राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता, १७ जना निर्विराेध

“
काठमाडौं, माघ १० । राष्ट्रिय सभा सदस्यका लागि सातै प्रदेशमा मनोनयन दर्ता गर्ने काम सम्पन्न भएको छ । राष्ट्रिय सभाको ५९ सिट मध्ये ५७ सदस्यका लागि हुन लागेको निर्वाचनमा ८३ जनाको उम्मेद्वारी परेको छ। जसमध्ये महिला तर्फ २६, अन्य समूहमा २८, दलित तर्फ १४ र अपाङ्गता/अल्पसंख्यक समूहमा १५ जनाको उम्मेद्वारी परेको हो।
राष्ट्रिय सभामा जम्मा ५९ सदस्य हुन्छन । ३ सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभामा प्रदेशबाट खुल्ला ३, महिला ३ दलित १ र अपाङ्ग एवं अल्पसंख्यक १ गरी ८ जना निर्वाचित हुनेछन् । निर्वाचनका लागि २ हजार ५६ जना मतदाता रहेका छन् । उनीहरुले प्रत्येक प्रदेशबाट ८/८ जनाका दरले ५६ जना उम्मेदवारलाई चयन गर्नेछन् ।
यही माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि माघ १५ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।
प्रदेश १ बाट १२ जनाको उम्मेदवारी दर्ता
विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा ८ पदका १२ जनाको उम्मेदवारी परेको छ । चार राजनीतिक दलका १२ जनाले बुधबार विराटनगरस्थित वीरेन्द्र सभागृहमा रहेको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनको तर्फबाट ७ जना, कांग्रेसबाट ४ जना र राप्रपाबाट १ जनाको उम्मेदवारी परेको छ ।
सहायक निर्वाचन अधिकृत नवराज दुलालका अनुसार खुल्लातर्फ वाम गठबन्धनबाट हरिचरण शिवाकोटी, परशुमेघी गुरुङ र खड्बबहादुर वस्नेतको उम्मेदवारी परेको छ ।
महिलातर्फ नैनकला ओझा र विना पोखरेल, दलितमा खेम नेपाली र अल्पसंख्यकमा अगम बान्तवाको उम्मेदवारी परेको छ । जसमा विना पोखरेल माओवादी केन्द्रका हुन् भने अरु एमालेका हुन् ।
नेपाली कांग्रेसबाट खुल्ला सदस्यमा रमेशजंग रायमाझी, महिलामा सरिता प्रसाई, अल्पसंख्यकमा महेश जाजु र दलितमा बिनकुमार विश्वकर्माले उम्मेदवारी दिएका छन् । राप्रपाको तर्फबाट अल्पसंख्यकमा अनुपमादेवी साहको उम्मेदवारी परेको छ ।
प्रदेश १ मा ९३ जना प्रदेश सांसद र २६४ जना स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ३ सय ६७ मतदाता रहेका छन् । संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालको सवारी दुर्घटनामा परी हालै मृत्यु भएकाले मतदाता संख्या ३ सय ६६ हुनेछ ।
प्रदेश २ मा ९ जनाको उम्मेदवारी
धनुषा– राष्ट्रियसभा निर्वाचनका लागि दुई नम्बर प्रदेशमा जम्म ९ जनाको उम्मेदवारी दर्ता भएको छ । अल्पसंख्यकमा राजपा नेपालका वृषेशचन्द्र लाल र दलितमा संघीय समाजवादी फोरम नेपालका रामप्रित पासवान गरी दुई क्लष्टरमा एक–एक जनाको मात्रै उम्मेदवारी पर्दा दुबैजना राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । यद्यपि, यसको आधिकारिक घोषणा भने १५ गते मात्रै हुनेछ ।
दुई नम्बर प्रदेशमा तीन सिट रहेको महिलातर्फ पनि तीन जनाको मात्रै उम्मेदवारी परेको छ । माओवादी केन्द्रबाट शशिकला दाहाल, नेपाली काँग्रेसबाट मुक्ति यादव र संघीय समाजवादी फोरम नेपालबाट प्रमिला कुमारी यादवले उम्मेदवारी दर्ता गराएका छन् । तीन जना निर्वाचित हुनपर्ने अन्य समुहमा चारजनाले उम्मेदवारी दर्ता गराएका छन् ।
राजपा नेपालबाट रमेश यादव, नेकपा एमालेबाट सुमनराज प्याकुरेल, नेपाली काँग्रेसबाट जितेन्द्रनारायण देव र नेपाल संघीय समाजवादी पार्टीबाट मोहम्मद अख्तर हुसैनले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जनाएका छन् ।
यसैबीच राष्ट्रियसभा निर्वाचनका लागि अल्पसंख्यकतर्फ उम्मेदवारी दिन गएका माओवादी केन्द्रका नेता नरेन्द्र साह कानुले उम्मेदवारी दर्ता गराउन पाएनन् ।
प्रदेश नं ३ बाट १७ जनाको उम्मेदवारी
काठमाडौं –राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश नं। ३ मा १७ जनाको उम्मेदवारी परेको छ । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र नेपाल मजदुर किसान पार्टीले राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन पत्र दर्ता गराएका छन् ।
एमालेबाट ६, कांग्रेसबाट ४, नेककिपाबाट ४ माओवादी केन्द्रबाट २ र राप्रपाबाट १ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ६ जना महिला, दलित र अल्पसंख्यक तीन÷तीन जना र अन्य ५ जनाको उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत शम्मी कपुर साहले जानकारी दिए ।
नेकपा एमालेबाट बलराम बास्कोटा, बेदुराम भुसाल, सिंहबहादुर विक, उदय शर्मा, रामचन्द्र राई र दिलकुमारी थापा रावल (पार्वती)ले उम्मेवारी दर्ता गराएका छन् ।
यस्तै माओवादी केन्द्रबाट राम बहादुर थापा (बादल) र गंगा पराजुलीले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली कांग्रेसबाट राधेश्याम अधिकारी, धन खतिवडा, मदनकृष्ण श्रेष्ठ र हरिशरण नेपालीले उम्मेदवारी दिएका छन् ।
यस्तै नेपाल मजदुर किसान पार्टीबाट हिमालेश्वर लाल मुल, श्याम विशुङ्खे, गीता काफ्ले र कृष्ण बहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश ४ मा १२ जनाको उम्मेदबारी
पोखरा । प्रदेश नम्वर ४ बाट माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १२ जनाको उमेद्वारी परेको छ । बाम गठबन्धनबाट ६ जना, नेपाली काग्रेसबाट ४ जना र राष्ट्रिय जनमोर्चाबाट २ जनाले उमेदवारी दर्ता गरेका छन् ।
मनोनयन दर्ता गर्नेहरुमा वाम गठबन्धनबाट खुलातर्फ एमालेका गणेश प्रसाद तिमिल्सिना (पर्वत) र माओवादी केन्द्रबाट दीननाथ शर्मा (बागलुङ), महिलातर्फ एमालेकी दीपा गुरुङ (लमजुङ), एमालेकी शान्ति अधिकारी (बागलुङ), अपांग कोटातर्फ एमालेका रामबहादुर थापा (स्याङ्जा) र दलिततर्फ माओवादी केन्द्रका खिमबहादुर बिक (स्याङ्जा) रहेका छन् ।
त्यसै गरि नेपाली काँग्रेसबाट चार जनाल मात्रै उमेद्वारी दिएका छन् । काग्रेसबाट खुलातर्फ सुरेन्द्रराज पाण्डे (गोरखा), महिलातर्फ विन्दा देवी राना (कास्की), अपांगतर्फ प्रकाश पन्त (तनहँु) र दलिततर्फ जितबहादुर नेपाली (पर्वत) ले मनोनयन दर्ता गरेका छन् ।
यसै गरि राष्ट्रिय जनमोर्चाबाट २ जनाले मनोनयन दर्ता गरेका छन् । राष्ट्रिय जनमोर्चा खुलातर्फ कृष्ण अधिकारी (बागलुङ) र महिलातर्फ मीना पुन (बागलुङ) रहेका छन् ।
प्रदेश सभाका ६० र स्थानिय निकायका प्रमुख र उपप्रमुख १ सय ७० गरि २ सय ३० जना मतदाता रहेको क्षेत्रीय निर्बाचन कार्यालयले जानकारी दिएको छ ।
प्रदेश ५ मा काे प्रदेश ७ मा जनाको उम्मेदवारी
दाङ । ५ नं प्रदेशमा जनाको उम्मेदवारी दर्ता भएको छ । खुलातर्फ एमालेका खिमलाल भट्टराई, माओवादी केन्द्रका चन्द्रबहादुर खड्का, नेपाली काँग्रेसका दुर्गाप्रसाद उपाध्याय र राष्ट्रिय जनमोर्चाका रश्मीराज नेपालीले उम्मेदवारी दिएका छन् ।प्रदेश नम्बर ५ मा तीन महिला उम्मेद्वारले मात्र मनोनयनपत्र दर्ता गराएका छन् । उक्त प्रदेशबाट नेकपा एमालेका महिला उम्म्द्वारहरु कोमल वली र मीना बुढासहित नेपाली कांग्रेसकी उम्मेद्वार अनिता देवकोटाको उम्मेद्वारी परेको हो ।
राष्ट्रियसभा निर्वाचनमा एक प्रदेशबाट ८ जनाको उम्मेदवारी दिनुपर्ने नियम छ । त्यसमा ३ जना महिला उम्मेद्वार अनिवार्य हुन्छ । ५ नम्बर प्रदेशमा भने दर्ता गर्ने उम्मेद्वारहरुमा भने ३ जनानै महिला उम्मेद्वारको नाम परेको छ ।
प्रदेश ६ मा १२ जनाको उम्मेदवारी
सुर्खेत । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश ६ मा १२ जनाको मनोनयन दर्ता भएको छ । नेकपा एमालेका ५, माओवादी केन्द्रका ३ र नेपाली कांग्रेसका ४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
मनोनयन दर्ता गर्नेहरुमा एमालेको तर्फबाट नरपति लोहार, नन्दा शर्मा (चपाई), कविता बोगटी, भैरवसुन्दर श्रेष्ठ र ठकेन्द्रप्रसाद पुरी र माओवादी केन्द्रबाट कालिबहादुर मल्ल, जीवनबहादुर बुढा र युटुल तामाङले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी नेपाली कांग्रेसबाट गोपालप्रसाद शर्मा, विष्णु शाही, सूर्यदेवी मल्ल र मित्रलाल सार्कीको मनोनयन दर्ता भएको छ ।
प्रदेश नम्बर ६ बाट राष्ट्रिय सभाका लागि ८ निर्वाचित हुनेछन् । जसमध्ये ३ जना खुल्ला, ३ जना महिला, १ जना अल्पसंख्यक र १ जना दलित चुनिने छन् ।
निर्वाचनमा प्रदेश ६ का गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी १ सय ५८ जना तथा प्रदेशसभाका प्रत्यक्ष र समानुपातिकका ४० सदस्य गरी कुल १९८ जनाले मदतान गर्ने निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेले जानकारी दिए ।
प्रदेश ७ मा ६ जना निर्विरोध
डोटी । प्रदेश नं. ७ बाट राष्ट्रिय सभाका लागि ६ सदस्य निर्विरोध भएका छन् । वाम गठबन्धनको तर्फबाट चार र नेपाली कांग्रेसको तर्फबाट दुई गरी ६ जना निर्विरोध भएका हुन ।
बुधवार भएको उम्मेदवारी मनोनयनको क्रममा खुला र महिला तर्फ आवश्यक सदस्य संख्यामा मात्रै उम्मेदवारी परेपछि तीन महिला र खुला सदस्यहरु निर्विरोध हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
निर्विरोध हुनेहरुमा खुलातर्फ एमाले अछामका अध्यक्ष एवं पूर्व सभासद् शेरबहादुर कुँवर, नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डे र नेकपा माओवादी कैलाली जिल्ला इन्चार्ज हरिराम चौधरी ‘उत्सव’ रहेका छन ।
यस्तै महिलातर्फ एमाले केन्द्रीय सहरी बिकास बिभाग सदस्य ईन्दु कडरिया, कैलाली जिल्ला कमिटी सदस्य कमला वली र नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्व शिक्षिका तारादेवी भट्ट रहेका छन ।
दलितमा वाम गठबन्धनको तर्फबाट एमाले नेता चक्रप्रसाद स्नेही र कांग्रेसको तर्फबाट शेरीराम पार्कीको उम्मेदवारी परेको छ ।
यस्तै अपाङ्गरअल्पसंख्यकमा वाम गठबन्धनको तर्फबाट महेशकुमार महरा र कांग्रेसको तर्फबाट छत्रराज जोशीले उम्मेवारी दर्ता गरेका छन ।
को-को भए निर्विरोध ?
प्रदेश १ बाट तीन महिला सदस्यका लागि एमालेकी नैनकला ओझा, माओवादीकी विना पोखरेल र कांग्रेसकी सरिता प्रसाईको मात्र उम्मेद्वारी परेको छ ।
प्रदेश २ बाट पाँच सदस्य निर्विरोध भएका छन् । खुलातर्फका ३ सदस्यका लागि ४ जनाको उम्मेदवारी परेको छ । महिला तीन सीटमा माओवादीकी शशीकला दाहाल, कांग्रेसकी मुक्ताकुमारी यादव र फोरमकी प्रमिला यादवको मात्रै उम्मेदवारी परेको छ । त्यस्तै दलित कोटामा फोरमका रामप्रीत पासवान र अल्पसंख्यकमा राजपा उपाध्यक्ष वृषेशचन्द्र लालको मात्रै उम्मेदवारी परेको छ ।
प्रदेश ३ र ४ मा सबै ८/८ सदस्यका लागि नै मतदान हुने भएको छ । प्रदेश ३ मा ८ सिटका लागि १७ र प्रदेश ४ मा १२ जनाको उम्मेदवारी परेको छ ।
प्रदेश ५ बाट राष्ट्रियसभामा तीन महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेकी कोमल वली, मीना बुढा र कांग्रेसकी अनिता देवकोटाको मात्रै उम्मेदवारी परेको छ ।
प्रदेश ६ मा भने सबै सिटमा चुनाव हुनेछ ।
प्रदेश ७ बाट भने खुला र महिलातर्फ ३/३ सदस्य निर्विरोध निर्वाचित भएका छन् । दलित र अपाङ्ग तथा अल्पसंख्यक सिटका लागि चुनाव हुनेछ । खुलातर्फ एमालेका शेरबहादुर कुँवर, माओवादीका हरिराम चौधरी र कांग्रेसका बद्री पाण्डे निर्विरोध भएका छन् । महिलामा एमालेकी इन्दू कडेरिया विष्ट र कमला ओली, कांग्रेसकी तारादेवी भट्टको मात्रै उम्मेदवारी परेको छ ।दावी विरोधलगायतको प्रक्रिया पूरा गरेपछि उनीहरु निर्विरोध निर्वाचित भएको घोषणा हुनेछन् ।
“








