सिंहदरबारका ठेकेदार १५ मन्त्रीहरुका कथा !

“
काठमाडौँ, माघ ७ । मङ्सिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनको परिणाम रोकेर निर्वाचन आयोगले ढिलाइ गरेकै कारण नयाँ सरकार गठन चैत्रमा पुग्ने अवस्था आएको छ । नयाँ सरकार बनेपनि देश भने आर्थिक रूपमा खोक्रा बनेपछि मात्रै सत्ता हस्तान्तरण गर्न प्रधानमन्त्री देउवा सहमत बन्ने अवस्था आएको छ । २०६४ सालको संविधानसभाको निर्वाचन पश्चात् पनि तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले अनेक बहानामा बहुमत निकट रही २३८ सिट प्राप्त गरेको नेकपा माओवादीलाई सत्ता हस्तान्तरण गर्न अनेक बहाना गरेका थिए । त्यसो त पराजित मन्त्रीहरूको नैतिकता देखेर सचिवहरूले समेत टेरेका छैनन् । नियमित मन्त्रिपरिषद्को बैठकको सुरुमै सहभागी मन्त्रीहरूले आफ्नो विभागीय मन्त्रालयका सचिवहरूले असहयोग गरेको विषय उठाएका थिए ।
राष्ट्रिय दल पनि बन्न नसकी एक सिट पनि नजितेको कमल थापाको राप्रपाले सहरी विकास मन्त्रालयले मात्रै १५ अर्ब रुपैयाँको पाइप लाइनमा रहेका ठेक्कापट्टाका कारण ४८ वर्ष अघिका राजनीतिक साथीलाई दुश्मनी साँधेका छन् । निवर्तमान मन्त्री दिलनाथ गिरीले कमल थापालाई खेती खाने बेलामा श्रीमती जम्मा गर्ने मुसाका रूपमा उनले व्याख्या गरेका छन् । थापाले केही समय अघि आफ्नो पार्टीका कोषाध्यक्ष उद्धव पौडेलकी छोरीलाई चलचित्र विकास बोर्डमा नियुक्ति गरेका थिए । त्यसै गरी उनले सहरी विकास राज्यमन्त्री कुन्ति शाहीलाई चुनाव खर्च उठाउन निर्देशन दिएका थिए । भारतीय कम्पनीहरूबाट कमिसनको अफर भएपछि बुढीगण्डकी जलविद्युत आयोजनालाई चिनियाँ कम्पनीलाई दिएको ठेक्का मन्त्रिपरिषदमा लगेर रद्ध गरिएको समाचार डायरी एक्सप्रेसले छापेको छ ।
१.डा.गोपाल दहित, मन्त्री, भूमिसुधार तथा व्यवस्था
बर्दिया क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका सन्त कुमार थारुसँग प्रतिनिधिसभाका सदस्य पदमा पराजित गोपाल दहित राजा ज्ञानेन्द्रको शासन कालमा सहायक मन्त्री बनेका थिए । दहितको भोट मात्रै ३६ हजार ७३५ थियो भने सन्त कुमार थारुले ५० हजार ५५५ मत पाएका थिए । थरुहट पार्टीबाट समानुपातिक सिटमा सभासद् बनेका उनी विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा एकता गरेपछि उनैको सिफारिसमा मन्त्री बनेका थिए । निर्वाचन भन्दा केही समय अघि पार्टीबाट फिर्ता बोलाउने विषयमा समेत छलफल भएको थियो । अहिले उनले सरुवा, बढुवा र थमौतिमा नै दिन बिताउने गरेका छन् । तथापि,प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका कारण कर्मचारीहरू भने कसैले नटर्ने अवस्था सिर्जना भएको छ ।
२. यशोदा लामा, राज्यमन्त्री भूमिसुधार तथा व्यवस्था
दलित जनजाति पार्टीको समानुपातिक सिटबाट संविधानसभा सदस्यमा निर्वाचित यशोदा लामा पछि अध्यक्ष विश्वेन्द्र पाशवानसँग अलग भएकी थिइन् ।उनको नेतृत्वको दलित जनजाति पार्टी विजय कुमार गच्छदारको फोरम लोकतान्त्रिक पार्टीसँग एकता भएको थियो । अहिले उनी गच्छदारसँगै काँग्रेस पार्टीमा प्रवेश गरेकी छन् । लामाको पनि जागिरमा कार्यकर्ताहरू भर्ना गर्ने बाहेक खासै काम नरहेको मन्त्रालयका कर्मचारीहरू बताउँछन् ।
३. कमला देवी शर्मा, वन तथा भूसंरक्षणराज्यमन्त्री
म्यानपावर व्यवसायी कमला शर्मा राप्रपा नेपालबाट समानुपातिक सिटमा संविधानसभा सदस्य बनेकी हुन् । कास्कीमा जन्मेकी शर्माले मन्त्री विक्रम पाण्डेले उचित जिम्मेवारी नदिएको भन्दै कटाक्ष गरेकी थिइन् । उनी प्रतिनिधिसभा र प्रदेशसभा दुवै निर्वाचनमा उम्मे्दवार बनिनन् ।
४. विक्रम पाण्डे, मन्त्री वन तथा भूसंरक्षण
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भारी मतको अन्तरमा पराजित विक्रम पाण्डे वन तथा भूसंरक्षणमन्त्री हुन् । पाण्डेले ३८९३५ मत प्राप्त गरेका थिए । भने प्रचण्डले ४८२७६ मत पाएका थिए । `ए’ ग्रेडका ठेकेदारका रूपमा व्यवसाय सञ्चालन गर्दै आएका पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिएको समाचार माध्यामहरुले जनाएका छन् । पाण्डे पनि राष्ट्रिय पार्टी नै नरहेको राप्रपाबाट मन्त्री बन्ने अहोभाग्य प्राप्त व्यक्ति हुन् । आइए सम्मको अध्ययन गरेका पाण्डेले ठेक्का लिएका कामहरू समयमा हुन सकिरहेका छैनन् । अहिले पर्चा वर्षसम्म निर्वाचनमा हारका कारण सत्ताबाट बाहिरिनु पर्नका पाण्डेले कमाऊँ धन्दामा आँखा गाडेका हुन् ।
५ शेषनाथ अधिकारी, शिक्षा राज्यमन्त्री
चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका शेषनाथ अधिकारी वामगठबन्धनका उम्मेदवार कृष्णभक्त पोखरेलसँग अत्यधिक मतान्तरले पराजित भएका हुन् । उनले २७ हजार ३०४ मत प्राप्त गरेका थिए । तर, विजयी उम्मेदवार पोखरेलले चाहिँ ४४हजार ६७० मत पाएका हुन् । कार्यालय समय भन्दा पछि सम्म बसेररकम जम्मा गर्ने स्रोतको खोजीमा लागेका अधिकारीलाई आफ्नै मन्त्री गोपालमान श्रेष्ठले मालदार ठाउहरु दिएका छैनन् ।
६. गोपालमान श्रेष्ठ, उपप्रधानमन्त्री तथा शिक्षामन्त्री
स्याङ्जा क्षेत्र नम्बर २ मा वामगठबन्धनकी पद्मा अर्यालसँग ३७०० भन्दा बढीको मतान्तरले पराजित गोपालमान श्रेष्ठ मन्त्री हुँदा चर्चामा आइरहने नाम हो । उनले २०५८ सालमा वनमन्त्री हुँदा खोटो सङ्कलनमा आफ्नै सांसदसँग दुई लाख घुस लिएको र वन मन्त्री हुँदा नै महानिर्देशक लगायतका उच्च पदस्त कर्मचारीहरू बोलाएर रकम माग गर्दा कर्मचारीबाट बदनाम भएपछि हट्नु परेको थियो । देउवा नेतृत्वको सरकारमा शिक्षामन्त्री बनेपछि श्रेष्ठले शिक्षा ऐन अस्थायी शिक्षकको पक्षमा अध्यादेश मार्फत संशोधन गरिदिएको भन्दै चुनाव खर्च असुल गरेका थिए । निर्वाचनमा उनको चरित्र पनि गासिएका कारण सर्मनाक हार खाएको कुरा स्वयम् कांग्रेसहरु नै बताउँछन् । उनले आफ्नो सानीआमाका छोरा मेखलाल श्रेष्ठलाई प्रदेशसभाको समानुपातिक सांसद बनाएका छन् । जो उनकै स्वकीय सचिव बनेर अथाह सम्पत्ति जम्मा गरेका व्यक्ति पनि हुन् ।
७. कमल थापा उपप्रधानमन्त्री, ऊर्जा र सहरी विकास मन्त्री
राजनीतिमा दल बदल गर्न /धोका दिन र आफ्नो पल्लाभारी पार्नमा विद्यावारिधि नै गरेका कमल थापाले १५ अर्ब रुपैयाँको ठेक्का पाइपलाइनमा रहेका कारण आफ्नै सहयात्री दिलनाथ गिरीलाई बदनाम गराएर मन्त्री पदबाट हटाएका छन् । मकवानपुर क्षेत्र नम्बर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा तर्फ वामगठबन्धनका उम्मेदवार कृष्णप्रसाद दाहालसँग ठुलो मतान्तरले सर्मनाकरुपमा पराजित थापालाई नैतिकता कुन चराको नाम हो थाह छैन । निर्वाचनमा ठेकेदारहरुसँग चन्दा रकम उठाउन नसकेको भन्दै उनले गिरीलाई हटाएर आफैमन्त्री बनेका हुन् । निवर्तमानमन्त्री गिरीले पनि थापालाई पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले जस्तै मुसाकै उपमा दिएका छन् । मुसाले अन्न भित्राउने समयमा धेरै मुसाहरू विवाह गरेर ल्याउने र अन्न जम्मा गरिसकेपछि सबैलाई लखेट्ने गरेको तथ्यसँग मेलखाने भन्दै राजनीतिमा बदनाम पात्रको रूपमा चित्रण गरेका छन् । अहिले पार्टीको केन्द्रीय समितिको समीक्षा बैठकमा समेत गिरीलाई प्रवेश गर्न अनुमति दिएका छैनन् ।
८.अमरसिंह पुन, राज्यमन्त्री सिंचाई
रोल्पा जिल्लाबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका अमर सिंह पुन वामगठबन्धनका उम्मेदवार तथा माओवादी नेता वर्षमान पुनसँग ठुलो मतान्तरले पराजित भएका थिए । विजयी उम्मेदवार वर्षमान पुनको ४२ हजार ८४ मत थियो भने राज्यमन्त्री पुनको भनेमात्रै २० हजार ३३७ मत थियो । तथापि इन्जिनियर सरुवा, ठुला आयोजनामा सरुवा गर्नका साथै कमिसन आउने ठाउँकै खोजीमा मन्त्री पुनको दिनचर्या बितेको छ ।
९. शम्भुलाल श्रेष्ठ, पशुपंक्षी राज्यमन्त्री
दल बदलेर फाइदा लिन काममा कमल थापालाई पनि पछि पारेका पशुपंक्षी राज्यमन्त्री शम्भुलाल श्रेष्ठ २०७० सालको संविधानसभाको निर्वाचनमा नेपाली कांगे्रसबाट टिकट नपाएपछि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनी प्रतिनिधिसभा सदस्य पदमा माओवादी केन्द्रबाट टिकट पाएर विजयी बनेपछि पछिल्लो पटक माओवादी केन्द्रकै सिफारिसमा ऊर्जा राज्यमन्त्री बनेको अवस्थामै काँग्रेस पार्टीमा प्रवेश गरेका थिए । काँग्रेस पार्टीमा प्रवेश भएपछि पुरुस्कार स्वरूप प्रधानमन्त्री देउवाले उनलाई पशुपंक्षी राज्यमन्त्रीमा सरुवा गरिदिए ।
पशुपंक्षी राज्यमन्त्री बनेपछि उनले निर्वाचन खर्च उठाउन भन्दै म्याद थप गरिदिने सर्तमा दुग्ध विकास संस्थानका महाप्रबन्धक गङ्गा प्रसाद तिमिल्सिनासँग मात्रै ७ करोड घुस लिएको स्रोतको दाबी छ । उनी कर्मचारीले नटेरे पनि कार्यालय समय भन्दा पछि सम्म बिल मिलाउने र पैसा दिने हाकिमको खोजीमा रहने गर्दछन् । प्रतिनिधिसभा सर्लाही क्षेत्र नम्बर एकमा तेस्रो स्थान प्राप्त गरेका थिए । उनले झन्डै तीन करोड रुपैयाँ निर्वाचनका क्रममा खर्च गरेको तथ्य प्रमाण हुँदा हुँदै पनि निर्वाचन आयोगले कारबाही नगरेको उनका क्षेत्रका पूर्व सांसदहरू बताउँछन् ।
सर्लाही क्षेत्र नम्बर एकबाट राजपाका प्रमोद साहले २२ हजार ३६ मत ल्याएका थिए । दोस्रो स्थानमा वामगठबन्धनका उम्मेदवार ध्रुव प्रसाद गौतमले २१ हजार ४ सय पैसठ्ठी मत प्राप्त गरेका थिए । राज्यमन्त्री श्रेष्ठले काठमाडौँ र सर्लाहीका टोल गुण्डाहरु जम्मा गरेर पैसा वितरण गरी उक्त मत प्राप्त गरेका थिए ।
१०. राम कृष्ण यादव, मन्त्री, कृषि विकास मन्त्रालय
प्रतिनिधिसभा धनुषा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसको उम्मेदवार बनेका राम कृष्ण यादव कृषि विकास मन्त्री हुन् । सार्वजनिक लेखासमितिका सभापति समेत रहिसकेका यादव निर्वाचनमा झन्डै आधा भन्दा बढी मतले पराजित भएपछि भने तनावमा छन् । उनी सङ्घीय समाजवादी फोरमका उमाशंकर अगरियाले ३२ हजार ४४ मत ल्याउँदा मन्त्री यादवले भने मात्रै १५ हजार ४४२ मत पाएका थिए । दोस्रो स्थानका वामगठबन्धनका उम्मेदवार रामचन्द्र झाले १८ हजार ७१५मत ल्याएका थिए । उनी पनि निर्वाचनमा खर्च गरिएको रकम सरुवा, बढुवामा र नियुक्तिमै उठाउने विषयमा ध्यान केन्द्रित गरेका छन् ।
उनलाई पनि अन्य मन्त्रालयमा जस्तै कर्मचारीहरूले भने हारेपछि टेर्न छाडेको स्पष्टै देख्न सकिन्छ । मन्त्री यादवले राम्रो बजेट बिनियोजन गरिएका कृषि मन्त्रालय सम्बद्ध आयोजनाहरूमा चुनाव खर्च भन्दै कमिसन माग गरेको एक जना कर्मचारीले खुलासा गरे । जसअनुसार उच्च मूल्य वस्तु विकास आयोजनाका प्रमुख राजेन्द्र भारी साथै कृषि विभागका महानिर्देशकसँग समन्वय गरी रकम सङ्कलन गर्न हारगुहार नै गरेका छन् । त्यसो त उनलाई धनुषावासी कर्मचारीहरूलाई सरुवा बढुवामा प्राथमिकता दिएको भन्नेआरोप पनि एक जना कर्मचारीले लगाए ।
११. महेन्द्र प्रसाद यादव, खानेपानी तथा सरसफाई मन्त्री
तरुण दलका केन्द्रीय अध्यक्ष मन्त्री यादवले लोकसेवा आयोगबाट लिइने परीक्षामा समेत पास गरिदिन्छु भन्दै कार्यकर्ता समेतसँग रकम लिने गर्दछन् । उनलाई परीक्षामा नाम निकाल्ने सर्तमा पाँच लाख बुझाएका धनुषाका युवाका अनुसार अहिले मन्त्री यादवले करोडौं रुपैयाँका घरजग्गा जोडेका छन् । प्रतिनिधिसभामा धनुषा क्षेत्र नम्बर ४ मा १९ हजार ६६२ मत ल्याएर तेस्रो स्थान प्राप्त गरेका थिए । त्यस क्षेत्रमा धनुषाका लोकप्रिय नेता वामगठबन्धनका उम्मेदवार रघुबिर महासेठले २२ हजार ५३२ मत ल्याएर विजयी बनेका थिए । भने दोस्रो स्थानमा राजपाका उम्मेदवार थिए । यादवले अहिले आफू अनुकूल काम नगरेका कारण सचिवमा गजेन्द्र ठाकुरलाई सरुवा गरेका छन् । त्यस अघि कृष्णराज बिसी नामका सचिव थिए जो अत्यन्तै लोभी र भ्रष्टाचारी भएको भन्दै आफ्नै सहसचिव राजनराज पाण्डेले सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए ।
१२. बीरबहादुर बलाएर, भौतिक योजना तथा यातायात मन्त्री
डोटीका बीरबहादुर बलाएर पनि अर्का कृपासुर भएको टिप्पणी काँग्रेस कार्यकर्ताहरूले गर्दछन् । उनले जेठी श्रीमती शर्मिला हुँदा हुँदै कान्छी श्रीमतीका रूपमा तरुण दलकी केन्द्रीय सदस्य सबिता सिलवाललाई अपार्टमेन्ट लिएर राखेका छन् । एक छोराकी आमा समेत बनेकी सिलवालका छोराको नागरिकतासमेत बनाउन नसकिएको भन्दै सिलवालले सामाजिक सञ्जालमा बलायरसँग आक्रोस पोखेकी थिइन । मन्त्री बने पनि सरुवा बढुवाको नजराना भने आरजु देउवाले नै मोलतोल गर्ने गरेको कुरा उनी निकट एक स्वकीय सचिवालयका कर्मचारीले बताए । बलाएर वाम गठबन्धनका प्रेम बहादुर आलेसँग पराजित भएका हुन् । बाम गठबन्धनका आलेले ३२ हजार ५१० मत प्राप्त गरेका थिए भने बलायरले ३० हजार ८७८ मत प्राप्त गरेका हुन् ।
१३. सीता गुरुङ, राज्यमन्त्री, भौतिक योजना तथा यातायात
सदाबहार रूपमा समानुपातिक सभासद् बन्ने अवसर प्राप्त गरेकी सीता गुरुङ पनि प्रत्यक्ष तर्फ उम्मेदवार बन्दा सर्मनाक रूपमा हारेकी हुन् । उनी वामगठबन्धनका उम्मेदवार भवानी प्रसाद खापुङसँग दुई हजार भन्दा बढी मतले पराजित बनेकी हुन् । तेह्रथुमबाट प्रतिनिधिसभाका उम्मेदवार बन्दा गुरुङको १९ हजार ३१४ मत आएको थियो भने वामगठबन्धनका खापुङको २१ हजार तीन सय पैँतिस मत आएको थियो ।
१४. मोहन बहादुर बस्नेत, सूचना तथा सञ्चारमन्त्री
सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेत पनि वाम गठबन्धनका उम्मेद्वार अग्नि प्रसाद सापकोटासँग १० हजार भन्दा बढी मतले हारेका हुन् ।
मन्त्री बस्नेतले पनि नेपाल दूर सञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झासँग करोडौँ रुपैयाँ लिएर म्याद थप गरेको चर्चा आएको छ । साथै नेपाल टेलिकमकी प्रबन्धक निर्देशकलाई पटक पटक धम्काएर रकम माग गरेकी भन्ने स्रोतको दाबी छ । खुम बहादुर खड्काका स्वकीय सचिवलाई नै रकम उठाउने जिम्मा सञ्चारमन्त्री बस्नेतले दिएका हुन् ।
१५.दिपक बोहोरा, स्वास्थ्य मन्त्री
रुपन्देही क्षेत्र नम्बर–३ बाट वाम गठबन्धनका उम्मेद्वार तथा नेकपा एमालेका उपमहासचिव घनश्याम भुषालसँग पाँच हजार भन्दा बढी मतान्तले हारेका मन्त्री बोहोराले मन्त्रालयमा सरुवा र कमिसन आतंक नै मच्चाएका छन् । उनको मत २७ हजार चार सय २२ थियो भने निर्वाचित भुषालको ३२ हजार आठ सय ६६ मत प्राप्त भएको थियो । बोहोरालाई राजा वीरेन्द्रलेसमेत पञ्चायतकालमा पनि छवि राम्रो नभएको भन्दै मन्त्री बन्न दिएका थिएनन् । अहिले गणतन्त्रमा सदाबहारमन्त्री बन्ने मौका प्राप्त गरेका छन् ।
“








