१७ जना निस्किए तर, मन्त्रालय हाँक्दै माओवादीकी मिथिला !

“
काठमाडौँ, पुष ३० । अहिले कहीँ नभएको जात्रा सिंहदरबारमा छ । पत्याउनुहुन्छ, ८६ दिनपछि १७ जना माओवादीका विना विभागीय मन्त्रीहरुले राजिना दिएपनि एक जना माओवादीका मन्त्री मन्त्रालयमा गजधम्म भएर बसिरहेकी छिन् ।
उनी हुन्, केही महिनाअघि पार्टी माओवादीमा मिसिएपछि मन्त्री बनेकी मिथिला चौधरी । अस्ति शुक्रबार माओवादीका विना विभागीय मन्त्रीहरुले राजीनामा दिए तर, जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरी काँग्रेसको प्यारी भएकाले राजिनामा दिएनन् । स्रोतले बताएअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले पदमै बसाए ।
गणेश शाहको नेकपा संयुक्त पार्टी माओवादीमा विलए भएसँगै मिथिला माओवादीबाट मन्त्री बनेकी थिइन् । तर, संयोग कस्तो पर्यो भने, प्रचण्ड सरकारलाई हटाएका देउवा सरकारले माओवादीका १७ मन्त्रीहरुलाई विनाविभागीय मन्त्री बनाएपनि मिथिलालाई फुल मन्त्री कै जिम्मेवारी दियो । शुक्रबार २८ गते माओवादीका १७ जना विनाविभागीय मन्त्रीहरुले पदबाट राजिनामा दिएपनि विमलेन्द्र निधिको खास मान्छे भएकोले मिथिलालाई भने देउवा सरकारले पदमै बस्न आग्रह गरेको स्रोत बताउछ । र, उनी अहिले पनि वातावरण मन्त्रालय हाँकिरहेकी छिन् ।
आइतबार यसबारे उनीसँग खास कुरा बुझ्न मन्त्रालय पुग्दा उनी बिदामा थिइन् । मन्त्रालयभित्र केही कर्मचारीहरु जाडोमा हिटर ताप्दै र केही चाहीँ कम्प्युटरमा फिल्म हेर्दैै थिए । सबै आ–आफ्नै धुनमा देखिन्थे । तर, बेकाम । त्यसमध्ये त्यहाँका एक कर्मचारीलाई मन्त्री मिथिलाबारे सोधपुछ गर्दा बिदामा बसेको र भोलि पनि माघे संक्रान्तिको विदामा बस्ने बताए । ‘मन्त्रीज्यू, विदामा हुनुहुन्छ । हामीलाई उहाँले आज र भोलि आउँदिन मन्त्रालयको हेरविचार गर्नु भन्नु भएको छ । भोलिचाहीँ माघे सक्रान्ति विदामा हुनुहुन्छ ।’ मंगलबार मात्रै मन्त्रीसँग भेटघाट गर्न सकिने बताउने ति कर्मचारीसँग स्वकिय सचिवको नम्बर माग्दा उनले आफूसँग कसैको फोन नम्बर नभएको बताए । तर, टेबलमा प्रष्टैसँग नम्बर भने टाँसिएको देखिन्थ्यो ।
माओवादीका अन्य १७ जनालाई विना विभागीय मन्त्रीको जिम्मेवारी दिए तर त्यहीँ पार्टीका एक जनालाई चाहीँ पदमै किन थन्किए ? यसबारे त्यहाँका ती कर्मचारी भन्छन्,‘उहाँ त पहिलेदेखि नै फुल मन्त्री हो नि ! अहिले पनि हुनुहुन्छ । माथिबाट आदेश आएपछि उहाँ यहीँ नै हुनुहुन्छ ।’ तर, माथिबाट तत्काल आदेश नआएसम्म मिथिला ढुक्कले यहीँ नै बस्नेछन् ।
मिथिला के भन्छिन् ?
मन्त्री मिथिलाले खास पदबाट राजिनामा नदिनुको कारण चाहीँ के हो ? त्यसपछि थप बुझ्न मन्त्री मिथिलालाई फोन सम्पर्क गर्दा रिङटोन बज्यो । ‘हल्लो` भन्दै मन्त्री चौधरीले फोन उठाइन् । उनीसँग यस विषयमा कुराकानी गर्दा आफू बिसन्चो भएकोले बिदामा बसेको सुनाइन् । ‘हो अरु सबैले राजिनामा दिनुभयो तर मैले दिएकी छैन । पार्टीको आदेश अनुसारै यहाँ बसिरहेकी छु ।’ पार्टीको निर्देशनअनुसार नै राजिनामा नदिएको र सम्भवतः मंगलबारसम्म राजिनामा दिन सकिने उनले सुनाइन् । र, आफू बिसन्चो भएकाले यसबारे धेरै कुरा गर्न नसक्ने बताउँदै फोन काटिन् ।
त्यसपछि यसबारे थप बुझ्न नेकपा संयुक्त पार्टीका अध्यक्ष गणेश शाहसँग कुराकानी गर्दा उनी पनि रुघाखोकीले थलिएको सुनाए । र, उनले भने,‘मन्त्री मिथिलाले खै राजिनामा दिनु भएको छ/छैन त्यो त थाहा भएन तर अरु सबै माओवादी मन्त्रीहरुले राजिनमा दिदा उहाँले पनि राजिना दिनुपर्ने हो । उहाँसँग तीन दिन भयो होला फोन सम्पर्क नभएको । म बुझ्छु है ।’ अध्यक्ष थापाले आफू केही दिन अघि मात्रै फोनमा कुराकानी भएको बताउँदै उनले यसबारे थप बुझ्ने बताए ।
“








