धनगढी उपमहानगरको मतगणना स्थगित

कैलाली, १८ असार । प्रदेश नं ७ को एक मात्र उपमहानगरपालिका धनगढीको मतगणना स्थगन भएको छ । धनगढी – १७ को मतगणना सुरु गर्ने क्रममा एउटा बुथमा मुचुल्का भन्दा तीन मतपत्र बढी भेटिएपछि विवाद सुरु भएको हो । बढी मतपत्र भेटिएपछि मतगणनामा बसेका प्रतिनिधिहरुले मतदान केन्द्रमा सिलबन्दी गरेका हुन् ।

“बुथका मुचुल्का मतपेटिका सङ्कलनका दिन सबै कागजात सिलबन्दी गरिसकेको छाँै”, कैलालीका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले भन्नुभयो, “सिलबन्दी गरिएका सामग्री खोल्ने अधिकार भएकाले सिलबन्दी भएका आधारमै मतपेटिका मतणना गर्न अनुरोध गरेको छु । दलहरुका प्रतिनिधि भने बुथको मुचुल्कै हराएको आरोप लगाउँदै असन्तुष्टि जनाएर बाहिरिएका छन् । ”


महराले हराएको मुचुल्का ल्याउन नसक्ने बताएपछि दलका प्रतिनिधि विरोधस्वरुप मतगणना बहिष्कार गर्दै बाहिरिएका हुन् । यसअघि पनि गणनामा जोडिएको मत परिणाम र कम्प्युटरमा जोडिएको मत परिणाम फरक परेपछि दलहरुले बहिष्कार गर्दा मतगणना रोकिएको थियो ।

अहिले सहमतिका लागि दल र निर्वाचन आयोगबीच वार्ता भइरहेको छ । धनगढी–१, २, १९ र १८ को मतगणना सम्पन्न भइसकेको छ । अहिलेसम्म नेपाली काँग्रेसका उम्मेदवार अग्रस्थानमा रहँदा स्वतन्त्र उम्मेदवार दोस्रो तथा एमाले र नेकपा (माओवादी केन्द्रका) का उम्मेदवार तेस्रो र चौथो स्थानमा छन् । धनगढीमा अहिलेसम्म १३ हजारभन्दा बढी मत गनिएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *