कसरी उच्च राख्ने राष्ट्रिय सभाको गरिमा ?

राष्ट्रिय सभाको निर्वाचन यही माघ २४ गते हुँदैछ । त्यसका लागि दलहरुले बुधबार मनोनयन दर्ता गरेका छन् । राष्ट्रिय सभामा निर्वाचित हुने जनप्रतिनिधिहरुको ओजले नै यो सभाको पनि ओज निर्धारण गर्छ । तसर्थ राष्ट्रिय सभा कस्तो बनाउने यसबारे पर्याप्त बहस हुन जरुरी छ ।

राष्ट्रिय सभामा जम्मा ५९ सदस्य हुन्छन । ३ सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ । निर्वाचनका लागि २ हजार ५६ जना मतदाता रहेका छन् । उनीहरुले प्रत्येक प्रदेशबाट ८/८ जनाका दरले ५६ जना उम्मेदवारलाई चयन गर्नेछन् ।

राष्ट्रिय सभा स्थायी प्रकृतिको सभा हो । प्रतिनिधिसभा विघटन हुँदा पनि यसले काम गर्न सक्छ । यसभित्र विभिन्न समितिहरु हुन्छन् । प्रतिनिधिसभाले पारित गरेका ऐन कानुनहरु अध्ययन गर्ने, आवश्यकता अनुसार संसोधन गर्ने, फिर्ता पठाउने वा अस्वीकृत गर्नेसम्मका काम गर्नका लागि विविध क्षेत्रमा तदनुसारको योग्यता आवश्यकता पर्दछ । कुनै प्रदेश वा स्थानीय तहले संविधान विपरित काम गरेमा केन्द्र सरकारले त्यस्ता सरकार वा तहलाई विघटन गर्न सक्नेसम्मको अधिकार हुन्छ । यस्ता प्रतिकुल अवस्थामा राष्ट्रिय सभाले महत्वपूर्ण सुझाव दिन सक्छ । यस्ता खास खास अवस्थामा पनि उचित भूमिका निभाउनु जरुरी हुने भएकोले यस प्रकारको उचाई प्राप्त ब्यक्तिको खोजी आवश्यक हुन्छ ।

राष्ट्रिय सभामा कस्ता ब्यक्तिको चयन हुनु पर्ला ? यसबारे जति वहस हुनुपर्ने हो त्यति वहस भएको छैन । राष्ट्रिय सभामा गठनबारे अन्तर्राष्ट्रिय अनुभवबाट पनि नेपालले सिक्न जरुरी छ ।

वेलायतको हाउस अफ लर्डस् संसदको मथिल्लो सदन हो । वेलायतमा कानुन, कुटनीति, युद्घ, राज्य कौशल, वैज्ञानिक र ज्ञानमा आधारित ख्यातिप्राप्त ब्यक्तिलाई चयन गरिन्छ । मुलुकका जेठा, अनुभवी, प्रतिभावान् राजनेता र राजनीतिज्ञहरुले पार्टीमाथि उठेर स्वच्छन्द तवरमा वहस गर्छन् । यिनीहरुलाई तल्लो सदन जस्तो पार्टीको अंकुश लाग्दैन । नत यसका कारणले सरकार ढल्ने र वन्नेनै हुन्छ । यद्यपि तल्लो सदनले गरेका निर्णयलाई यस सदनले स्वीकार नगरेपनि पारित हुन सक्छ । मुख्य कुरा सही वा गलत भयो कि भएन भनेर पुनर्विचार गर्ने माध्यमको रुपमा यसलाई लिइन्छ ।

छिमेकी मुलुक भारतमा पनि राष्ट्रिय सभा छ । तर, वेलायतको भन्दा अलि शक्तिशाली । तल्लो सदनले गरेका निर्णयलाई सुझावसहित फिर्ता पठाउने, अस्वीकार गर्ने वा केही नगरेर चुप लाग्ने काम त्यो सभाले गर्न सक्छ ।

राष्ट्रिय सभामा कानुन, कुटनीति, शिक्षा, अर्थशास्त्र, समाजशास्त्र, राजनीतिशास्त्र, योजना, विकास, विज्ञानका क्षेत्रमा ख्यातिप्राप्त ब्यक्तिलाई चयन गरिनुपर्छ । त्यसवाहेक जेठा, अनुभवी, प्रतिभावान् र आलोचनात्मक दृष्टिकोण राख्नसक्ने राजनीतिक ब्यक्तिलाई पनि प्राथमिकता दिनुपर्छ । सामान्यतः राष्ट्रियसभामा गएको ब्यक्ति पुनः प्रतिनिधिसभामा जानु उपयुक्त हुन्न । त्यसैले वेलायतमा जेठा, अनुभवी र प्रतिभावान् ब्यक्तिको चयन गरिन्छ ।

प्रतिनिधि सभाकै बिडम्बना दोहोरिने सम्भावना

विडम्वना के छ भने प्रायः अहिले देखिएका इच्छुक अनुहारहरु हेर्दा प्रतिनिधिसभा वा प्रदेशसभामा उम्मेदवार वन्न नसकेका ब्यक्तिलेनै राष्ट्रिय सभामा चासो देखाएका छन् । चासो देखाउनु वा ईच्छा जाहेर गर्नु स्वभाविकै कुरा हो, तर राष्ट्रिय सभाका लागि उपयुक्त मापदण्ड बन्न नसक्दा र दलहरुले नैतिक आचरण देखाउन नसक्दा प्रतिनिधि सभा वा प्रदेश सभाकै बिडम्बना यहाँ पनि दोहोरिने देखिएको छ ।

अहिले प्रतिनिधि सभा वा प्रदेश सभामा निर्वाचित भएका कतिपय जनप्रतिनिधिहरु विभिन्न काण्डमा मुछिएका छन् । कैयौ प्रहरीको खोजिको सूचीमा छन् । स्थानीय तहदेखि प्रतिनिधि सभासम्म जनप्रतिनिधिका अनुहार हेर्दा चेलीबेटी बेचबिखन देखि हत्या आरोपीसमेत निर्वाचित भएका छन् ।

अझ समानुपातिक प्रणालीले त नेताका आफन्त, नातागोता, चन्दादाता वा पद खरिद गर्न सक्ने ब्यक्तिहरु समेत जनप्रतिनिधि बनेका प्रशस्त उदाहरण छन् । त्यसो गर्दा पनि भाग नपुग्नेहरुलाई अब राष्ट्रियसभामा लैजान दलहरुले तयारी गरेका छन् ।
माथिल्लो तहको सदन राष्ट्रिय स्तरमा ख्यातीप्राप्त ब्यक्तिहरुको प्राज्ञिक बहस गर्ने थलो बन्नुपर्छ । विभिन्न क्षेत्रमा ख्याती कमाएका ब्यक्तित्व जसले राष्ट्रिय राजनीतिलाई पार्टी भन्दा माथि उठेर दिशा निर्देश गर्न सकुन्, उनीहरुको प्रतिनिधित्व गरिनुपर्छ । सरकारलाई असजिलो परिस्थितिमा सरसल्लाह दिने तथा प्रतिनिधि सभाले प्रस्तुत गरेका ऐनकानुनहरुको सहि परीक्षण गर्न सक्नुपर्छ । अनि मात्र राष्ट्रिय सभाको गरिमा कायम रहन सक्छ ।

तर, राष्ट्रिय सभामा राष्ट्रिय अनुहारहरु होईन, अधिकांश प्रतिनिधि सभा र प्रदेश सभामा टिकट नपाएका वा पाएर पनि जित्न नसकेका जिल्ला तहका कार्यकर्तालाई नै ‘ठेगान लगाउने’ ठाउँका रुपमा प्रयोग गर्दैछन् । दलका सिफारिसमा परेका र मनोनयन दर्ता गर्न गएका ब्यक्तिहरुको अनुहार हेर्दा राष्ट्रिय सभाको गरिमा जुन रुपमा हुनुपर्ने हो त्यही त्यसअनुरुप कायम हुन सक्ने देखिंदैन ।

बिडम्बना राष्ट्रिय सभा निर्वाचनका लागि आकांक्षीहरुको अनुहार हेर्दा र दलहरुको तयारी देख्दा प्रतिनिधि सभाकै अवस्था दोहोरिने सम्भावना देखिन्छ । दलहरुले कार्यकर्ता भर्ती गर्ने वा भागबण्डा पुर्याउने थलोका रुपमा यसलाई प्रयोग गर्न खोज्दा राष्ट्रिय सभा भविष्यमा महत्वहिन हुन सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =