कलमको टुँडो (कविता)

ऐ मेरो कलमको टुँडो

बनेर तँ बुढो, हातहीन डुँडो

किन ए मेरो कलमको टुँडो

हाँस्न मन नभए रोई दे रोई नै दे

बग्न मन नभए चुहिदे चुहिदे चुहीनै दे

ए मेरो कलमको टुँडो !

 

किन बसेको कलम तँ रिसाएर

यो जिन्दगीभरिको बिसौना बिसाएर

तेरो रीस करूण नै मिसाएर

केही त आज भनिदे भनिदे भनिनै दे

ए मेरो कलमको टुँडो !

 

भित्र कता कहाँ हो कहाँ

घोची बिझी दुखेको

हाँसी खुसीको मधु घुलाउने

मुस्कान कता लुकेको

रस वर्षाउने हँसिलो ओठ

किन हो तेरो सुकेको

न हाँसे पनि चूप नलाग

खोलिदे ओठ खोलिदे बोली नै दे

ए मेरो कलमको टुँडो !

 

कल्पनाको पखेटाले

टाढाटाढा बेग मार्ने

गहिरोगहिरो गहिरिएर

भित्रभित्रै पीर पार्ने

नीलमको पोखरीजस्तो

आँखा भावनाको छाँगा झर्ने

गहमा किन जमाई राखेको

बगाइदे बगाइदे बगाइनै दे

मदेखि तँलाई घृणा भए

थुकिदे थुकिदे थुकिनै दे

ए मेरो कलमको टुँडो !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 2 =