जर्मनी र चिली बीच आज राति उपाधिका लागि भिडन्त


“
एजेन्सी – फिफा कन्फेडेरेसन कपको फाइनल खेल अन्तर्गत आइतबार राती हुने खेलमा जर्मनी र चिली उपाधि भिडन्तमा उत्रदैछन् । विश्वकप विजेता जर्मनी र कोपा अमेरिका विजेता चिली प्रतियोगितामा अपराजित रहेका छन् ।
सेमिफाइनलमा चिलीले पोर्चुगललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने जर्मनीले मेक्सिकोलाई ४-१ ले हराउँदै उपाधि भिडन्त तय गरेको हो । समूह चरणमा भएको खेलमा जर्मनी र चिलीले १-१ को बराबरी खेलेका थिए । उक्त खेलमा चिलीका एलेक्सिस स्यान्चेजले अग्रता दिलाएपनि लार्स स्टीन्डलले बराबरी गोल फर्काएका थिए ।
जर्मनीका प्रशिक्षक जोकिम लोले चिलीविरुद्धको खेलमा टोली निकै सजग हुनुपर्ने बताए । ‘हामीले खेलको सुरुवात देखिनै पकड बनाउन एकदम जरुरी छ । चिलीले सकेसम्म धेरै दबाव दिने पक्का छ, त्यसैले हामीले खुलेर खेल्नुका साथै अनावश्यक गल्ति गर्ने ठाउँ दिनु हुन्न ।’
यता चिलीका प्रशिक्षक एन्टोनियो पिज्जीले भने युवा खेलाडीले भरिपूर्ण भएतापनि जर्मनी एक अब्बल टोली रहेको बताए । ‘जर्मनीसँग युवा भएर पनि धेरै अनुभव बटुलेका खेलाडीहरु छन् । सानो उमेरमा ठुलो प्रतियोगिता र टोलीको प्रतिनिधित्व गरिसकेका खेलाडीहरुले निकै राम्रो खेल देखाईरहेका छन् । हाम्रो लक्ष्य भनेको उनीहरुकै स्तरमा पुगेर अझै धेरै मिहेनेत गरर खेल्नु हो ।’ खेल नेपाली समयानुसार रातको ११:४५ बजे सुरु हुनेछ ।
“
