रेखाको जीवन संघर्षका सात किस्सा !

संगीतकार रेखा पौड्याल अर्थात् नेपाली चलचित्र संगीत क्षेत्रमा संगीत भर्ने पहिलो महिला । ०५९ सालमा चितवन महोत्सवमा पाँच सय प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम भएकी उनी अहिले पहिलो महिला संगीतकार बन्न सफल भएकी छिन् । जब कि उनले संगीतको सन्दर्भमा भजन कीर्तन भन्दा अरु तालिम नै लिएकी थिइनन् । तर, प्रथम भइन् ।

पाँच सय जना संगीतका पारखीलाई पन्छाएर प्रतिस्पर्धामा पहिलो हुनु चानचुने कुरा थिएन । न त उनले अरु प्रतिस्पर्धी जसरी माइक समातेर त्यसरी कहिल्यै गीत गाएकी थिइन् । सिर्फ भजन कीर्तन सिवाय कुनै गीत गाएकी थिइनन् । तर, तिनै भजन कीर्तनकी एक फुच्चीले त्यो महोत्सवमा तहल्का पिटिन् । जादुमय स्वरले दर्शकलाई लठ्याइन् । हाल एक सय भन्दा बढी चलचित्रमा संगीत भरेकी रेखा पौड्यालको संघर्ष के यती मात्रै हो त ? उनका संघर्षका यात्राहरु सुन्दा जो कसैले शायदै भोगिएको होला !

सांगीतिक क्षेत्र । जस्लाई समाजले एउटा टेडो नजरले हेर्ने प्रवृत्ति अझैँ छँदैछ । उनी पनि त्यसको शिकार बनिन् । तर, त्यसका बाबजुद निरन्तर अघि बढिरहिन्, बढिरहिन् । आफ्नो उद्धेश्य भन्दा कतै ध्यान दिएनन् । कुरा काट्नेले के के जाति भने भने । कयौँ पटक चिनेजानेकाले बचन लगाए,‘सँधै पुरुषसँग नारिएर हिँड्छे’ ।

संगीत क्षेत्रमा पुरुष शिक्षक भएपछि उनले कहाँबाट महिला शिक्षिका ल्याएर समाजलाई देखाउनु । कुरा फेर्ने मान्छे चिन्न धेरै समय लाग्दैन तर मान्छे नै फेर्न त सकिँदैन नि ! जब उनी संगीत क्षेत्रमा जम्दै थिइन् तर समाजले उनीमाथि यहीँ द्वोष थुपारिदियो । न त उनले समाजको त्यस्तो कुनै निमय नै तोडेकी थिइन् । उनी त केवल संगीतको धुन खोजिरहेकी थिइन् ।

सपना नगरी यात्रा

चितवन महोत्सवपछि मोडिएको उनको सपनानगरी काठमाडौँको यात्राले सँधै यस्तै बाधा अड्चन खेप्नुपर्यो । काठमाडौँमा आएपछि उनी कहाँ कहाँ पुगेनन् । पूराना देखि नयाँ संगीतकार सबैको घर घर चहारे । कसैले चिनेनन् । जब कि उनी चितवन महोत्सवबाट पाँच सय प्रतिस्पर्धीलाई पाखा लगाएको उनको बारेमा मिडियाले घन्काइ सकेको थियो । तर, त्यसले कुनै लछारपाटो लागेन । उनले विगतलाई सम्झिँदै भनिन्,‘काठमाडौँ आएको महिनौँ बित्यो तर निराशाको पोको बाहेक अरु केही पाइन । त्यसपछि आफ्नै गाउँ फर्काै झै लाग्यो ।’

नवपरासीको कोउरिनीमा जन्मिएकी रेखा, आज जुन स्थानमा छिन् । उनी यहाँसम्म आइपुग्न पिता किशोर शर्माको देन रहेको उनी बताउछिन् । पिता किशोर शर्मा र माया देवी शर्माको कोखबाट जन्मिएकी उनी भन्छिन्,‘पारिवारिक वातावरण नै संगीतमय भएकोले संगीत क्षेत्रमै म रुमलिए ।’तर, आज किशोर शर्मा धर्तीमाझ छैनन् । छन् त छोरा–छोरीका लागि उनले छाडेर गएका केही सपना । हुन सक्छ, आज उनको सपना पूरा हुँदैछ । पाँच जना मध्ये तीन सन्तान उनकै शिष्य बनेर संगीत क्षेत्रलाई गतिशिल बनाइरहेका छन् ।

रेखासँगै पिताको बाटो पछ्याउदै दाजु सञ्जिव कुमार पौड्याल र कान्छी बहिनी दुर्गा पौड्याल पनि गीत लेखनमै सक्रिय छिन् । यी दुई दाजु बहिनीले पहिलो एल्वम निकाले ‘अठोट’ । त्यसपछि दोश्रो सांगीतिक कोशेलीको रुपमा ‘अतृप्त’ एल्वम बजारमा ल्याए । बिन्धबासिनी म्युजिकले बजारमा ल्याएको उक्त सांगितिक कोशेलीमा सञ्जिवको स्वर र रेखाको संगीत सुन्न पाइन्छ । जुन गीत र संगीतलाई धेरैले मन पराए । कान्छी बहिनी दुर्गा पौड्याल जो अध्ययनको सिलसिलामा स्वदेश बाहिर छिन् ।

सयौँ गीतमा संगीत भरिसकेकी रेखा नेपाली चलचित्र उद्योगमा पहिलो संगीतकारको रुपमा नाम दर्ज गर्न कसरी सफल भइन् ? ०६८ सालतिर हुन सक्छ । गोपीकृष्ण एफ एमका कार्यक्रम प्रस्तोता चाँदनी शाहसँगको कुराकानीमा उनी ति अस्मरणीय पलहरु सम्झेर भक्काइन् ।

ती दिनहरु….

यसअघि उनले भनिन्,‘त्यतिखेर खाजा,खाना खाने पैसा नभएर कतिपटक भोक भोकै हिडियो । हिँड्दा हिँड्दै रिँगटाको चक्करले ढले ।’ राजधानी भित्रिएका उनका सुरुवाती दिनहरु यस्ता थिए । जतिखेर उनी सिने क्षेत्रमा जम्न चाहन्थिन् । निर्माता निर्देशकहरुलाई आफ्नो संगीत सुनाँउन चाहन्थिन् । उनलाई लाग्थ्यो रे, आफ्नो बारे एकपटक निर्देशक तथा निर्माताहरुलाई सुनाए ‘नाइँ’ भन्ने चान्स नै आउदैन । तर, पूराना तथा नयाँ निर्देशक सबैले त्यतिखेर उनको गीत÷संगीत सुन्नुको अलवा उल्टै हावामा उडाइदिए । तर, हार खाएनन् । अघि बढिरहे ।

एक समय उनलाई पनि नलागेको होइन । यो क्षेत्रै छोडेर हिडौं । तर, पीतालाई सम्झिइन् । पिताको संगीतप्रतिको योगदान र सपना । बुवालाई सम्झिएर सम्हालिन्थिन् । संगीत क्षेत्रमा अनेक कष्ट र पीडा भोगेर घायल बनेकी उनी बुवालाई सम्भिइन्,‘छोरी ! कहिल्यै नआत्तीनु सबैको एक दिन पालो आँउछ । निरन्तर संघर्ष गरेस् ।’ संघर्षको फल मीठो हुन्छ । चाहे त्यो किन जति नै समय लागोस् । त्यो दिन रेखाको पनि आयो ।

पहिलो पटक संगीत चलचित्र ‘फूलमा’ बज्यो । जुन चलचित्रमा वरिष्ठ संगीतकार शिव रेग्मीहरुले उनलाई साथ दिए । त्यसपछि उनले पछाडि फर्खेर हेर्नुपरेको छैन । त्यहीँबाट उनको भाग्य चम्कियो । निरन्तर यात्रा अघि बढ्यो । हालसम्म सयभन्दा बढी गीतमा संगीत भरेकी उनले दर्जन हाराहारीकै नेपाली चलचित्रका गीतहरुमा संगीत भरेकी छिन् । र, ती सबै गीतहरु हिट छन् ।
यहाँसम्म आइपुग्न उनले आफैसँग सिंगौरी खेलिन् । शनिबार त्यसै व्यस्त तर व्यस्तताका बाबजुत उपलव्ध भएकी यी प्रथम सँगीतकार चेलीले साँगीतिक यात्राका सात अविस्मरणीय किस्सा हामीमाझ जर्बजस्ती सुनाइन् ।

किस्सा एक :

नवलपरासीकै घटना हो यो । जतिखर गाँउमा एउटा सांगीतिक कार्यक्रम थियो । त्यहाँ रेखाले यसरी नाचिन कि उपस्थित सबै मन्त्रमुग्ध भए । उनको नृत्यले यसरी जादु छर्र्यो कि राम्रै रकम संकलन भयो । तर हाम्रो नेपाली समाज अगाडि वाह वाह गर्नेहरुले नै पछाडिबाट छुरा धस्न थाले । कुरा काट्न थाले । त्यहाँ अगाडि वाहवाही गर्नेहरुले नै रेखाको दाजु सञ्जिवको कानमा रेखाविरुद्ध अनर्गल कुराहरु भरिदिए । नेपाली समाज महिलाले नाचेको गाएको कहाँ राम्रो मान्थ्यो र ? त्यही कारण दाजु बहिनीको सात दिनसम्म बोलचाल भएन । आठौ दिन दाजु सञ्जिवले भने ‘ बहिनी बरु तिमी गीत गाँउ म सर्पोट गर्दछु तर नाच्न छाडिदेऊ ।’ दाजुको त्यही वचनलाई शीरोधार्य गर्दै उनले नाच्न छाडिदिईन । सदाका लागि ।

किस्सा दुई :

५९ सालको कुरा हो । चितवनमा महोत्सव आयोजनामा गायन प्रतियोगिताको आयोजना गरिएको थियो । झण्डै ५ सय सहभागी थिए प्रतियोगितामा । रेखाले हार्माेनियम त बजाँउथिन तर यस अगाडि स्टेजमा गाएकी थिईनन् । तीनताक सुर,ताल,राघ केही नसिकेकी रेखाले चमत्कार देखाइन । प्रतिष्पर्धी सबैलाई हराँउदै पहिलो बनिन् । जुन घटना उनको दिमागमा तरोताज भएर घुमिरहन्छ ।

किस्सा तीन :

उत्साह बोकेर राजधानी भित्रिईन उनी । र संगीत सिक्न गुरु चन्दन श्रेष्ठकहाँ धाउन थालिन । क्लासमा ३० हाराहारीमा प्रशिक्षार्थीहरु थिए । तर गुरुदेखि कसैले चिन्दैनथें । उति महत्व दिदैन्थे । भीडमा हराएको महशुस भयो । एक दिन होइन,दुई दिन होइन यही क्रम दोहोरिए पछि उनले कोठामा पुगेर दाजुसँग रुदैं भनिन ‘दाजु यहाँ बसेर केही सिक्न सक्दिन । म गाँउ फर्कन्छु ।’ दाजुले उनका गाँउ फर्कन तयार पाइलाहरुलाई नरोकेको भए आज उनी यो क्षेत्रमा हुन्थिनन् ।

किस्सा चार :

कहाँ प्रिय छन र काठमाडौंका मान्छेहरु ? पाइला पाइलामा पैसाले डस्छ यहाँ । यस्तै अवस्था आइलाग्यो उनहरुको जीवनमा पनि । दाजु र उनी दुबै संगीत सिक्दै थिए । तर त्यहाँ तिर्नुपर्ने रकम जोहो गर्ने सकस थियो । एक दिन दाजुले बहिनीसँग भने रेखा तिमी त्यहाँ गएर सिक ।र मलाई घरमा आएर सिकाऊ । आफ्नो इच्छालाई पैतालाले कुल्चेर बहिनीका लागि दाजुले गर्नुभएको त्यो त्याग उनी जीवनको कुनै पनि मोडमा भुल्न सक्दिनन् ।

किस्सा पाँच :

गीत र संगीत सुनाँउदै उनी कहाँ कहाँ हिडिनन् । म पनि संगीत गर्दछु भन्दा उनलाई धेरै निर्मातादेखि निर्देशकहरुले हावामा उडाए । तर मन बलियो बनाइन् । जीवनमा यस्ता क्षणहरु पनि थिए हिड्दा हिड्दै धेरै पटक रिंगटा लागेर लडेकी छिन् । घरबेटीहरुको दुर्रवचन झन कहाँ भुल्न सक्छिन र ?

किस्सा छ :

जीवनमा चलचित्र फूलमा संगीत भर्ने टुंगो लाग्यो । सम्झौता पनि भयो । तर सम्झौता गरिए अनुसार समयमा काम भएन् । महिनौ कुर्दा समेत काम नभए पछि लाग्यो । अब यसरी हुँदैन यो क्षेत्र नै छाडेर अर्कै क्षेत्रमा लाग्छु ।

किस्सा सात :

नेपाली चलचित्रको पहिलो महिला संगीतकारको रुपमा चिनिसकेकी थिईन रेखा । सुनेको थिईन अब उनलाई कामको अफरको ओइरो लाग्ने छ । तर सोचेजस्तो भएन् । निराश थिइन त्यो समयमा उनी । आखिर जीवन भन्नु नै संयोग न हो । एक दिन उनी गोपीकृष्ण एफएममा अन्तर्वार्ता दिँदै थिईन चाँदनी शाहसँग । लाइभ कार्यक्रममै उनी रोइन । मोवाइल अफ थियो । जब कार्यक्रम सकिएर मोवाइल अन गरिन । त्यहाँ निार्मता छवि ओझाको म्यासेज थियो हमेसा चलचित्रका लागि तपाईको संगीत खाँचो छ । तुरुन्त हाम्रो कार्यलयमा आउनुहोला ।

सेलीब्रेटीहरुका आ–आफ्नै संघर्षका किस्सा हुन्छन् । त्यसमध्ये यी तिनै चेली हुन्,जस्ले आफ्नो लक्ष्यमा पुग्न थोरै मिहिनेत र संघर्ष गर्नुपरेन । केही समय अगाडि चलचित्र विकास वोर्डबाट पहिलो चलचित्र महिला संगीतकारको प्रमाण समेत हात पार्दै नेपाली चलचित्र उद्योगामा पहिलो महिला संगीतकार बन्न सफल भएकी छिन् ।

अन्त्यमा, उनी हमेशा चलचित्रको गीत गुनगुनाउँदै बिदा भइन्,‘हमेशा हमेशा हजुरमै हुन्छु म…’ जादुमय स्वरकी धनी रेखाको आगामी दिन उज्जवल रहोस हाम्रो शुभकामना !

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 3 =