निर्वाचन नसकिंदै सरकार छोड् भन्नु संविधान विपरित : देउवा

“काठमाडौं, माघ १३ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले जनहितमा काम गर्न नपाएको गुनासो गरेका छन् ।
वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको दशौं बार्षिक साधारणसभाका अवसरमा राजधानीमा भएको कार्यक्रममा प्रधानमन्त्री देउवाले आफू प्रधानमन्त्री भएलगत्तैबाट निर्वाचन आचारसंहिता लाग्दै आएकाले जनताको पक्षमा निर्णय गर्न कठिन भएको बताए ।
आफूले जनहितमा कुनै निर्णय गर्न आँट्यो कि निर्वाचन आचारसंहिताले रोक्ने गरेको उनको भनाइ छ । उनले राष्ट्रियसभा निर्वाचन सकिनासाथ आफूले सरकार छाड्ने भन्दै निर्वाचन सम्पन्न गर्न बनेको सरकार निर्वाचन नसकिँदै बिदा हुनुपर्ने भन्ने तर्क संविधान विपरीत रहेको दाबी गरे ।
देउवाले जनमतको खिल्ली उडाए : प्रचण्ड
यता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवा सरकारले जनमतको खिल्ली उडाएको टिप्पणी गरेका छन् ।
भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग माओवादी अध्यक्ष प्रचण्डले देउवा सरकारका पछिल्ला निर्णयमा नयाँ सरकारले पुनर्विचार गर्ने बताए । बाँदरमुढे घटनामा ज्यान गुमाएकालाई सहिद घोषणा गरेकोमा आपत्ति नभएको तर, कामचलाउ सरकारले अनावश्यक काम नगरेको राम्रो हुने उनको सुझाव छ । प्रचण्डले नयाँ सरकार गठन अघि नै पार्टी एकता गर्ने गरी छलफल अघि बढेको जानकारी दिए ।”








