शुक्लाफाँटा नगरपालिकाले बनायो आठ वटा नयाँ कानून

“
कञ्चनपुर माघ ६ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले स्थानीय सरकार सञ्चालनका लागि आठ वटा ऐन, नियममावली र कार्यविधि निर्माण गरेको छ । संघीय कानूनसँग नबाँझिने गरी कानून निर्माण गरेको नगर प्रमुख दिलबहादुर ऐरले जानकारी दिए । ऐन, नियमावली र कार्यविधि निर्माण गरिएपछि कार्य गर्न सहजता भएको प्रमुख ऐरले बताए ।
प्रथम नगर सभाबाट ऐन, नियमावली र कार्यविधि पारित गरी कार्यान्वयनमा ल्याइएको हो । नेपालको संविधान, २०७२ को अनुसूची ८ मा उल्लेख गरिएका २२ वटा अधिकारबमोजिम स्थानीय तहका लागि आवश्यक कानून निर्माण गरी कार्यान्वयनमा ल्याएको नगरपालिकाले जनाएको छ ।
कार्यपालिका बैठक सञ्चालन कार्यविधि २०७४, कार्यपालिका नियमावली २०७४, नगरपालिका नगर कार्यविभाजन नियमावली २०७४, नगरसभा सञ्चालन कार्यविधि २०७४, नगरपालिका पदाधिकारी आचारसंहिता २०७४ निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ । यसैगरी, नगरपालिकाले कार्यपालिका निर्णय आदेश र अधिकारको प्रमाणीकरण कार्य विधि नियमावली २०७४, स्थानीय तहको विनियोजन ऐन, स्थानीय तहको आर्थिक ऐन निर्माण गरेको छ ।
निर्माण भएका कानूनले नगरसभा सञ्चालन, कार्यपालिकाको बैठक सञ्चालन, करको दायरा निर्धारण, बजेट, आम्दानी र वडासम्म अधिकार प्रत्यायोजन गर्न सहज भएको छ ।
“








