नेपालमा कहिलेदेखि सुरु भयो मोबाइल बैंकिङको सुरुवात ?

“
काठमाडौं । नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ३० लाखको हाराहारीमा पुगेको छ। बैंकिङ क्षेत्रमा पछिल्लो समय भित्रिएको मोबाइल बैंकिङ प्रयोग गर्ने मानिसको संख्या अहिले २९ लाख ५८ हजार ४१ जना पुगेको छ। ग्राहकको सहजता र क्यासलेस कारोबारको सबैभन्दा महत्वपूर्ण माध्ययम पनि मोबाइल बैंकिङ हो।
नेपालमा सन् २००५ मा पहिलो पटक मोबाइल बैंकिङको सुरुवात भएको थियो। स्ट्यान्डर्ड चाटर्ड बैंकले नेपालमा यो सेवाको सुरुवात गरेको हो। स्ट्यान्डर्ड चाटर्ड बैंकले यो सेवाको सुरुवात गर्दा एसएमएस बैंकिङका रूपमा आफ्नो खातामा भएको हेरफरेका बारेमा जनाकारी गराउने सुविधाको विकास गरेको थियो। बैंकले त्यस समयमा १० वटा नम्बर भएकै सिमबाट ग्राहकलाई कारोबारबारेमा जानकारी गराउँथ्यो।
त्यस पश्चात सन् २००६ लक्ष्मी बैंकले मोबाइल एसएमएस बैंकिङको सुरुवात गर्यो। लक्ष्मी बैंकले भने चार अंकबाट ग्राहकलाई म्यासेज पठाएर कारोबारको बारेमा जनाकारी गराउन थाल्यो। त्यसबेला ग्राहक आफ्नो खाताको जानकारी र कारोबार भएको सूचना मात्र पाउँथे।
त्यसपछि सन् २००९ मा आएर नेपालमा पहिलोपटक मोबाइल मनिको सुरुवात भएको हो। यसको सुरुवात पनि लक्ष्मी बैंकलै नै गरेको थियो। यसको सुरुवातसँगै म्यासेजमार्फत खाताको जानकारी, कारोबार भएको सूचना, आफ्नो खाताबाट अर्को खातमा पैसा टान्सफर गर्न, मोबाइल रिचार्ज गर्न सकिने भयो। यसको प्रयोग अहिलेसम्म पनि कतिपय बैंकले गरिरहेका छन्।
सन् २०१४ मा आएर बल्ल पहिलोपटक मोबाइल स्मार्ट बैंकिङको सुरुवात भएको हो। एफ १ सफ्ट कम्पनीका कार्यकारी निर्देशक सुवास शर्माका अनुसार स्मार्ट बैंकिङको सुरुवात ग्लोबल आईएमई बैंकले गरेको हो।
ग्लोबल बैंकले पहिलोपटक इन्टरनेटमा आधारित भएर चल्ने स्मार्ट बैंकिङको सुरुवात गरेको हो। योभन्दा मोबाइल बैंकिङका नाममा भित्रिएका एसएमएस बैंकिङ, मोबाइल मनीलगायत बैंकिङ सेवा सञ्चालन हुने गरेका थिए। मोबाइलमा म्यासज पठाएर ग्राहकलाई जानकारी गराउँदै आएका नेपाली बैंकको बीचबाट फरक रूपमा डेटामा आधारित बैंकिङ सेवाको सुरुवात ग्लोबल बैंकले गरेको हो।
यसलाई मोबाइल बैंकिङको मोर्डन रूपमा पनि हेर्न गरिएको शर्मा बताउनुहुन्छ । उहाँकाअनुसार नेपालमा एसएमएसको पठाउँदा लाग्ने पैसा घटेन तर विस्तारै डेटको पैसा घट्दै जाँदा अब डेटामा आधारित मोबाइल बैंकिङको सुरु भएको छ। अहिले नेपालमा पनि डेटामा आधारित मोबाइल बैंकिङ सेवा दिने बैंकको संख्या उल्लेखनीय छ ।
“








