माघे संक्रान्ती पर्व नजिकिएसँगै बजारमा चहलपहल बढ्यो

धरान, पुस ३० । सुनसरीका स्थानीय बजारहरूमा माघ संक्रान्तिका लागि आवश्यक पर्ने सरसामान किन्नेहरुको चहल पहल बढेको छ ।

संक्रान्ति नजिकिएसँगै जिल्लाको ईटहरी, धरानको सब्जी मन्डी, अमान बजार परिसर लौकीही, ईनरुवा, हरिवन, भरौल, चतरा, प्रकाशपुर, हरिपुर जस्ता स्थानमा मुख्य बजार र ग्रामीण भेगका हाट बजारमा सरसामान किन्नेको भीड बढेको छ ।

माघ संक्रान्तिको तीन, चार दिन अगाडी देखि नै बजारमा तिल, सख्खर, भुजा, तरुल, चिउरा जस्ता खाद्य वस्तुको व्यापार ह्वातै बढेको धरान सब्जी मन्डीका तरकारी व्यवसायी गरिबी शाहको भनाई छ ।

स्थानीय भाषमा (तिला सकराईत) अर्थात् माघ सक्रान्ती पर्वमा यी परिकारका बिक्री वितरण अत्यधिक हुने गरेकाले बजारमा भिड लागेको उनको भनाई छ ।

अन्य बेलाको तुलनामा यो सिजनमा राम्रै व्यापार हुने गरेको र हाल धनकुटामा स्थानीयले राजधानी माग्दै गरेको बन्दका कारण पनि दैनिक उपभोग हुने साग सब्जी लगायतका बस्तुको मूल्य वृद्धि भएकाले राम्रै कमाई भएको छ ।

माघ १ गते मनाइने माघ संक्रान्तिमा यस्ता वस्तुबाट विभिन्न परिकार बनाएर खाने प्रचलन सर्वसाधारण नेपालीहरूमा रहेको छ । विशेष गरी मधेसी मूलका व्यक्तिहरूले तल तथा सक्खर जन्य बस्तुको अत्यधिक मात्रामा प्रयोग गर्ने गर्दछन् ।

उता ताप्लेजुङमा विभिन्न किसिमका तरुलको व्यापार बढेको छ । माघ संक्रान्तिलाई लक्षित गर्दै सदरमुकाम फुङ्लिङको तोक्मे हटियो, दोभान र सवा लगायतका बजारहरूमा तरुलको व्यापार बढेको हो ।

जाडोमा स्वास्थ्यलाई समेत फाइदा पुग्ने र माघ संक्रन्तिमा तरुल खानै पर्ने मान्यताले पनि यसको बिक्री वितरण बढेको व्यापारीहरूले बताएका छन् ।

माघ संक्रान्तिलाई लक्षित गर्दै बजारमा यति बेला घरतरु, बनतरुल, सिमलतरुल, ईस्कुसे तरुल लगायतका तरुलका प्रकारहरू पाइने गरेको स्थानीय व्यापारी तुलसी गौतमले बताए ।

अहिले ताप्लेजुङ सदरमुकाममा घरतरुल प्रतिकिलो ८० रुपैयाँ, बन तरुल १५० रुपैयाँमा कारोबार भइरहेको व्यापारीहरूको भनाई छ । गाउँबाटै खनेर ल्याएको ताजा तरुल सदरमुकामका चोक र अन्य पसलमा समेत बेच्न राखिएको छ ।

तरुललाई पुसमा पकाएर माघ मा खाने परम्पराले पनि पुसको अन्त्यमा तरुलको कारोबार बढी हुने गरेको बताइएको छ । घरका सबै परिवार एकै ठाउँमा बसेर उसिनेको तरुल र तरुलका विभिन्न परिकार खाएर ताप्लेजुङमा माघ संक्रान्ति मनाउने प्रचलन रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 4 =