टिकापुरका बालबालिकालाई ‘न्यानो’ बितरण

धनगढी, माघ १ । टिकापुर क्षेत्रका बालबालिकालाई जाडोमा न्यानो लुगा बितरण गरिएको छ । सामर्थ्य नेपाल टीकापुर नगर कमिटीले गरीब, अनाथ, असहाय बालबालिकाहरुलाई न्यानो कपडा सहित शैक्षिक सामाग्री बितरण गरेको हो ।

आईतबार एक कार्यक्रमको आयोजना गरी २० जना बालबालिकाहरुलाई न्यानो लुगा, शैक्षिक सामाग्री बितरण गरिएको थियो । यस्तै, अभिभावक गुमाएकी चार भाईबहिनीकी दिदी शितल परियारलाई एक क्विनटल चामल हस्तान्तरण गरिएको छ ।

सामर्थ्य नेपाल टिकापुरका संयोजक यज्ञराज उपाध्यायको सभापतित्वमा भएको सहयोग कार्यक्रममा टीकापुर बहुमुखी क्याम्पसका प्रमुख केशर बहादुर कुँवरले आफ्नो क्याम्पसमा पढ्दै गरेको बिद्यार्थीले यस्तो सहयोगार्थ कार्यक्रम गरेकोमा खुशी व्यक्त गर्दै समाज परिवर्तनमा अगाडी एक्लै अगाडी बढ्नुपर्ने अनि मात्र पछि अरुले साथ दिने बताए । कार्यक्रममा बिरेन्द्र बिद्या मन्दिर माध्यमिक बिद्यालयका प्राध्यानाध्यापक यज्ञराज ज्ञवालीले सानै उमेरमा पत्रकारिता सुरु गरेर सामाजिक अभियन्ता समेत भएकामा यज्ञराजलाई बधाई समेत दिएका थिए ।

त्यस्तै कार्यक्रमको बिशिष्ट अतिथिको रुपमा रहेका नेपाली देशभक्त युवा समाजका संस्थापक अध्यक्ष नारायण न्यौपानेले उक्त कार्यक्रम अचेलको समाजको लागि स्वागतयोग्य रहेको र सबै युवाका लागि प्रेरणा रहेको बताए ।

छत्र बहादुर धामिले सञ्चालन गरेको उक्त कार्यक्रममा भीमराम चपाई, सुरेश प्रसाद शर्माले मन्तब्य राखेका थिए भने धर्मराज जैशी, चन्द्र प्रसाद बजगाई, देवेन्द्र शाह, तारा बजगाई अतिथि रहेका थिए ।

उक्त सहयोगार्थ कार्यक्रममा हिन्दू जागरण युवा संगठन कैलाली, टीकापुर बहुमुखी क्याम्पस, बिरेन्द्र बिद्या मन्दिर माध्यमिक बिद्यालय लगायतकाले सहयोग गरेका थिए भने केहि सहयोग टिकापुरका ब्यापारीहरुबाट नै संकलन गरिएको अभियन्ता उपाध्यायले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 10 =