बाहिर एन्फाको बोर्ड भित्र राप्रपाको कार्यालय !

काठमाडौँ, पुस २६ । पत्याउनुहुन्छ, अखिल नेपाल फुटबल महासङ्घ (एन्फा) गणेश थापाले नै हाँकिरहेका छन् । फिफाले ५८ करोड भ्रष्टाचार गरेको आरोपमा फुटबल गतिविधिबाट दश वर्षका लागि निलम्बन गरे पनि उनी पर्दा पछाडि बसेर एन्फालाई आफ्नो कमाण्डमा हिँडाइरहेका छन् ।

हाल एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ छन् । तर, उनी फिफाबाट भ्रष्टाचारको अभियोगमा कारबाहीमा परेका पूर्व अध्यक्ष गणेश थापाको निर्देशन विना सियो पनि उठाउन नसक्ने अवस्थामा छन् । उनी गणेश थापाका ‘कठपुतली’ भएका छन् ।

पुसको जाडोमा घामै प्यारो

पुस २४ गते सोमबार मकालु खबरका संवाददाता ललितपुर सातदोवाटो स्थित एन्फाको केन्द्रीय कार्यालयमा कार्यालय जाँदा कार्यालय बाहिरबाट सुनसान थियो । मध्ये पुसको जाडो । पार्किङ परिसरमा एकाध कर्मचारी घाम तप्दै थिए । ‘नमस्कार ! आरामै हुनुहुन्छ हजुरहरू ! संवाददाताले नजिकिँने हिसाबले हार्दिकता देखायो । एक दुईले ‘नमस्कार सर !’ भनेरै हार्दिकता देखाउँदै केका लागि आउनु भएको ! भन्दै औपचारिकता देखाए । संवाददाताले यत्तिकै घुमघाम र फुटबलमा के के भइरहेछ बुझ्न आएको भनेर परिचय दियो ।

‘ए हजुर पत्रकार ! घाम ताप्दै गरेका एकले प्रश्न गरे । ‘हजुर !’ संवाददाताले भन्यो ।

संवाददाता उनीहरूको छेउमा पुग्नै लाग्दा उनीहरू ‘पूर्व अध्यक्ष गणेश थापा कै कुरा गरिरहेको भान भइरहेको थियो । घाम ताप्ने मध्येका केहीले थापालाई ‘भगवान्’ नै जस्तो ठान्दा रहेछन् । केही भने, चुपचाप सुनिरहेका थिए ।

औपचारिकता पुरा गरेसँगै कार्यालयमा ‘को छ ?’ भनेर सोधियो । उनीहरूकै भाषामा ‘एकाध सरहरू’ हुनुहुँदो रहेछ । भवनको दुई तलामाथि एन्फाका प्रवक्ता सञ्जिव मिश्र कौसीमा घाम ताप्ने सुरसारमा देखिन्थे । अरू कर्मचारी खासै थिएनन् । भएका पनि जाडो छल्न पारिलो घाममा ढाड सेकाउँदै थिए ।

राप्रपाको ‘निमन्त्रणा पत्र’

एन्फा कार्यालयको गेट भित्र घाम ताप्दै तीन पुरुष बेञ्चमा कसैको पर्खाइमा थिए क्यार । उनीहरूकै सामुन्ने एक व्यक्ति धमाधम निमन्त्रणा–पत्र काट्न व्यस्त देखिन्थे । उनको अगाडिको कुर्सीमा दर्जन बेनामे खामका पत्र खप्टाएर राखिएका थिए । संवाददाता छेउमा गएर उभिएर हेर्‍यो । निमन्त्रणा–पत्र रहेछ, भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट ‘राष्ट्रिय पार्टी’ पनि बन्न नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को । राप्रपाका अध्यक्ष कमल थापा एन्फामा २० औँ वर्ष ‘राज’ गर्न सफल भाइ गणेश थापाका दाजु हुन् । उनकै निर्देशनमा पुस २७ गतेको ‘पृथ्वी जयन्ती’ मा एन्फाका जिम्मेवार कर्मचारी धमाधम राप्रपाले आयोजना गर्न लागेको कार्यक्रमको निमन्त्रणा–पत्र काट्दै रहेछन् । एन्फाका कर्मचारीले फुटबल सम्बन्धीका पत्र काट्नुपर्ने बेला दलको निमन्त्रणा पत्र काट्दै गरेपछि संवाददाताले प्रश्न गर्‍यो–‘यसपालि पृथ्वी जयन्ती यहीँ हुने हो की क्या हो ?’ । एक कर्मचारीले ‘हैन’ भन्दै माथिबाट आएको निर्देशन अनुसार काम गरेको भने ।

त्यसपछि कसले एन्फाका कर्मचारीलाई पार्टीको काम गर्न लगाएछ भनेर बुभ्दा ती मध्येका एक कर्मचारीले ‘गणेश थापा’ले नै निर्देशन दिएकाे भने । ‘के गर्नु हजुर माथिबाटै आदेश आएको छ, नगरौँ जागिरको सवाल गरौँ गर्न नहुने काम’ उनले आफ्नो विवशता पोखे ।

बुझ्दै जाँदा गणेश थापाले आफू अध्यक्ष हुँदा नियुक्ति गरेका धेरै कर्मचारीलाई ‘एन्फाको काम कम पार्टीको काम ज्यादा’ गर्न लगाउँदा रहेछन् । यहाँसम्म की कतिपय कार्यालयका कर्मचारी एन्फाले गरेका हरेक निर्णय पहिला गणेश थापालाई सुनाउने गर्छन् । एक कर्मचारीले नाम नबताउने सर्तमा गणेश थापाको हुकुम शासनको यसरी बखान गरे । ‘उहाँले अध्यक्ष ज्यू (नरेन्द्र श्रेष्ठ) लाई फोन मै थर्काउनु हुन्छ । कतिबेला यहीँ आएर काम गर्नुहुन्छ ।’

गणेश थापाको ‘कम ब्याक’

पूर्व मनोनीत सांसद समेत रहेका थापा राप्रपाको मकवानपुर जिल्ला अध्यक्ष पनि हुन् । उनी यति बेला पुनः खेलकुदमा फर्कने दाउ गर्दै छन् । यसका लागि थापाले राष्ट्रिय खेलकूद परिषद्लाई आधार बनाउन खोज्दै छन् । स्रोतका अनुसार थापाले राखेपको निर्वाचनमा लड्नकै लागि पार्टीको जिल्ला (मकवानपुर) अध्यक्षबाट राजीनामा दिईसकेका छन् ।

कहाँ जान्छ २५ करोड ?

नेपाल सरकारले फुटबल खेलको विकासका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई वार्षिक २० करोड रुपैंया बजेट दिने गरेको छ । त्यसमाथि विश्व फुटबल महासङ्घ (फिफा) ले समेत फिफा गोल प्रोजेक्ट अन्तर्गत वार्षिक पाँच लाख डलर उपलब्ध गराउँदै आएको छ । तर, एन्फालाई २५ करोड बढी रकमबाट ५० प्रतिशत पनि फुटबल खेलको विकासका लागि लगाएको छैन ।

एन्फाको बजेट कहाँ कहाँ खर्च हुन्छ ? प्रवक्ता मिश्रसँग विवरण माग गर्दा उनले साधारण सभा नभई कुनै जानकारी दिन नमिल्ने अड्डी कसे । ‘एन्फाको साधारणसभा आउँदै छ । अहिले दिन मिल्दैन साधारणसभा पनि कुरा गरौँला ।’ उनले झर्कदै भने । प्रवक्ताले जानकारी दिन नमिल्ने भनेपनि एन्फाका महासचिव धिरेन्द्र प्रधानलाई फोन गरियो । उनले आफू जिल्ला अधिवेशनहरूमा व्यस्त रहेको भन्दै पन्छिए ।

जिल्ला अधिवेशनमा रक्सी र मासुको खोलो !

आउँदो चैत्र १६ गते एन्फाको साधारणसभा डाकिएको छ । त्यसका लागि अहिले ४५ ओटा जिल्लाहरूमा जिल्ला अधिवेशन भइरहेको छ । एन्फाको अध्यक्षमा हालका उपाध्यक्ष मणि कुँवर, महासचिव प्रधान र कास्कीका राखेपका पूर्व प्रशिक्षक कृष्ण थापाले उम्मेदवारी दिने तयारी गरेका छन् । यी मध्ये पोखराबाट कृष्ण थापाले केही महिना अघि पत्रकार सम्मेलन नै गरेर एन्फाका पदाधिकारीले चुनावका नाममा एन्फाको सम्पत्ति दुरुपयोग भइरहेको आरोप नै लगाएका थिए । उनले एन्फाका उपाध्यक्ष कुँवरले एन्फाका सवारी साधन मनपरी चलाएको, एन्फाभित्र आर्थिक पारदर्शिता नभएको जस्ता आरोप लगाएका छन् । हेर्नुहाेस्

अहिले एन्फाका पदाधिकारीहरू देशभरका ४५ जिल्लाका जिल्ला अधिवेशनमा जुटिरहेका छन् । उनीहरूले आफ्नो पक्षमा मत बढाउन ती अधिवेशनमा मासु र रक्सीको खोलो बगाएका छन् । स्रोतका अनुसार अहिले ४५ जिल्ला मध्ये १४ जिल्लामा एन्फाको अधिवेशन सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =