कराेडाैं कमाउन पशुपतिकाे बालुवामा गच्छदारकाे अाँखा

“
पुस २६, काठमाडाैं । षड्यन्त्र गरेर प्रतिनिधिसभा निर्वाचन जितेका सदावहार मन्त्री विजयकुमार गच्छदारले काम चलाऊ सरकारमा करोडौं कमाउने दाउ गरेका छन् । सरकारमा उपप्रधान तथा स्थानीय विकास मन्त्री समेत रहेका गच्छदारले बाग्मतीको बालुवामा समेत आँखा गाडेको छन् ।
गच्छदार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र नारायण देवको मिलेमतोमा राज्यकोषमा करोडौं क्षति पुग्ने गरी पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको बालुवा ठेक्कामा दिन चलखेल सुरु भएको हो। गच्छदार र देवको मिलेमतोमा पशुपति क्षेत्र विकास कोषको स्वामित्तमा रहेको बालुवा अति थोरै रेट कायम गर्दै आफू निकटका ठेकेदारलाई ठेक्का दिन गृहकार्य भइरहेको स्रोतको दाबी छ ।
उपप्रधानमन्त्री गच्छदारले पर्यटनमन्त्री देवलाई पशुपति क्षेत्रको बालुवा ठेक्कामा दिने न्यूनतम रेटसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लगेर स्वीकृत गराउन दबाब दिएका छन् । यता मन्त्री देवले यसरी कम रेटमा प्रस्ताव पास गराउँदा पछि अख्तियारको कारबाहीमा पर्न सक्ने डरले आनाकानी गर्दै आएपनि अहिले गच्छदारको दबाब थेग्न नसकेर प्रस्ताव मन्त्रिपरिषदमा लान लागेका छन्।
कोषको गोठाटारमा पाँच सय ३४ रोपनी जग्गा छ। यही जग्गाको बालुवा ठेक्कामा दिने गृहकार्य भएको स्रोतको दाबी छ। व्यवसायीका अनुसार यो क्षेत्रमा झन्डै ५ अर्ब बराबरको बालुवा छ तर अहिले कोषको राजस्वमा ३० देखि ४० करोड मात्रै आउने गरी ठेक्का दिने षड्यन्त्र भइरहेको छ ।
पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्को अध्यक्षमा संस्कृति तथा पर्यटनमन्त्री र संरक्षकमा प्रधानमन्त्री रहने व्यवस्था छ।
मन्त्री देवले बालुवा ठेक्काका विषयमा केही बोल्न चाहिरहेका छैनन् । उनी केही दिन यता सञ्चारकर्मीहरू अघिल्तिर समेत पर्ने गरेका छैनन् । स्रोतका अनुसार उपप्रधानमन्त्री गच्छदारले पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेसहित केही सहसचिवलाई बालुवा ठेक्कामा दिने आफूहरूको योजनामा सहयोग गर्न आग्रह गर्दै प्रलोभन देखाएका थिए । तर, सचिव न्यौपाने विगतमा पनि पशुपतिकै बालुवामा अख्तियारले पशुपति विकास कोषका अधिकारीको ‘कठालो’ समातेको स्मरण गर्दै पछि हटिरहेका छन् ।
गच्छदारले बालुवा ठेक्का दिन सके निर्वाचनमा भएको खर्चको जोहो गर्न सकिने र पार्टीलाई पनि सहयोग पुग्ने भएकाले आफूहरूलाई सहयोग गर्न काँग्रेसका प्रभावशाली नेताहरू तथा प्रधानमन्त्रीलाई समेत भन्न भ्याईसकेका छन् ।
गच्छदारले मुख्यसचिव लोकदर्शन रेग्मीलाई समेत सहयोगी बन्न आग्रह गर्दै आएका छन्। तर, मुख्यसचिव रेग्मी यो प्रस्ताव कुनै हालतमा मन्त्रिपरिषदमा पेस गर्न नदिने तयारीमा रहेको स्रोतको दाबी छ । केही दिनअघिको मन्त्रिपरिषद बैठकमा गच्छदारले बालुवा ठेक्कामा दिने आफूहरूको योजनामा मुख्यसचिव बाधक बनेको भन्दै उनीमाथि आक्रोश पोखेका थिए।
पर्यटन मन्त्रालयका सचिव न्यौपानेले यसअघि पशुपति क्षेत्रको बालुवा ठेक्कामा दिँदा अनियमितता भएपछि कोषका सदस्यसचिवसहितका अधिकारी अख्तियारको फन्दामा परेको भन्दै मन्त्री देवलाई फाइल अगाडि नबढाउन सुझाव दिँदै आएका छन्। तर, मन्त्री देवलाई गच्छदारले चर्को दबाब दिएपछि उनी दोधारमा परेका छन् ।
पहिला जुन प्रक्रियाबाट बालुवा ठेक्का दिइएको थियो अहिले पनि सोहीअनुरूप प्रक्रिया अगाडि बढाउने गरी प्रस्ताव तयार पार्न सचिव न्यौपानेमाथि दबाब परेको छ। स्रोतका अनुसार पशुपति क्षेत्रको बालुवा ठेक्का हत्याउन व्यवसायी नामगेल शेर्पा तथा गच्छदारका कान्छा पुत्र सुवास लागि परेका छन् ।
केही समयअघि कोषले मन्त्रीको निर्देशनमा रेट तोक्न समिति गठन गरेको थियो। समितिले पुरानै रेटमा बालुवा बिक्री गर्न सकिने सिफारिस गरेको थियो। सोही सिफारिसलाई अहिले मन्त्रिपरिषदमा लगेर स्वीकृत गराउने तयारी गरिएको हो।
०६५ कात्तिक ५ मा निर्मल कुइँकेल कोष सदस्यसचिव हुँदा करिब चार सय रोपनीको बालुवाको ठेक्का दिन बच्चुराम दाहालसँग सम्झौता गरे पनि कार्यान्वयन भएको थिएन। गत साउन ३२ गते बोलपत्र आह्वान गरिए पनि बोलपत्रबमोजिम कसैको ठेक्का परेन। जिविस काठमाडौँले अनुमति लिएकोलाई मात्र दिन मिल्ने र उक्त ठाउँमा बच्चुराम दाहालले मात्र अनुमति लिएको भन्दै कोषलाई पत्राचार गरेको थियो ।
गच्छदारले यसपटककाे निर्वाचनमा पाँच कराेड बढि खर्च गर्नुपरेकाेले साे खर्च उकास्न पनि जाँदाजाँदै कराेडाैं कमाउने दाउ गरिरहेका छन् । २६ वर्षमा १२ पटक बढि मन्त्री बन् सफल गच्छदारले यस अघि भाैतिक तथा पूर्वाधार मन्त्री र सडक तथा यातायात मन्त्री हुँदा कराेडाैं भ्रष्टाचार गरेकाे विषयमा अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगले छानविन समेत गर्दै अार्इरहेकाे छ ।
“








