सिंहदरबारमा आठ ‘शेर’ तर, सबै मुसा नमार्ने !

काठमाडौँ, माघ ८ । ज्योतिषीले भनेका रहेछन् ‘एकथोक’ प्रधानमन्त्री शेरबहादुर देउवाले बुझेछन् ‘अर्कैथोक’ । बहालवाला प्रधानमन्त्री देउवालाई ज्योतिषीले ‘सातवटा मन्त्री बन्छौ’ भनेका थिए ! तर, चार पटक प्रधानमन्त्री खाईसकेका देउवाले सात पटक प्रधानमन्त्री हुने बुझेछन् । त्यहि भएर मिडियामा कुर्लिहाले–‘सात चोटी प्रधानमन्त्री हुन्छु, अझै तीनपटक बाँकी छ ।’
उनी अब सात पटक प्रधानमन्त्री होलान् नहोलान्, भविश्यको कुरो हो तर, अहिलेका सरकारमा भने उनले प्रधानमन्त्री बाहेककै सातओटा मन्त्रालय भने हाँकिरहेका छन् ।
काम चलाउ सरकारका प्रधानमन्त्री भएका देउवाले गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन सहित अन्य मन्त्रालय चलाएका छन् । यसका साथै उनी नेपाली कांग्रेसको पार्टी सभापति, संसदीय दलको नेतासमेत भएर काम गरिरहेका छन् । इतिहासकै जम्बो मन्त्री मण्डल बनाएर चर्चा कमाएका देउवाले सत्तारुढ माओवादी केन्द्रका मन्त्रीहरुलाई ‘घोक्रेठ्याक’ लगाएरै उनीहरुको भागमा परेको मन्त्रालय आफ्नै टाउकामा लिएका हुन् । अहिले उनी गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन, पशुपंक्षी, वातावरण, विज्ञान सहितको प्रधानमन्त्री भएका छन् ।
सिंहदरबारका कर्मचारीको म्याराथुन दौड    
आठ ओटा मन्त्रालय हाकिरहेका देउवा भने, प्रधानमन्त्री कार्यालय वाहेक अन्य मन्त्रालयमा खुट्टा पनि हाल्दैनन् । सिँहदरबार परिसर भित्रै रहेका अन्य मन्त्रालयमा उनी विरलै जान्छन् ।
मन्त्री नै कार्यालयमा अनुपस्थित नभएपछि सर्वसाधारणलाई समस्या पर्नेनै भयो । त्यहिँ कार्यरत कर्मचारीलाई पनि सास्ती भएको छ । उनीहरु फायल सदर गराउन घरी आफ्नै कार्यालय त घरी प्रधानमन्त्री कार्यालय गरिरहेका हुन्छन् ।
अहिले ती मन्त्रालयका सचिवदेखि तल्ला तहका कर्मचारीहरु फायल बोक्दै प्रधानमन्त्री कार्यालय धाउन बाध्य छन् । सोमबार मकालुखबरले सामान्य प्रशासन मन्त्रालय जाँदा त्यहाँका केहि पियन र सुब्बा तहका कर्मचारी विहान विहानै कुद्नु पर्दा आक्रोसित देखिन्थे । ‘यस्तै ताल हो भने, एक महिनामा एक जोर जुत्ता नै हाल्नु पर्ने भो, घरि यता घरि उता हैरानै भईयो ।’ उनी भन्दै थिए ।
अहिले गृह,परराष्ट, सामान्यप्रशासन, पशुपक्षी, वातावरण, विज्ञान, शान्ति तथा पुर्ननिर्माण मन्त्रालयका कर्मचारीहरु धेरै जसो प्रधानमन्त्री कार्यालयमा लाईन लागेका हुन्छन् । कार्यालयका महत्वपूर्ण फायलहरु प्रधानमन्त्री कार्यालयमै लगेर सदर गराउनु पर्ने भएपछि ती मन्त्रालयका काम कारवाही समेत प्रभावित भएको सामान्य प्रशासन मन्त्रालयका एक कर्मचारीले बताए । ‘प्रधानमन्त्री कार्यालयमा उसैपनि भिडभाड हुन्छ, त्यसमाथी सात आठ ओटा मन्त्रालयका काम थुप्रिँदा आफ्नो पालो कहिले आउला भन्दै कुर्नुपर्ने अवस्था छ ।’ उनले भने ।
सोमबार अपरान्ह भेटिएका सामान्य प्रशासन मन्त्रालयका एक कर्मचारीले ठट्टा गर्दै भने–‘हाम्रा प्रधानमन्त्रीज्यूको नाम ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्’ मा दर्ता गराए पनि हुन्छ । यत्रा धेरै मन्त्रालय हाँक्ने उहाँ पहिलो ब्यक्ति हुनुहुन्छ ।’
हुन पनि हो, अहिलेसम्मको इतिहासमा देउवा बाहेकका अरु प्रधानमन्त्रीले आठ वटा मन्त्रालय चलाएको रेकर्ड छैन । तर, ‘भाग्यमानी’ सुदुर पश्चिमेली देउवाले माओवादी मन्त्रीहरुलाई ‘घोक्रेठ्याक’ लगाएरै त्यो रेकर्ड ब्रेक गरि छाडे । हाल चौथो पटक प्रधानमन्त्री बनेका ७२ वर्षिया देउवाको ग्रहदशा हेर्ने एक ज्योतिषिले उनलाई अझै तीन पटक प्रधानमन्त्री बन्ने योग छ भन्दै फुरुक्क पारेको थियो ।
अहिले प्रधानमन्त्री कार्यालय वाहेक अन्य मन्त्रालयमा ‘शेरबहादुर देउवा, सम्माननीय प्रधानमन्त्री एवं ……..(बाहिर) भनेर नेमप्लेट झुण्याईएको छ । आठ–आठ मन्त्रालयको जिम्मेवारी लिएका देउवाले तलब चाहिँ एउटै मन्त्रालयको खान्छन् की आठै मन्त्रालयको सोचनीय विषय भएको छ ।
पत्रकारलाई समेत कडाई
अहिले प्रधानमन्त्री देउवाले संहालेका अन्य मन्त्रालयमा सञ्चारकर्मी र निजामति कर्मचारीलाई समेत प्रवेशमा निगरानी बढाईएको छ । देउवाले सम्हालेका सात मन्त्रालयमध्ये तीन मन्त्रालयमा सञ्चारकर्मी तथा अन्य व्यक्तिहरु छिर्न सक्दैनन् । ती मन्त्रालयका गेटमै झण्डै आधा दर्जन सुरक्षाकर्मी तैनाथ छन्, तीनिहरुले को, कहाँ किन आएको ? हुनुहुन्न, समय लिनुभएको छ ? परिचयपत्र खै ? जस्ता आधा दर्जन प्रश्न सोधेर सर्वसाधारण र सञ्चारकर्मीलाई नै हायल कायल पार्छन् ।
अनी अन्तमा ‘मन्त्री ज्यू हुनुहुन्न’ भन्दै फर्काइ दिन्छन् । गृह, सामान्य प्रशासन, परराष्ट्र मन्त्रालयमा तपाई जानु भयो भने, सुरक्षाकर्मीले सोध्ने प्रश्नहरुका लागि तयार भएर जानु होला । देशकै प्रमुख प्रशासनिक क्षेत्रमा कडा सुरक्षा हुनु नौलो कुरा नहोला । त्यस अघि नै सिंहदरबारको दक्षिणी गेटको कडा सुरक्षा पार गरेर गएकालाई पुनः भित्र सुरक्षाका नाममा र्याखर्याख्ती गराउनु कत्तिको जायज हो ?
कमल थापाको दुई मन्त्रालय
प्रधानमन्त्री देउवाले सात मन्त्रालयका सात कुर्सी कब्जामा लिँदा लोकतान्त्रिक गठबन्धनको एउटा दल राप्रपा नेपालका अध्यक्ष कमल थापाले दुई मन्त्रालय कब्जामा लिएका छन् । सरकारमा उप–प्रधान तथा उर्जा मन्त्री रहेका थापाले आफ्नै पार्टीका दिलनाथ गिरीलाई सहरी विकास मन्त्रीबाट हटाएर उक्त मन्त्रालय पनि आफ्नै टाउकामा लिएपछि त्यो मन्त्रालयका कर्मचारीलाई पनि सास्ती बढेको छ । उनी घरी उर्जा त घरी सहरी विकास मन्त्रालयमा हुन्छन् । तथापि, उर्जाभन्दा बढी चलखेल सहरी विकासमा हुने भएकोले उनी प्रायः पूर्वी गेटतिरको मन्त्रालयमा ब्यस्त हुन्छन् ।
सिंहदरबारमा आठ ‘शेर’ सबै मुसा नमार्ने !
यसरी भएभरका मन्त्रालय आफैंले संहाल्नु परेपछि कहिलेकाँही देउवा झुक्किने गरेको मन्त्रलयका कर्मचारीहरु बताउँछन् । ‘कहिलेकाँही सचिव ज्यूलाई समेत चिन्नुहुन्न, तपाई कुन मन्त्रालयको भन्दै प्रश्न गर्नुहुन्छ ।’ पशुपंक्षी मन्त्रालयमा भेटिएका एक कर्मचारी भन्छन्–‘यहाँ आठ ‘शेर’ छन् तर, कुनै काम लाग्ने छैनन्, सबै नेम प्लेटमा सिमित छन् ।’ आठ मन्त्रालयमा आठ ‘शेरबहादुर देउवा’ को नेमप्लेट ढोका अगाडि टाँसिएको छ । ती सबैमा ‘ शेरबहादुर देउवा बाहिर’ भनेर लेखिएको छ ।
कर्मचारी तास खेल्ने, राज्यमन्त्री भ्रमण गर्ने
‘सुनसान सिंहदरबार’ त्यसमाथि ‘विन्टर सिजन’ । मन्त्रालयका कोठामा कर्मचारी त विरलै भेटिने भए अरुबेला दिनभर कोठामा निदाएर बस्ने ‘राज्यमन्त्री’ हरुको अनुहार पनि देख्न पाईन्न । केहि राज्यमन्त्रीहरु सरकारी खर्चमा विदेशको भ्रमणमा छन् । केहि भने अनुगमनको नाममा दलबल सहित पोखरा, चितवन, शुक्लाफाँट वन्यजन्तु आरक्षण लगायतका ठाउँमा सुरक्षाकर्मी सहित हात्ति सयर गरिरहेका छन् । माघ २४ गते अघि सरकार परिवर्तन नहुने छाँटकाँट देखेपनि राज्यमन्त्रीहरु यो ‘पिरियड’मा आन्तरिक पर्यटन पर्वद्धनमा छन् ।
केहि कर्मचारी काम नभएर हो वा जाडो धेरै भएर, हिटर ताप्दै मोबाइलमा फेसवुक यूट्युव चलाउँदै र तास खेल्दै दिन विताउँछन् । कतिपय कर्मचारीहरु विहान साँढे दश बजे मन्त्रालयमा आउँछन् हाजिर गर्छन् अनी दिनभर सुई कुच्चा ठोक्छन् र बेलुकी ५ बजे पुनः आएर हाजिर गरेर जागिर पचाउँछन् । अरुको कुरै छाडौं सरकारी कर्मचारीको ‘विवरण’ राख्ने राष्ट्रिय सर्तकता केन्द्रका कर्मचारी नै तीनै नबजी ‘सुइकुच्चा’ ठोक्छन् ।
देशकै प्रमुख प्रशासनिक क्षेत्रको यो अस्तब्यस्तताले पुरै राज्यलाई प्रभावित बनाएको छ । सिंहदरबार भित्र अहिले जनताको काम कम मन्त्री राज्यमन्त्री र पार्टीहरुको भागवण्डाको काम ज्यादा हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 3 =