हाम्रा दुःखले आर्ज्याको मुलुक हैन ‘बडामहाराज’

“आज एकाबिहानै एक हुल
तिम्रा अघिल्तिर आए
शिर निहुराई हात जोडी तनन्क तन्केर
शिरदेखि पाउसम्म अविरमाला टक्राउँदै
भन्न थाले
हाम्रा दुःखले आर्ज्याको मुलुक हैन
नेपाल !

हिजो एक हुल मनुवा त्यही बाटो भएर
सहिद गेटमा माला चढाउँदा
तिम्रा पाउमा लुते कुकुरले जस्तो
तिर्रक्याउँदै लत्ताले हान्दै
आमचकारी गाली गर्दै
‘निरङ्कुश तानाशाह’
हाम्रा दुःखले आर्ज्याको मुलुक हैन !
भन्दै थिए
।। ।।

कत्ति फरक भयो हाम्रो समाज
अब इतिहासको नाममा बाँडिदैछन्
हिजो बैरीसँग एउटै भएर लड्नेहरू
अहिले त्यसैको उक्साहटमा
इतिहास बेच्दैछ, पहिचान मेट्दैछ ।

मलाई थाहा छ

अस्तीसम्म तिम्रा सन्तानहरूले
नालापानी किल्लामा एक मुठ्ठी सासमा
दुस्मनको राइफलसँग लडेको ‘इतिहास’ पढ्दा
ज्यानका रौं ठाडा हुन्थे, कन्सीरी तातिन्थे
भलभल्ती रगत उम्लन्थ्यो
अमरसिंह, बलभद्र, कालु पाण्डेका कथा पढ्दा
देशभक्तिको ज्वाला दन्कन्थ्यो ।

आज गणतन्त्रको वेगले
तिम्रा इतिहास ‘लोकका कथा’ भएछन्
तातो रगत बाफ भईसकेछ
देशभक्तिको कुरा त छाडौँ
जंगे पिल्लर भत्काउँदै
आमा (नेपाल) को छाती कुल्चँदै
आफ्नै आँगन रैतीले साँध लाउँदा पनि
आँखा अन्धा भएछन्
सिरुपाते भुत्ते भएछ ।।

यदि हाम्रा दुःखले आर्ज्याको मुलुक भए
दुस्मनका छातीमा टेकेर विश्व थर्काउँदै
‘आयो गोर्खाली’ भन्दै जाई लाग्थ्यौँ

तर, बडामहाराज ! यो हामीले आर्ज्याको मुलुक हैन
यो त तिम्रो अहङ्कार र निरंकुशताको उपज हो ।
तिम्रो बहुलठ्ठी पन हो ।।

हिजो रत्नपार्कमा कुर्लंदै थिए
२२ से २४ से राज्य नै भएको भए
दुई ढुङ्गाको तरुल झैँ चेप्टिरहनु पर्दैनथ्यो रे !
अस्तित्व मासिदियौ रे !
नाक कान काटिदियौं रे !
पहिचान हरीदियौ रे !
अरूको इतिहास मास्ने, पहिचान खाेस्ने
तिमी,
‘बडामहाराज’ कसरी हुन सक्छौँ ?

इतिहास जित्नेहरुकै लेखिन्छ
हार्नेहरु त दुला भित्र पस्छन् ।
तिमी पनि दुलाभित्र पसेको भए
नेपाल भनिरहनु पर्दैनथ्यो रे !
सबैको राज्य हुन्थ्यो रे !
पहिचान र अस्तित्व हुन्थ्यो रे !

त्यसैले
‘बडामहाराज’ अब तिम्रो काम छैन
अर्ती उपदेश एक्सपायर भईसक्यो
अब न्याय माग्न गोर्खा हैन, गोखरपुर जानुपर्छ
पहिचान माग्न पाताल जानुपर्छ
नेपाल अब नेपाल रहेन
चार जात छत्तिस वर्णको फुलबारी रहेन ।।

अब त,
जसले हार्न सक्छ, जसले झुक्न सक्छ
उसको ठुलो इतिहास अनि अस्तित्व
हारेकाहरूले हराएको भन्न पाउँछन्
भागेकाहरू आउन पाउँछन्
मरेकाहरू बाँच्न पाउँछन् ।।
त्यसैले ‘बडामहाराज’
तिम्रा साना दुःखले आर्ज्याको मुलुक हैन ।

केशव नियात्री

२०७४/०९/२७

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =