प्रदेश प्रमुखको अफिस क्षेत्रीय प्रशासन कार्यालयमा, निवास अध्यागमनमा

पोखरा, माघ ५ । सरकारले प्रदेश प्रमुख र अस्थायी मुकाम तोकेपछि प्रदेश प्रमुखको कार्यालय तथा निवास पनि तोकीएको छ । सरकारले प्रदेश नम्वर ४ को प्रमुखमा बावुराम कुवँरलाई नियुक्ती गरेसंगै सहिदचोक स्थित क्षेत्रीय प्रशासन कार्यलयको भवनलाई कार्यालय बनाउने तयारी गरेको हो । यस्तै मुख्यमन्त्री, मन्त्रीको कार्यालय र अन्य कार्यालय तथा निवासको समेत निश्चित गरेको छ ।

प्रदेश प्रमुखको नियुक्ती संगै सरकारले ४ नं प्रदेश अन्तरगत अध्यागमन कार्यालय पोखरा र क्षेत्रीय प्रशासन कार्यालयको भवनलाई प्रदेश प्रमुखको कार्यालय र निवास बनाउने तयारी गरेको हो ।

दुवै भवन एकै ठाउँमा रहेकाले प्रदेश प्रमुखका लागि आवास र कार्यालयसँगै व्यवस्थापन गर्न लागिएको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए ।

यसैगरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका लागि सीप विकास कार्यालय पोखराको भवन प्रयोग गर्ने तयारी छ । तर मुख्यमन्त्रीको निवासका लागि हिमागृह सिफारिस गरिएको भएपनि यसवारे विरोध भएपछि सरकार पछि हटेको छ ।

सीप विकास कार्यालयको निर्माणाधिन उक्त भवन १५ देखि २० दिनसम्म निर्माण सम्पन्न भइसक्ने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । भवन निर्माण छिटो सक्नको लागि तिव्ररुपमा काम गअगाडी बढाइएको छ ।

यस्तै, नगरविकास प्रशिक्षण केन्द्रको भवनलाई प्रदेश सभाहल बनाउने तयारी भएको छ । उक्त भवनमा संसद भवनसँगै प्रदेशसभाका सचिवालय र सभामुख र उपसभामुखको कार्यकक्ष रहनेछ ।

मुख्य मन्त्री, मन्त्रीहरु, सभामुख र उपसभामुखको आवास व्यवस्थापन बारे तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए ।

को हुन् ४ नम्बर प्रदेश प्रमुख बाबुराम कुवँर
अर्घाखाँचीको सन्धीखर्क नगरपालिका वडा नम्बर १ मा २०१७ साल साउन १० गते जन्मिएका कुवँर लामो समय कानुनी पेशामा सक्रिय रहेका थिए । २०३३ सालमा अर्घाखाँचीकै जनज्योती व्यवसायीक मावि सन्धीखर्कबाट एसएलसी पास गरेका उनी २०३४ सालमा पिएन क्याम्पसमा कानुन बिषय पढ्नका लागि भर्ना भएका थिए ।

उनी पिएन क्याम्पसको कानुन बिषयमा पहिलो ब्याचका विद्यार्थी समेत हुन् । २०३४ सालमा काठमाडौं हानिएपछि कुवँरले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर कानुनमा एलएलएम पास गरे । नेपालमा पहिलो पटक एलएलएम सुरु हुँदा उनी पहिलो विद्यार्थी थिए ।

काठमाडौंको छाउनीमा बस्दै आएका उनी सिनियर एडभोकेटको रुपमा अहिले पनि कार्यरत छन् ।

कुँवर नेपाली काँग्रेस निकट कानुन व्यवसायीको संगठन डेमोक्रेटिक लयर्स एसोसियसनका पूर्व अध्यक्ष हुन् । उनले संवैधानिक विवाद्सम्बन्धी मुद्दामा लामो समयदेखि बहस गर्दै आएका छन् । फौजदारी कानुनका विषयमा जानकार कुँवरले अन्य मुद्दामा पनि दख्खल राख्छन् । कुवँर २०७० फागुनदेखि २०७२ असोजसम्म नेपाल सरकारको महान्यायधिबक्ताको रुपमा रहेर काम गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =