आज बिहान १० बजेदेखि भोली साँझ ५ बजेसम्म उजुरी दिन सकिने

“
काठमाडौं, माघ ११ । राष्ट्रिय सभा निर्वाचनका लागि हिजो मनोनयन दर्ता गरेका उम्मेदवारमाथि आज उजुरी दिने तथा दावी विरोधको समय छुट्याइएको छ । निर्वाचन कार्यक्रम अनुसार आज बिहान १० बजेदेखी भोली साँझ ५ बजेसम्म मनोनयन दर्ता गराएका उम्मेदवारमाथि उजुरी दिन सकिनेछ ।
सम्बन्धित प्रदेशमा तोकिएको मुख्य निर्वाचन कार्यालय मार्फत उजुरी संकलन हुने निर्वाचन आयोगले जनाएको छ । भोली साँझ ५ बजेसम्म संकलन भएका उजुरीमाथि शनिबार जाँच गरी सम्बन्धित स्थानबाटै त्यसको किनारा लगाइनेछ ।
निर्वाचन कार्यक्रम अनुसार आइतबार उम्मेदवारमाथि सूची सार्बजनिक हुनेछ । सोही दिन १ देखि २ बजे सम्म उम्मेदवारी फिर्ताको समय दिने र सोमबार ३ देखि ४ बजे उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिने निर्वाचन तालिका छ ।
सोमबार नै अपरान्ह ४ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारी मनोनयनको अवस्था हेर्दा १७ जना निर्विरोध निर्वाचित हुने देखिएको छ । यद्यपी निर्वाचन प्रक्रिया सकिएपछि मात्र यसको औपचारिक घोषणा हुने निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रिय सभा निर्वाचन भने माघ २४ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म बहुमतिय र एकल संक्रमणीय प्रणालीका आधारमा हुनेछ । ५९ सदस्यीय राष्ट्रिय सभामा ३ जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक प्रावधान छ ।
“








