ठगीको आराेपमा ‘कार्की र सार्की’ पक्राउ

काठमाडौँ, पुस २६ । विभिन्न व्यक्तिको सवारी साधन भाडामा लिएर सो बापतको भाडा नबुझाउने दुई जना पक्राउ परेका छन् ।

सो घटनामा संलग्न काठमाडाैँ तारकेश्वरका शिवहरि कार्की र बालाजु माछापोखरीका दिनेश कार्की भन्ने दिनेश सार्कीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो ।

काठमाडाैँ पेप्सीकोलामा रहेको ‘रामभोले भेइकल सप्लायर्स’को नाममा उनीहरुले तीन विभिन्न व्यक्तिबाट प्रतिसवारी साधन रु एक लाख पाँच हजार रकम दिने भनी तीन वटा कार सम्झौता गरेर भाडामा लिएका थिए ।

करार बमोजिम सवारी साधनको मासिक भाडा नदिई दुई वटा कार बेवारिसे छाड्नुका साथै एउटा कार लुकाएर भागेकाले यसबाट आफ्नो रु ३७ लाख ३५ हजार ठगी भएको भन्दै पीडितले महानगरीय अपराध महाशाखा टेकुमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा उनीहरुलाई भक्तपुर कटुञ्जेबाट पक्राउ गरी मुलुकी ऐन ठगी मुद्दामा अनुसन्धान एवं कारबाहीका लागि काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न म्याद थप गरिएको महाशाखाले जनाएको छ ।

अनुसन्धानका क्रममा उनीहरुले टोखा बस्ने एक महिलासँग रु ३५ लाख लिई रकम नभएको बैंक खाताको चेक दिएको, सिन्धुपाल्चोक चौताराका एक व्यक्तिबाट २०७४ साल वैशाखमा मासिक भाडा रु एक लाख दिने सहमतिमा लिई स्कर्पियो गाडी ल्याई काठमाडौँ हाँडीगाउँका दीपक बस्नेतलाई जेठ महिनामा रु २९ लाखमा बिक्री गरेको समेत खुलेको प्रहरीले जनाएको छ ।

यसैगरी धादिङका एक व्यक्तिबाट २०७४ साल असारमा एउटा कार मासिक रु ७५ हजारमा भाडा दिने गरी लगी सवारी साधनसहित सम्पर्कविहीन भएको, धनकुटाका एक व्यक्तिबाट समेत २०७४ साल कात्तिकमा स्कर्पियो कार मासिक रु एक लाख भाडा दिने गरी लिई सम्पर्कविहीन भएको उजुरीसमेत प्रहरीमा परेकोे छ ।

उनीहरुले अन्य व्यक्तिलाई पनि ठगी गरेको भन्ने बुझिएकाले पीडितलाई सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको छ ।

निजहरुउपर मुलुकी ऐन ठगी महलको दफा ४ अनुसार ५ वर्षसम्म कैद र बिगो भराई बिगो बमोजिम जरिवाना हुनसक्ने बताइएको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =