सौर्य बत्ती जडान

म्याग्दी, १८ असार । बेनी नगरपालिकाको विभिन्न सार्वजनिक स्थलमा सडक सौर्य बत्ती जडान गरिएको छ । बेनी नगरपालिका कार्यालय मार्फत मङ्गलाघाट, बेनी, गलेश्वर र अर्थुङ्गेमा ३८ वटा सडक सौर्यबत्ती जडान भएको हो । गलेश्वरमा १०, अर्थुङ्गेमा चार, मङ्गलाघाटमा १३ र बजार क्षेत्रमा ११ वटा सोलार बत्ती जडान गरिएको बेनी नगरपालिका कार्यालयका इन्जिनियर विमल रञ्जन कार्कीले जानकारी दिनुभयो । केन्द्रीय अनुदान, नगरपालिका र उपभोक्ताको रु ३८ लाख ४० हजार लगानीमा सडक सौर्यबत्ती जडान गरिएको हो ।

गतवर्ष बेनीको १८ वटा सडक सौर्यबत्ती जडान भएको थियो । सौर्य ऊर्जाको सहायताले रातको समयमा स्वचालित रुपमा बल्ने बत्ती जडान गरिएको इन्जिनियर कार्कीले बताउनुभयो । सडक छेउमा ठड्याइएको फलामको पोलमा राखिएको एक सय वाटको सोलार प्यानल र १२ भोल्टको ब्याट्रीबाट २० वाटको बत्ती बाल्ने गरिएको छ । बजारको सुरक्षा र सर्वसाधारणको सुविधाका लागि सोलार बत्ती जडान भएपछि रातको समयमा सार्वजनिकस्थल उज्यालो बनेका छन् । रातको समयमा हुने चोरी, तोडफोड, झैझगडा नियन्त्रणमा सघाउन पुग्नुका साथै सर्वसाधारणलाई हिँडडुल गर्न सहज भएको गलेश्वर बजार विकास संस्थाका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।

युवा प्रतिभा पुरस्कार

म्याग्दीका युवा प्रतिभा र उद्यमीलाई शनिबार बेनीमा पुरस्कृत गरिएको छ । जिल्ला युवा समितिको कार्यालयले विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने युवा र सम्बद्ध संस्थालाई पुरस्कृत गरिएको हो । युवाहरुको व्यावसायिकता विकासमा सहयोग पु¥याउने उद्देश्यले उद्यम, कला, खेलकुद संस्था, नृत्य, गायन क्षेत्रमा प्रतिस्पर्धा मार्फत उत्कृष्ट प्रतिभा पहिचान गरी पुरस्कार प्रदान गरिएको समितिका अध्यक्ष देवीप्रसाद शर्माले बताउनुभयो । कला सङ्गिततर्फ लोकगायक धुव जिसी, उद्यमतर्फ कृष्णबहादुर विक र खेलकुद संस्थातर्फ बेनपा– ९ को काउलेगौँडा युवा क्लबलाई नगद रु सात हजारका दरले सम्मान गरिएको छ ।

यसैगरी नृत्यतर्फ गीता गर्बुजा, गायनतर्फ राजकुमार परियार र मिलन विकलाई पुरस्कृत गरिएको छ । उनीहरुलाई क्रमश नगद रु चार हजार, दुई हजार र एक हजारसहित सम्मानपत्र प्रदान गरिएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *