चितवनमा घुँगीको प्रतिमा प्रदर्शनी

“
चितवन, पुस २९ । चितवनको खैरहनीमा शुरु भएको थारूको खिचरा महोत्सवमा घुँगी जोगाउने प्रयासस्वरुप पाँच फिट अग्लो मूर्ति (प्रतिमा) निर्माण गरेर प्रदर्शन गरिएको छ । घुँगीको प्रतिमाको भुमिसुधार मन्त्री गोपाल दहितले उद्घाटन गरे ।
घुँगीसँगै खाने मौलिक खाना चिचरको ‘पोका’ समेत प्रदर्शनमा राखिएको छ । यसले मौलिक खानाको संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको थारू कल्याणकारिणी सभा क्षेत्र नं ७ का अध्यक्ष तथा महोत्सव संयोजक नारायण महतो बताउँछन् । लोप हुँदै गएको घुँगीलाई बचाउन पनि पहिलो प्रयासस्वरुप प्रतिमा बनाइएको उनले बताए ।
आयोजकले अतिथिलाई मायाँको चिनोसमेत घुँगीकै प्रतिमा दिएर पहिलो पटक नौलो प्रयास थालेका छन् । संयोजक महतोको योजनाअनुसार यसरी शुरु गरिएको हो ।
महोत्सवको मुख्य आकर्षण नै अहिले घुँगीको प्रतिमा बन्न पुगेको छ । दर्शक एकपटक घुँगीसँग सेल्फी हानेकै हुन्छन् । ललितकला क्याम्पसमा स्नातकोत्तर पढ्दै गरेका माडीका दिनेश्वर महतोले घुँगी र चिचरको पोकाको प्रतिमा फाइबरबाट बनाएका हुन् ।
हड्डीको समस्या भएमा घुँगी खाँदा निको हुन्छ भन्ने चलन थारूमा छ । थारूका गुरुवाहरुले त्यस्ता बिरामीलाई खान सिफारिश गर्छन् । ज्यान दुखेको, ढाड दुखेको ठीक हुने विश्वास रहेको कारी महतो बताउँछन् । यसकोे बीउ छैन, पाल्ने अवस्था नि छैन । यसको अनुसन्धान पनि हुन सकेको छैन । यसले माटो हिलो लेउ खान्छ । चिप्ले कीरा प्रजातिमा पर्छ घुँगी ।
यसलाई निकालेर सफा पानीमा १५ देखि २४ घण्टा राख्नुपर्छ । त्यसपछि पीठो खुवाउनु पर्छ । पानीमा राखेर पीठो हालिदिए यसले पीठो खान्छ । पीठो खाँदा पहिले खाएको लेदो (जुन माटो मिसिएको हुन्छ) ओकल्छ । अनि चुच्चोपट्टि फुटाइन्छ । त्यसपछि सफा गरेर पकाउनुपर्छ । अनि मात्रै खान योग्य हुन्छ । पोखरीबाट ल्याउने बित्तिकै पकाउँदा हिलो गन्हाउँछ । माटो किरिङ किरिङ हुने हुँदा राम्ररी सफा गर्नुपर्छ ।
“








