आठौँ पोखरा महोत्सव सुरु

“
पोखरा २७ पुस । अमरसिंह चौरमा बिहीबारदेखि आठौँ संस्करणको पोखरा महोत्सव सुरु भएको छ । माघ ८ गते सम्म सञ्चालन हुने महोत्सवको कास्की क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले उद्घाटन गरे ।
महोत्सवको उद्घाटन गर्दै अधिकारीले युनाइटेड क्लबको सामाजिक कामलाई सम्पूर्ण सङ्घ सस्थाले अवलम्बन गर्नुपर्ने बताए । अधिकारीले युनाइटेड क्लबले महोत्सवकै आयोजना गरी पोखरामा अन्तर्राष्ट्रिय स्तरको चिडियाखाना निर्माणमा पहल कदमी थालेर आठौँ महोत्सव सम्म आइपुग्दा वन्यजन्तु उद्धार केन्द्र निर्माण गर्न सफल भएकोमा स्थानीय स्तरमा भएको कामको प्रशंसा गर्दै आफ्नो तर्फबाट पनि पोखरामा निर्माण हुने चिडियाखाना निर्माणका लागी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रकृति संरक्षण कोषका पूर्व सदस्य सचिव जुद्ध बहादुर गुरुङले पोखरा आफैमा पर्यटकीय गन्तव्य रहेको सन्दर्भमा युनाइटेड क्लबले पोखरामा चिडियाखाना निर्माणमा देखाएको सक्रियतालाई सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए। पोखरा लेखनाथको पचभैयामा निर्माणधिन अवस्थामा रहेको चिडियाखाना नेपालकै एकमात्र खुल्ला चिडियाखाना हुने भएकाले सरकारले पनि यसबारेमा ध्यान दिन जरुरी रहेको बताए ।
त्यस्तै अमरसिंह मावि व्यवस्थापन समितिका अध्यक्ष तेजश्वी बरालले अमरसिंहचोकमा महोत्सवको आयोजना गरी युनाइटेड क्लबले आफ्ना सामाजिक कामबाट विश्वभर नाम फिजाउन सफल भएको र आगामी दिनमा पनि युनाइटेड कलव सँग सहकार्य गरेर सामाजिक काममा सहकार्य गरेर अगाडी बढ्ने बताए ।
महोत्सवको औचित्यमाथि प्रकाश पार्दै क्लबका संस्थापक अध्यक्ष तथा पोखरा अन्तर्राष्ट्रिय चिडियाखाना निर्माण समितिका संयोजक हिमालय बख्रेलले क्लबले स्थापना कालदेखि सामाजिक काममा अगाडी बढिरहे बताउँदै लेखनाथको पचभैयामा निर्माणधिन चिडियाखाना भित्र वन्यजन्तु उद्धार केन्द्र निर्माण भइसकेको बताए ।
“








