स्वास्थ्य सेवा विभागमा डा. पौडेल आउँदा पन्तको रडाँको

“
माघ ७, काठमाडौँ । मेडिकल माफिया विशाल पण्डितको छत्रछाँयामा स्वास्थ्य सेवा विभागमा रजगज गरेका डा. राजेन्द्र पन्तलाई हटाइएको छ । स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी क्षेत्रीय अस्पताल पोखराका डा. तारा पौडेललाई दिएको छ ।
काठमाडौँ उपत्यका बाहिर लामो समय काम गरेका डा. पौडेललाई महानिर्देशकको जिम्मेवारी दिएपछि उपत्यकामा रजाई गरिरहेका ११ तहका केही डाक्टरहरू रोइकराई गर्न थालेका छन् । स्वास्थ्य मन्त्रालयको सचिव र महानिर्देशकमा सिनियरलाई नबनाई जुनियरहरूले मौका पाएका अनगिन्ती उदाहरण छन् । तर अहिले पौडेलकै नियुक्तिलाई लिएर बढी होहल्ला मच्चाइएको छ ।
पुष्पकमल दाहाल सरकारका स्वास्थ्यमन्त्रीले ८ वर्ष वरिष्ठ डा. पुष्पा चौधरीलाई महानिर्देशकबाट हटाएर डा. राजेन्द्र पन्तलाई ल्याएका थिए । ८ वर्ष वरिष्ठ डा. चौधरीलाई महानिर्देशकबाट हटाउँदा चुईक्क नबोल्ने स्वास्थ्य मन्त्रालय र महाशाखामा घुमिरहने केही डाक्टरहरू अहिले सिनियर र जुनियरको कुरा उठाएर डा. पौडेललाई गैरकानुनी रूपमा नियुक्ति गरेको हल्ला गर्न थालेका छन् । डा. पौडेल भन्दा कनिष्ट डा. विकास लामिछानेले समेत बरिष्ठताको कुरा गरिरहेका छन् ।
महानिर्देशक नियुक्त भएका डा. पौडेल लामिछानेभन्दा सिनियर हुन् । विशिष्ट श्रेणीको तालिम समेत लिइसकेका डा. पौडेल भन्दा सिनियर हुन् इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका भीम आचार्य । आचार्यको जागिर अवधि अब दुई महिनामात्र बाँकी छ । २०७४ चैतमा उनी अवकाश हुँदै छन् । डा. पौडेल पनि ११ तहका हुन भने पन्त, लामिछाने र आचार्य पनि ११ तहकै हुन् । १२ तहका डाक्टरहरू सुशील प्याकुुरेल र विनोदमान श्रेष्ठले विरोध गरेका छैनन् । तर ११ तहका पन्त, लामिछाने र आचार्यले राजीनामा दिने धम्की समेत दिएर विभागलाई तहसनहस गर्ने प्रपञ्च रच्दैछन् ।
विगतमा डा. पुष्पा चौधरीभन्दा डेढ वर्ष कनिष्ट डा. किरण रेग्मी सचिव बढुवा भइन र १२ औँ तहमा पनि बढुवा भइन । चौधरीभन्दा ८ वर्ष जुनियर पन्त महानिर्देशक हुँदा स्वास्थ्य मन्त्रालयमा कुनै हलचल भएन । तर कनिष्टहरु महानिर्देशक र सचिव बुढुवा हुँदा पनि डा. चौधरीले विरोध गरिनन् । तर अहिले स्वास्थ्य मन्त्रालय र महाशाखामा डुलेर फर्जी बिल भौचर पेस गरी करोडौं भ्रष्टाचार गर्दै आएका डाक्टरहरू अहिले काठमाडौँ बाहिरबाट डा. तारा पौडेल पहिलो पटक महानिर्देशक भएर आएपछि आफ्नो साम्राज्य गुमेजस्तै सिनियर र जुनियर भन्दै विवाद निम्त्याउन तल्लीन छन् ।
डा. पौडेल र पन्त दुवै ११ तहका हुन् । महानिर्देशक पद १२ औँ तहको दरबन्दी हो । तर १२ औँ तहका चिकित्सकद्वय सुशील प्याकुरेल र विनोदमान श्रेष्ठ चुपचाप छन् । उनीहरूले केही भनेका छैनन् ।
डा. पन्तले प्रधानमन्त्री पत्नी आरजु देउवालाई प्रभावमा पारी टिक्न खोजेका थिए । तर आरजुको पनि जोर नचलेर सरुवा भएपछि उनी मिडियामा डा. पौडेलको नियुक्ति गैरकानुनी भन्न थालेका छन् । ११ औँ तहकाहरु सिनियर र जुनियरको अलापविलाप गरिरहेका छन् । सरकारले पन्तलाई पनि ११ औँ तहकै भए पनि निमित्त बनाएको थियो भने डा. पौडेललाई पनि निमित्त महानिर्देशक बनाएको हो । स्वास्थ्य मन्त्रालयका अधिकारीको प्रश्न छ–‘पन्तलाई बनाउँदा कसरी कानुनी भयो र पौडेललाई कसरी गैरकानुनी भयो ?’
स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार स्वास्थ्य सेवा विभागको महानिर्देशक कुनै पनि समूहको व्यक्तिलाई सरकारले जिम्मेवारी दिन सक्छ, विशेषज्ञ पद कुनै समूह विशेषको पेवा हुनसक्दैन । जुनसुकै समूहको विशेषज्ञ महानिर्देशक हुनसक्छ । डा. पौडेल विशिष्ट श्रेणीको तालिम लिइसकेका स्वास्थ्यका ११ तहका चिकित्सक हुन् ।
डा. पन्त विभागमा महानिर्देशक हुँदा उनले केही व्यापारीलाई मात्र पक्षपोषण गरेको आरोप लागेको थियो । स्वास्थ्य सेवा विभागमा विगत डेढ वर्षदेखि महानिर्देशक रहेका पन्त राष्ट्रिय क्षयरोग केन्द्रमा हुँदादेखि नै आर्थिक अनियमितताले बदनाम मानिन्छन् । हस्पिटेक इन्टरप्राइजेजका विशाल पण्डितले गगन थापालाई आर्थिक सहयोग दिएर पन्तलाई महानिर्देशक बनाएका थिए । अहिले उनलाई थमौती गर्न प्रधानमन्त्री पत्नी डा. आरजु देउवालाई तिनै पण्डितले दबाब दिइरहेको बताइन्छ । पण्डित स्वास्थ्य क्षेत्रका सर्जिकलदेखि उपकरणसम्म सप्लाई गर्ने ठुला व्यापारी हुन् । यिनले सरकारी अस्पताल र प्रतिष्ठानमा पदाधिकारीसँगको सेटिङमा ब्रम्हलूट मच्चाएका छन् ।
“








