विनाविभागीय बनेको ८६ दिनपछि राजीनामा दिँदै मन्त्री: मिथिलाले नदिने

काठमाडौं, पुस २८ । माओवादी केन्द्रका मन्त्रीहरूले आठ महिनापछि शुक्रबार पदबाट सामूहिक राजीनामा दिने भएका छन् । बिहीबारै राजीनामा दिने भनिए पनि सार्वजनिक बिदा परेकाले शुक्रबारका लागि सरेको विनाविभागीयमन्त्री गिरिराजमणि पोखरेलले बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ असोजमा नौ मन्त्री र सात राज्यमन्त्रीको जिम्मेवारी खोसेर विनाविभागीय बनाएका थिए ।

माओवादीका सबै मन्त्री र राज्यमन्त्रीले हस्ताक्षरसहित आफ्नो राजीनामापत्र पार्टी कार्यालयमा बुझाएका छन् । ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई सामूहिक राजीनामापत्र दिने तयारी गरेका थियौँ,’ पोखरेलले भन्नुभयो, ‘बिहीबार सार्वजनिक बिदा परेकाले राजीनामापत्र पार्टी कार्यालयमा बुझाएका छौँ । पार्टीले शुक्रबार प्रधानमन्त्रीलाई राजीनामापत्र बुझाउँछ ।’

नयाँ जनादेश आएलगत्तै प्रधानमन्त्री देउवाले राजीनामा नदिने देखेपछि नैतिकताका आधारमा राजीनामा दिन लागेको पोखरेलले बताउनुभयो । ‘ताजा जनादेश आएलगत्तै नैतिकताका आधारमा छिटै प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ होला, किन हतारमा हामीले मात्र राजीनामा दिनपर्यो भन्ने थियो,’उहाँले भन्नुभयो, ‘तर, प्रधानमन्त्रीले राजीनामा दिन ढिलाइ गर्ने देखिएपछि हामीले राजीनामा दिएका हौँ ।’ आफूहरूले राजीनामा दिएमा प्रधानमन्त्रीलाई दबाब बढ्न सक्ने पोखरेलले बताउनुभयो ।

एक साताभित्र मन्त्रीनिवास खाली गर्ने
माओवादीका सबै मन्त्रीले एक हप्ताभित्र मन्त्रीनिवास छोड्ने मन्त्री टेकबहादुर बस्नेतले बताउनुभयो । ‘हाम्रा पार्टीका केही मन्त्रीहरू उपत्यकाबाहिर हुनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘सबै मन्त्रीले निवास छोड्न कम्तीमा पनि एक हप्ता लाग्न सक्छ ।’ माओवादीका मन्त्री विनाविभागीय बनाइए पनि मन्त्रीनिवासमै बसेका थिए ।

यी हुन् माओवादी मन्त्री
उपप्रधानमन्त्री कृष्णबहादुर महरा, मन्त्रीहरू जनार्दन शर्मा, टेकबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, शिवकुमार मण्डल, आशा कोइराला, सन्तकुमार थारू र प्रभु साह, राज्यमन्त्रीहरू मोहम्द जाकिर हुसैन, राजसिंह यादव, श्यामकुमार श्रेष्ठ, कर्णबहादुर विक, छमबहादुर गुरुङ, गोमा कुँवर र ओङदी शेर्पा

वातावरणमन्त्रीले राजीनामा नदिने
जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले भने राजीनामा नदिने भएकी छिन् । ‘माओवादी मन्त्रीहरूले सामूहिक राजीनामा दिँदै हुनुहुन्छ,’ मन्त्री चौधरीले भन्नुभयो, ‘तर म निकट नेताहरूसँग छलफल गरेर मात्र राजीनामा दिने-नदिने निर्णयमा पुग्छु ।’ चौधरी नेकपा संयुक्तबाट मन्त्री हुनुभएको थियो । संयुक्त र माओवादीबीच गत २५ असोजमा पार्टी एकता भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =