विद्यार्थीहरु महानगर पुगे तर मेयर विद्यासुन्दर भेटेनन्, उप–मेयर हरिप्रभाले,‘ओके’ भनिन्

“
काठमाडौ, पुष २८ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको टोली शुक्रबार काठमाडौं महानगरपालिकाको कार्यालय बागदरबारमा पुग्दा मेयर विद्या सुन्दर शाक्य गायब थिए ।
तर, उपमेयर हरिप्रभा खड्गी भने टुप्लुक्कै भेटिइन । र, विद्यार्थीहरुले उनको हातमा फोहर थमाउदै भने,‘चाँडो भन्दा चाँडो काठमाडौँलाई धुलो रहित बनाउनुपर्यो । मेयरलाई भेटेनौँ । तपाईमार्फत् यो सूचना उहाँ कहाँ पनि पुगोस् ।’
शुक्रबार संघले मेयर विद्यासुन्दर शाक्यको हातमा फोहर थमाउने कार्यक्रम बनाए पनि शाक्य कार्यालयमा उपस्थित नभएपछि फोहर उपमेयर खड्गीलाई नै विद्यार्थी संघले फोहोर थमाउँदै बिदा भए । काठमाडौंमा अत्याधिक धुलो र फोहर बढेको भन्दै काँग्रेसनिकट विद्यार्थी संगठनले ‘बनाऊ राजधानी धुलोरहित, बाँचौ सबै खुसीसहित’का नाराहरु लगाउँदै महानगरपालिकामा पुगेका हुन् ।
केही विद्यार्थीहरुसँग गफिदै उपमयेयर खड्कीले उनीहरुको त्यो माग सम्बोधन हुने बताइन् । त्यसपछि मेयर शाक्यलाई भेट्न कति बजे सकिन्छ भन्ने प्रश्नमा त्यहाँका एक कर्मचारीले ठेगानै नभएको तर २ बजे पछि कहिलेकाही झल्याकझुलुक भेटिने बताए ।
‘कतिन्जेल यो धुलोसँग राजधानीबासीले तड्पिनुपर्ने हो । त्यसैले आज हाामीले नगरपालिकाको ध्यानाकर्षण गराएका हौँ ।’ नेबिसंघ काठमाडौं जिल्ला सभापति मनोज बैद्यले भने,‘महानगरले विभिन्न रुपमा जनताबाट कर उठाएपनि काम गरेन । त्यसकारण यो पनि सुझाव दिन यहाँ आएका हौँ ।’
सयौँको सङख्यामा महानगरमा पुगेका विद्यार्थी टोलीले काठमाडौंका मुख्य चोकहरु तीनकुने, चावहिल लगायतका स्थानबाट धुलो तथा फोहर संकलन गरी महानगरपालिकामा बुझाएको छ । उपमयेर खड्गीले ती सबै धुलोको अवलोकन गर्दै मेलम्चीको पाइप विस्तारको क्रममा धूलो भएको बताइन्। सडक विभागले आफ्नो जिम्मेवारी पूरा नगर्दा धुलो भएको खड्गीले दाबी गरिन्। त्यसपछि उनले अब यो समस्या समाधान गर्न नै आफू यहाँ निर्वाचित भएर आएको बताइन् ।
“








