बलुको सुराकी समातिए तर साढे तीन लाख ‘सुपारी’ दिने मनोज र सुटर फरार !

“
काठमाडौँ, माघ ७ । रुपन्देही देवदहका फर्निचर व्यावसायी वसन्त पौडेल(बलु)को हत्यामा संलग्न दुई जनालाई प्रहरीले आज आइतबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरुमा नवलपरासीका ३६ वर्षिय पदम चौधरी र सुनसरीका ३६ वर्षिय महिनानारायण चौधरी रहेका छन्। पदमलाई प्रहरीले पोखरा र महिनारायणलाई चितवनबाट पक्राउ गरिएको हो ।
गत पुस ५ गते मिलमा काम गरिरहेका पौडेलको हत्या गरिएको थियो । मोटरसाइकलमा आएको समूहले पौडेलमाथि गोली प्रहार गरेका थिए। प्रहरीले आइतबार हत्यामा संलग्न उनीहरुलाई सार्वजनिक गरेको हो ।
तर,घटनाका योजनाकार पुन र सुटर फरार रहेका छन् । पदम र महेन्द्रले हतियार र मोटरसाइकल व्यवस्थापनसहित मान्छेको सुराकी गर्ने कामको जिम्मा लिएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।
पक्राउ परेका उनीहरु दुवै अपराधिक गतिविधिमा पटक पटक सामेल भएको प्रहरीको अनुसन्धानमा देखिएको छ। दुवै जना पाल्पा कारागारमा सँगै कैद भुक्तान गरेका हुन्। पदम गत भदौमा अपहरण तथा शरीर बन्धक मुद्दामा सजाय भुक्तान गरी छुटेका थिए भने महिनानारायण गत जेठ १५ गते हातहतियार खरखजाना मुद्दामा सजाय कटाएर निस्केका थिए।
प्रहरीले पक्राउ गरेका दुबै जना गुन्डा नाइके मनोज पुन समुहका भएको अनुसन्धानमा देखिएको बताएको छ । प्रहरीका अनुसार दुवै जनालाई घटना गराए बाफत ३ लाख ५० हजार रुपैयाँ ‘सुपारी’ दिने सहमति भएको थियो। प्रहरीले उनीहरुको साथबाट सुपारी बापत लिएको ९९ हजार रुपैयाँ बरामद गरिसकेको छ । तर, घटनाका मुख्य योजनाकार मनोज पुन फरार रहेका छन् । उनलाई प्रहरीले खोजी गरिरहेको बताएको छ ।
“








