प्रदेश नं ७ को विकासको मार्गचित्र बनाइने

धनगढी, १९ असार । विकासका दृष्टिकोणले अन्य क्षेत्रको तुलनामा पछाडि परेको प्रदेश नं ७ को एकीकृत विकासको मार्गचित्र बनाउन पहल थालिएको छ । पहलस्वरुप आज र भोलिदेखि यहाँ राजनीतिक दलका शीर्ष नेता, नागरिक समाज, बुद्धिजीवीको सहभागितामा कार्यशाला गोष्ठी गरिन लागिएको छ । कार्यशालामा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसहित प्रदेश नं ७ मा जन्मथलो भई राजधानी र देशका अन्य भागमा बसोबास गरिरहेकाको सहभागिता रहने आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाल व्यवस्थापन सङ्घ सुदूरपश्चिम ‘च्याप्टर‘का सभापति डा पदमराज जोशीले बताउनुभयो ।

व्यवस्थापन सङ्घका अध्यक्ष तथा कार्यक्रमका संयोजक धर्मानन्द अवस्थीले बृहत् छलफलमा ७ नं प्रदेशको एकीकृत विकासका लागि प्रारम्भिक खाका तयार गरिने बताउनुभयो ।

७ नं प्रदेश (सुदूरपश्चिम)को विकासका लागि योजना निर्माण, सामाजिक विकास र सुशासन, मानव विकास, भौतिक पूर्वाधार विकास, जलस्रोतको एकीकृत विकास, आर्थिक क्षेत्र विकास, स्वास्थ्य सरसफाइ, खानेपानी तथा कृषि, सामाजिक सुरक्षा, पर्यटन विकास र त्यसको अवधारणाका विषयमा गहन छलफल हुने कार्यक्रम संयोजक अवस्थीले बताउनुभयो ।

सुदूरपश्चिम सरोकार मञ्च, नेपाल व्यवस्थापन सङ्घ सुदूरपश्चिम च्याप्टर र सुदूरपश्चिम विकास आयोगको संयुक्त आयोजनामा उक्त बृहत् छलफल हुन लागेको हो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *