सेरेना महको प्रवद्र्धनका लागि प्रशोधन युनिट वितरण

दाङ, १९ असार । सेरेना महलाई व्यवसायीकरण गरी किसानको आयआर्जन बढाउन मह प्रशोधन युनिट वितरण गरिएको छ । दाङको साबिक हापुर गाविसमा रहेको राधाकृष्ण मौरीपालक कृषक समूहलाई प्रति समूह रु दुई लाखको लागतमा मह प्रशोधन युनिट हस्तान्तरण गरिएको हो । दाङ जिल्लाको साबिक पवननगर, हापुर र सैघाका १२० जना किसानलाई लक्षित गरी सञ्चालित सो कार्यक्रमको आयोजना असल शासन संरक्षण मञ्च गरेको हो । कृषि विकास मन्त्रालय, राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषको सहयोगमा सञ्चालित सो कार्यक्रम दुई वर्षसम्म चल्ने भएको छ ।

आयोजनाबाट हालसम्म आधारभूत सर्वेक्षण, किसान समूह प्रवद्र्धन तथा अभिमुखीकरण गोष्ठी, किसान समूह परिचालन तालिम, आरम्भ गोष्ठी, मौरीपालन किसान तालिम, मौरी व्यावसायीकरणका लागि पकेट क्षेत्र विस्तारमा सहयोग र उत्पादन विविधिकरणका लागि सम्भाव्यता अध्ययन कार्यक्रम सम्पन्न भएका छन् । यसैगरी, व्यावसायिक योजना निर्माण तालिम, रानी मौरीको प्रजनन कार्यमा सहयोग, मह प्रशोधन केन्द्र विकास, सामुदायिक वनमा मौरी चरण सुधार, एपिस सेरेना मौरीको स्रोत केन्द्र स्थापना र विकास, होर्डिङ बोर्ड निर्माण, मौरीका सामग्रीको वितरण लगायतका कार्यक्रम सम्पन्न भइसकेका छन् ।

किसानले उत्पादन गरेको मह प्रशोधन गरी प्राङ्गारिक प्रमाणीकरण मह बिक्री गर्ने लक्ष्य रहेको आयोजनका संयोजक माधव केसीले बताउनुभयो । परम्परागत मौरीपालन पद्धति अन्त्य गर्दै कृषिमा व्यावसायीकरण गरी दिगो आयआर्जन वृद्धि गर्नु आयोजनाको मुख्य उद्देश्य रहेको मञ्चका अध्यक्ष कमल सुवेदीले बताउनुभयो । मौरीका विभिन्न प्रजातिमध्ये एपिस सेरेना मौरी स्थानीय जातको पहाडी भूबनोटमा पाइने मौरीबाट उत्पादित महको तुलनामा सेरेना मौरीको मह गुणस्तरीय, अर्गानिक र औषधिजन्य रुपमा प्रयोग गरिने स्थानीय मौरीपालक किसानले बताएका छन् ।

यस कार्यक्रमले मौरीका बारेमा ज्ञान, सीप, पुँजी र प्रविधिसमेत हस्तान्तरण गरेकाले आफ्नो व्यवसायमा टेवा पुगेको मण्डली मौरीपालक कृषक समूह हापुरका किसान रामबहादुर भण्डारीले बताउनुभयो । किसानलाई लक्षित गरी रु दुई लाखको लागतमा मह प्रशोधन केन्द्र, रु तीन लाख ५० हजारको लागतमा मौरीका घार र रु चार लाख लागतमा मह तथा मौरी सम्बन्धित औजार वितरण गरिएको आयोजक संस्थाले जनाएको छ । संस्थाले १२० किसानलाई मह उत्पादन, प्रशोधन, मूल्य शृङ्खला विकास, बजारीकरण तथा यसको उपयोगिताको विषयमा अभिमुखीकरणसमेत सञ्चालन गरेको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *