पत्रपत्रिकाका मुख्य समाचार : मनाङे पक्रन अदालतको ताकेता, निजी मेडिकल कलेजद्वारा लाखौं असुली

काठमाडौँ, माघ ८ । आज प्रकाशित अधिकांश दैनिक पत्रिकाहरुले प्रदेश सांसदले आइतबार शपथ लिएको विषयलाई मुख्य समाचार बनाएका छन् । पत्रपत्रिकाहरुले १० वर्षदेखि कागजमा सीमित संघीयताको अभ्यास आइतबारबाट व्यवहारिक रुपमै शुरु भएको उल्लेख गर्दै शपथका क्रममा देखिएका रोचक–घोचक दृश्यहरुलाई प्रस्तुत गरेका छन् ।

नेपाल–भारत सीमा विवादको विषय चर्चामा रहेका बेला नागरिक र गोरखापत्र दैनिकले यसबारे समाचार लेखेका छन् ।

राजनीतिक विषयमा बढी केन्द्रित भएका आजका अखबारहरुले एमाले–माओवादी पार्टी एकताका लागि गठित संयोजन समितिको आइतबारको बैठकले गरेका निर्णयका विषयलाई पनि प्राथमिकता दिएर छापेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच हिजो भएको टेलिफोन संवादलाई पनि पत्रपत्रिकाहरुले ‘कभरेज’ गरेका छन् ।

मनाङे पक्रन अदालतको ताकेता

प्रदेश सांसदको शपथग्रहणलाई मुख्य प्राथमिकतामा राखेका अन्नपूर्ण पोस्ट दैनिकले मनाङबाट प्रदेशसभामा विजयी दीपक मनाङे (राजीव गुरुङ) लाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले ताकेता गरेको लेखेको छ ।

पाटन पुनरावेदनको फैसलाअनुरुप तीन वर्ष जेल भुक्तानका लागि जिल्ला अहदालतको फैसला कार्यान्वयन इकाइले आइतबार लगत कसेको हो ।

जिल्ला अदालतको तहसिल अभिलेखमा जेल सजायको लगत दर्ज गरेपछि मात्र अभियुक्तलाई पक्राउको लागि वैधानिक बाटो खुल्छ ।

स्रोतलाई उद्धृत गर्दै अन्नपूर्णले लेखेको छ– जेल सजायको लगत कसेलगत्तै आइतबारै प्रहरी प्रधान कार्यालय र अपराध अनुसन्धान व्युरो (सीआईबी) ले मनाङेलाई पक्रन फैसला कार्यान्वयनमा रहेको रेकर्डसहितको सूचना खिचेको छ ।

शुल्कमा मनोमानी, निजी मेडिकल कलेजद्वारा लाखौं असुली

मेडिकल कलेजहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिएर मनोमानी गरेका छन् । अन्नपूर्ण पोस्ट दैनिकले सरकारले मेडिकल कलेजको शुल्क निर्धारण गरे पनि कलेजहरुले मनोमानी गरेको लेखेका छन् ।

उपत्यकाभित्रका मेडिकल कलेजले ३८ लाख ५० हजार शुल्क लिन पाउने व्यवस्था छ। त्यस्तै, उपत्यका बाहिरका कलेजले ४२ लाख ५० हजारसम्म शुल्क लिन सक्ने प्रावधान छ। तर, मेडिकल कलेजहरुले ५० देखि ६० लाखसम्म लिने गरेको अन्नपूर्णको समाचारमा उल्लेख छ ।

प्रदेशसभाको पहिलो बैठकः कुन प्रदेशमा कहिले ?

प्रदेश सांसद शपथकै विषयलाई प्राथमिकता दिएको राजधानी दैनिकले प्रदेशहरुको बैठकबारे एक समाचार छापेको छ ।

समाचार अनुसार प्रदेश सांसदहरुको शपथलगत्तै प्रदेशसभाको पहिलो बैठकका लागि सातवटै प्रदेशमा तयारी सुरु भएको छ । निर्वाचन परिणाम घोषणा भएको २० दिनभित्र पहिलो बैठक डाकिसक्नुपर्ने संवैधानिक व्यवस्थाका कारण सबै प्रदेशमा बैठकका लागि तयारी सुरु भएको हो ।

प्रदेश १ र २ को पहिलो बैठक २१ माघका लागि तय भएको छ भने प्रदेश ३ को प्रदशेसभाको पहिलो बैठक बस्ने मिति अझैसम्म तय भइसकेको छैन । प्रदेश ४, ५ र ६ मा पनि कहिले पहिलो बैठक बस्ने भन्ने अन्योल छ ।

पाँच वर्षभित्र सबै सीमा स्तम्भ बनाइने

नापी विभागले नेपाल र भारतबीचको सीमा विवाद सधैंका लागि सुल्झ्याउन आगामी ५ वर्षभित्र दुई देशको सीमामा सम्पूर्ण सीमा स्तम्भ निर्माण गरिसक्ने भएको छ ।

नागरिक दैनिकका अनुसार नेपाल–भारतबीच रहेको १ हजार ८ सय ८० किलोमिटर सीमामा कुल ८ हजार ५ सय ५३ सीमा स्तम्भ रहनेछन् । यीमध्ये करिब ६ हजार ६ सय ३ सीमा स्तम्भ दुवै देशको सहमतिमा निर्माण गरिसकिएको छ ।

डेढ घन्टा सांसद् अलपत्र, सडक सिँगारेर स्वागत

‘प्रदेशसभाका सांसदको ऐतिहासिक शपथ’ शीर्षक दिएर ब्यानर समाचार लेखेको नयाँ पत्रिका दैनिकले यसका रोचक पाटा–पक्ष केलाएको छ ।

नयाँ पत्रिकाको समाचार अनुसार, प्रदेश १ का सांसद् आइतबार १ घन्टा अलपत्र परेका छन् । प्रदेश सांसदलाई बिहान १० बजे विराटनगरस्थित वीरेन्द्र सभाहलमा शपथ खुवाउने कार्यक्रम थियो । सांसद् र अन्य आगन्तुक समयमा नै पुगे । सभाहल बाहिर ठूलै भीड जम्मा भइसकेको थियो । तर, सांसद्हरुको शपथ ग्रहण कार्यक्रम राखिएको सभाहलको ढोका खुलेन । यसपछि डेढ घन्टा सांसद्हरु अलपत्र परेका थिए ।

नयाँ पत्रिकामै प्रदेश सांसदलाई सडक सिँगारेर स्वागत गरिएको समाचार पनि छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 2 =