छिन्ताङ काण्डका १६ शहीदः जसलार्इ शहीद हुनै ३८ वर्ष लाग्याे

पुस २८, काठमाडाैं । जसले काण्ड गराए उसले यो संसार छाडेकै दुई वर्ष पुगिसक्यो । तर, त्यही काण्डका कारण धर्ती छाडेकालाई सरकारले ३८ वर्षपछि सम्झिएको छ । सरकारले २०३६ साल कात्तिक २७ गते धनकुटाको  खाेकू छिन्ताङमा मारिएका १६ जनालाई आज शहीद घोषणा गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद बैठकले छिन्ताङ काण्डमा मारिएका १६ जनालाई शहीद घोषणा गरेको हो ।

छिन्ताङ काण्डमा मारिएका गोपालआनन्द राई, भैरबहादुर राई, बलबहादुर खत्री, धनवीर दर्जी, गम्भीरमान दर्जी, टंकबहादुर विश्वकर्मा, लाखमान साधु राई, रणध्वज पुमा राई, केशरमान राई, गणेशबहादुर विश्वकर्मा, हाँखिमा राई (साँहिली), पुत्रमान राई, झगेन्द्र रार्ई, चन्द्रबहादुर दमाई र गंगाबहादुर तुप्रिहाङ राईलाई सरकारले शहीद घोषणा गरेको हो ।

२०३६ सालमा तत्कालीन पञ्चायती राज्य व्यवस्थाको विरोधमा नेकपा मेलामा संलग्न भएका १६ जना युवालाई सरकारी पक्षबाट निर्ममतापूर्वक मारिएको थियो । उक्त समयमा धनकुटाकै सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । अहिले पनि छिन्ताङ काण्डको प्रमुख मतियारका रूपमा थापालाई लिइन्छ । उनीहरूलाई पञ्चायती व्यवस्थाविरुद्ध भूमिगत गतिविधि सञ्चालन गर्दै आएको मेलाको गतिविधि नियन्त्रण गर्ने नाममा सरकारले प्रहरी परिचालन गरी हत्या गरेको थियो ।

वामपन्थीहरूले सूर्यवबहादुर थापाले छिन्ताङमा १६ जनाको हत्या गरेको अभियोग लगाउँदै आएकोमा देउवा नेतृत्वको सरकारले छिन्ताङमा सहादत प्राप्त गर्नेलाई शहीद घोषणा गरेको हो । ०३६ सालको कात्तिक २४ देखि २७ गते धनकुटाको खोक छिन्ताङ गाउँमा एक सांस्कृतिक कार्यक्रमका बिच राज्यले गोली चलाएर १६ जनाको हत्या गरेको थियो ।

तत्कालीन भूमिगत नेकपा मालेको कार्यक्रममा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको प्रत्यक्ष निर्देशनमा गोली चलेको र सुत्केरीसहित १६ जना मारिएको आरोपको जवाफ नदिइ थापाले संसार त्यागे । छिन्ताङ काण्ड आजपर्यन्त नेपाली राजनीतिमा ठुलो घटनाका रूपमा लिइने गरेको छ । थापाको ६२ वर्षे राजनीतिक जीवनमा छिन्ताङ काण्ड कलङ्कका रूपमा नै रहेको छ ।

युवा गायक किशोर थुलुङले खोक छिन्ताङ घटनालाई लिएर गीत नै गाएका छन् ।

‘खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउँदा, मन सबको रुन्छ कि दुःख बिसाउँदा ।’

पूर्वमा हरेक वर्ष गायक थलुङले यो गीत नगाएको क्षण छैन । सारङी बजाउने गन्दर्भहरुका लागि यो गीत सदावहार भएको छ ।

धनकुटेलीलाई हरेक वर्ष आउने शहीद दिवसमा छिन्ताङ काण्डले पिरोल्छ । समाजमा अपराध गरेर मरेको व्यक्तिलाई शहीद घोषणा गर्न नहिच्कीचाउने सरकारले पञ्चायती राज्य व्यवस्थाका विरुद्ध धावा बोल्ने ‘छिन्ताङे वीरहरूको लागि केही गर्न सकेको थिएन । तत्कालीन नेकपा मालेले पञ्चायती शासन व्यवस्थाका विरुद्ध किसान आन्दोलन गरेको थियो । त्यत्तिबेलाको निरङ्कुश पञ्चायति शासन व्यवस्थाले त्यहाँका किसान परिवारलाई यत्ति सम्मको कु्ररता प्रस्तुत गर्‍यो की, सुत्केरी महिलालाई भिरबाट खसालेर लियो । केहीलाई तम्मोर नदीमा डुवाइयो त, केहीलाई हातखुट्टा बाँधेर गोली हानियो । यहाँसम्मकी केहीलाई तम्मोर खोला तरेर भाग्न खोज्दा ढुङगाले हानेर समेत मारिएको शदीद परिवार बताउँछन् ।

नेपाली कम्युनिस्ट आन्दोलनमा ठुलो घटनाका रूपमा छिन्ताङ काण्डलाई लिइन्छ । २०४६ साल पछिको बहुदलिय व्यवस्थामा नेकपा एमाले लगायत कम्युनिष्टहरु बारम्बार सरकारमा पुगे । तर, कसैले पनि छिन्ताङ हत्याकाण्ड खोतल्ने प्रयास गरेनन् । छिन्ताङ काण्ड मात्र हैन नेकपा एमालेले चलाएको झापा आन्दोलन, आफ्नै पार्टीका महासचिव मदन भण्डारी हत्याकाण्ड यस्ता धेरै काण्ड सुल्झाउन हिम्मत गर्न सकेको छैन ।

पूर्वका सञ्चारकर्मी जसकुमार राईले छिन्ताङ काण्डको बृत्तचित्र बनाउँदै छन् ।

आज सरकारले छिन्ताङका १६ लाई शहीद घोषणा गरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा खुसी व्यक्त गर्दै लेखे । ‘छिन्ताङ आशुमा विश्वास गर्दैन’ Chhintang doesnÚt believe in tears शहीदलाई सहिद भन्न पनि मारिएपछि झन्डै चार दशक लाग्यो । श्रद्धा छ, खालास् क्षेत्रका सबै शहीदहरूलाई । समवेदना छ पीडित परिवार प्रति । बलिदानमा, न्याय र समानताको प्रचूरता हुन्छ भन्ने शिक्षा सबैले सम्झनेछन् ।’

https://www.youtube.com/watch?v=Khfl5vLAXQo”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − twelve =