धरान उपमहानगरपालीका नेताका ‘अाफन्त’ नियुक्तिको थलो

“
धरान, पुस २७ । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले विना प्रतिश्पर्धा एमाले नेताका श्रीमतीलाई जागिर खुवाएका छन । सुब्बाले एमाले नेताहरुलाई खुसी पार्न र रिझाउन सुरु गरेका सो कार्य सुरु गरेका हुन । निर्वाचनमा आफुलाई ज्यान फालेर सहयोग गरेकाहरुलाई जागीर दिएर मेयर सुब्बाले पैंचो तिरेको एमालेकै एक नेताले बताएका छन् ।
कार्मचारी आवश्यक परे पदपूर्ति समितिले लिखित र मौखिक परीक्षा लिएर बढी अंक ल्याउनेलाई नियुक्त गर्ने प्रावधान छ । तर, मेयरले आफूखुशी दक्ष जनशक्तिबिच प्रतिष्पर्धा गराएर जनशक्ति छनौट नगरी आफु निकट र आफ्नो दलका नेताका श्रीमतीलाई जागिर दिलाएका हुन् । जागिर पाउनेमा एमाले सुनसरी क्षेत्र नम्बर १ का अध्यक्ष इन्द्र राईकी श्रीमती विजयकला राई र एमाले धरानका सचिव राजमणि निरौलाकी श्रीमती प्रमिला निरौला रहेका छन् । उनीहरुलाई वडा नम्बर १० मा खटाइएको छ ।
कांग्रेस धरानका सभापति तिलक राईले खुला प्रतिश्पर्धा बिना नै नेताका श्रीमतीलाई जागिर दिँएर बिधि र नियम मिचिंदा गलत सन्देश गएकाले उक्त निर्णय तत्काल खारेज गर्न माग गरेका छन् । एमाले भित्रैपनि सो बिषयमा असन्तुष्टि बढेको छ । एमाले क्षेत्र नम्बर १ का अध्यक्ष डम्बर गुरुङले पनि नेताका श्रीमतीलाई जागिर लगाएको विषयमा असन्तुष्टि जनाएका छन ।
उपमहानगरका वरिष्ठ प्रशासकीय अधिकृत गणेश तिम्सिनाले बोर्ड बैठकको निर्णयअनुसार दुवै जनालाई खरिदार पदमा ६ महिनाका लागि करारमा नियुक्त गरिएको जिकीर गरेका छन् ।
“








