेशसभा बैठकलगत्तै सरकार गठनको प्रक्रिया शुरु गर्ने जनाएका छन् । समानुपातिकतर्फको प्रदेश सांसदको निर्वाचन परिणाम आइसकेपछि सरकार गठनबारे अनौपचारिक छलफलमा दुवै दल जुटेका छन् ।

प्रदेशसभा बैठकलगत्तै मुख्यमन्त्री, सभामुख चयनलगायतका प्रक्रिया अघि बढ्ने राष्ट्रिय जनता पार्टीका महासचिव मनिष सुमनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − eight =