घटाली गाउँ : जहाँ सबै घरमा बिरामी छन्

कालिकोटको घटाली गाउँमा दुई सातादेखि फैलिएको भाइरल ज्वरोले महामारीको रूप लिएको र गाउँका सबै घरमा बिरामी परेको आजको कान्तिपुरले खबर छापेको छ । आइतबार बिरामीबाट संकलित नमुना परीक्षणका लागि काठमाडौं पठाइएको समाचारमा उल्लेख छ ।

महामारी फैलिएको खाडाचक्र ४ ताडी घटाली गाउँसहितका टोलबाट ४ बालबालिका र २ वयस्क गरी ६ बिरामीको घाँटीको पानी संकलन गरी काठमाडौं पठाइएको हो ।

खाडाचक्र २ र ४ वडामा शनिबार परीक्षण गर्दा ८ सय १४ बिरामी फेला परेका थिए । तीमध्ये गम्भीर अवस्थामा रहेका ६ जनाबाट नमुना संकलन गरी काठमाडौं पठाइएको जिल्ला स्वास्थ्य प्रमुख डा. कौशल अलीले बताए । ‘महामारीले चर्को रूप लिएको बस्तीका ६ जनाको स्याम्पल पठाएका हौं,’ अलीले भने, ‘गाडीमार्फत सुर्खेत पठाएका छौं, त्यहाँबाट विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले काठमाडौं लैजाने छन् ।’ काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भएपछि मात्र रोगका बारेमा यकिन हुने उनले बताए । बिरामीमा देखिएको लक्षणका आधारमा जिल्ला स्वास्थ्यले भाइरल ज्वरो भएको अनुमान गरेको छ ।

रोग फैलिएपछि गाउँमा विद्यालय पनि सुचारु हुन सकेका छैनन् । स्थानीय जनजीवन मावि र नवज्योति आधारभूत विद्यालयमा दलित बस्तीका अधिकांश बालबालिका विद्यालय नआएको शिक्षक भीमप्रसाद पाण्डेले बताए । गाउँमा २ सय मास्क वितरण गरिएको जिल्ला जनस्वास्थ्यले जनाएको छ ।

रोगबाट ताडी घटाली गाउँमा सबैभन्दा बढी बिरामी छन् । त्यहाँका कुनै पनि घरमा बिरामी खाली नभएको वडा सदस्य जय विश्वकर्माले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + twelve =