बढ्दो दुर्घटना : ६ महिनामा ५५ जनाको मृत्यु

भरतपुर ३ माघ । चितवनमा सवारी दुर्घटनामा ६ महिनाको अवधिमा ५५ जनाको मृत्यु भएको छ । अधिकांश दुर्घटना राति १ बजेदेखि बिहान ५ बजेको समयमा भएको छ ।

जिल्ला ट्राफिक कार्यालय भरतपुरले साउनदेखि पुस मसान्तसम्म सडक दुर्घटनामा ५५ जनाको ज्यान जनाएको छ । जिल्ला ट्राफिक कार्यालय भरतपुरका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले चितवनमा ६ महिनामा १०० वटा सवारी दुर्घटना भएको बताए । ‘यी दुर्घटनामा ५५ जनाले अनाहकमै ज्यान गुमाए’ ट्राफिक प्रमुख पन्तले भने । सबैभन्दा बढी दुर्घटना नारायणगढ–मुग्लिन सडकखण्डमा भएको उनले बताए ।

जिल्लामा भएका अधिकांश दुर्घटना सवारी साधनको तीव्र गतिका कारण हुने गरेको छ । ‘सवारी चालकले १० प्रतिशतमात्र गति घटाउने हो भने दुर्घटनामा ३८ प्रतिशतले कमी आउने हाम्रो आंकलन छ’ पन्तले भने । चितवनमा पुस महिनामा भएका दुर्घटनामा मात्र पाँच जनाको ज्यान गएको छ । चालकले मादक पदार्थ सेवन, थकान र निद्राले पनि दुर्घटना बढाएको ट्राफिक प्रमुख पन्तले बताए । यसबाहेक तनाव, उत्तेजना, सडकको दूरवस्था र पुराना सवारी साधनका प्रयोगले दुर्घटना बढेको उनले बताए ।

सडक दुर्घटनाको अवस्था र न्यूनीकरणको अध्ययन गरिरहेका नेपाल अटो मोबाइल्स एशोसियसनका केन्द्रीय महासचिव गोविन्द भट्टराईले नारायणगढ–मुग्लिन सडकखण्डमा बिहानको समयमा सवारी दुर्घटना हुने गरेको बताए । उनले बिहान चालकलाई धेरैभन्दा धेरै सावधानी अपनाउन सुझाव दिए ।

चितवनमा भएका ८२ प्रतिशत दुर्घटना नारायणगढ मुग्लिन सडकमा हुने गरेको ट्राफिक कार्यालयले जनाएको छ । अत्यधिक सवारी साधनको आयतका कारण पनि नेपालमा सडक दुर्घटना बढेको भट्टराईले बताए । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले ६० प्रतिशत दुर्घटना सवारी नियम पालना नगरेर भइरहेको बताए । चालकको असंयता र सवारीचापका कारण पनि दुर्घटना बढिरहेको प्रजिअ भट्टको भनाइ थियो ।

आर्थिक वर्षमा कति भयो दुर्घटना ?

चितवनमा आर्थिक वर्ष २०७३/०७४ मा १६३ जनाको सवारी दुर्घटनाबाट मृत्यु भएको छ । सो आर्थिक वर्षमा २५८ वटा सडक दुर्घटना भएको र सोही दुर्घटनामा परी १६३ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । सात लाख जनसंख्या रहेको चितवनमा एक लाख ४८ हजार सवारी साधनको चाप छ ।

जिल्लामा सडक दुर्घटना बढ्दै गए पनि दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीमा जनशक्ति अभाव रहेको ट्राफिक प्रमुख पन्तले बताए । जिल्ला ट्राफिक कार्यालय भरतपुरको मातहतमा ४९ जना ट्राफिक प्रहरीहरु रहेका छन् । ४९ जनाले मुग्लिनदेखि लोथर र माडीसम्म पुग्नुपर्ने बाध्यकारी अवस्थाका कारण दुर्घटना न्यूनीकरण गर्न समस्या भइरहेको प्रमुख पन्तको भनाइ थियो । उनले सवारी साधन कति किलोमिटर गुड्यो भन्ने चेक गर्ने यन्त्रसमेत सरकारले उपलब्ध गराउन नसकेको गुनासो गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + six =