जनप्रतिनिधि भित्र्याउन करोड बढी खर्च

असार २०, नेपालगन्ज । १५ बर्षपछि जनप्रतिनिधि भित्र्याउदै गरेको नेपालगन्ज उपमहानगरपालिका तम्तयार अवस्थामा छ । जनप्रतिनिधिलाई कार्यकक्षदेखि कुर्चीसम्मको व्यवस्थापनमा खटिएका कर्मचारी निर्वाचनको परिणाम आउन शुरू भए सगै कार्यकक्ष सिगार्न व्यस्त छन् ।
‘प्रत्येक वडा कार्यालयको व्यवस्थापन देखि मेयर, उपमेयरका लागि कार्यकक्ष निर्माणमा लागेका छौं’, नेपालगन्ज उपमहा–नगरपालिकाका निमित्त प्रमुख राजन केसीले नेपालगन्जन्यूजसंग भने, ‘भएकै साधनस्रोतलाई परिचालन र व्यवस्थापन गरेर जनप्रतिनिधिका लागि उपयुक्त सुविधा जुटाउदैछौं ।’
नेपालगन्ज उपमहानगरपालिका घोषणापछि पनि साविकका गाविस बाहेक पुराना सबै १७ वडामा वडा कार्यालय छैनन् । निर्वाचित प्रतिनिधिहरुको पदस्थापन संगै प्रत्येक वडामा कार्यालय स्थापनाका लागि कर्मचारीहरु केन्द्रित छन् । ‘कार्यालय निर्माणदेखि मर्मत सम्भारका लागि जुटेका छौं’, निमित्त प्रमुख केसीले भने । जनप्रतिनिधि भित्रिने भएपछिको व्यवस्थापनका लागि मात्रै नेपालगन्ज उपमहानगरपालिकाले झण्डै १ करोड रुपैया खर्च गर्दैछ । ‘मुख्य कुरा कार्यालय व्यवस्थापन नै रह्यो’, लेखा प्रमुख समेत रहेका निमित्त कार्यालय प्रमुख केसीले भने, ‘प्रत्येक वडामा फर्निचरदेखि कम्प्युटर सम्मका साधनस्रोत जुटाइरहेका छौं ।’
नगर प्रमुख र उपप्रमुखको कार्यकक्षका लागि योजना शाखाका इन्जिनियर पवन गुप्ता नै खटेका छन् । ‘कार्यकक्षलाई बढी भन्दा बढी आकर्षक बनाउन योजना शाखा सक्रिय छ’, केसीले भने । जिन्सी शाखा प्रमुख युवराज विक्रम घलेका अनुसार, नगर प्रमुखका लागि हालको ९ नं। कोठालाई व्यवस्थित गरिंदैछ । ‘मेयर सापका लागि कार्यकक्षसगै रेष्टरुम पनि बनाइदैछ’, घलेले भने, ‘कार्यकक्ष साँघुरो हुने ठानेर सगैको अर्को कोठा पनि जोड्न खोजिंदैछ ।’ नगरपालिकाले जिआइजेड जर्मनीले उपयोग गर्दै आएको कोठा समेतलाई मेयरका लागि खाली गराएको छ ।
‘दुई वटा ठूला राष्ट्रिय झण्डा अर्डर गरिसकिएको छ’, आकर्षक सोफा, कुर्ची टेबल सँगै वातानुकुलित गराइदै गरेको जनप्रतिनिधिको कार्यकक्ष देखाउदै घलेले भने, ‘७ फिटको झण्डा आवश्यक पर्दो रहेछ ।’झण्डै ३ करोडको नयाँ कार्यालय भवनमा नवनिर्वाचित जनप्रतिनिधिहरुको कार्यकक्ष रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *