बाढी गएको सात महिनापछि राहतका लागि एक अर्ब विनियोजन !

“
काठमाडौं, पुस २५ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गत साउनमा तराईका जिल्लामा गएको बाढीका कारण क्षति व्यहोरेका पीडितलाई घर मर्मत र तत्काल चिसोबाट जोगाउन न्यानो लुगा खरिद गरी बितरण गर्न एक अर्ब चार करोड ६ लाख ५० हजार रुपैयाँको अख्तियारी दिएको छ ।
राहत बितरणका लागि अर्थमन्त्रालयबाट उक्त रकमको निकासा प्राप्त भएपछि सोको अख्तियारी गृह मन्त्रालयलाई दिइएको प्राधिकरणले जनाएको छ ।
बाढीका कारण पूर्ण रुपमा घर क्षति भएका ४१ हजार ६ सय २६ घरधुरीलाई प्रति परिवार घर मर्मत गर्न १५ हजार र न्यानो कपडा खरिदका लागि १० हजार रुपैया बितरण गर्ने गृह मन्त्रालयलाई अख्तियारी दिएको प्राधिकरणका निमित्त सचिव यमलाल भूसालले जानकारी दिए ।
तराईमा अत्याधिक चिसोका कारण जनजीवन प्रभावित भएकाले तत्काल राहत स्वरुप घर मर्मत गर्न र न्यायो लुगा खरिदका लागि भोलिदेखि नै प्रभावित जिल्लाका जिल्ला बिपद् व्यवस्थापन समिति मार्फत रकम बितरणको प्रक्रिया सुरु गरिने छ ।
यता, सप्तरीका बाढीपीडित तथा भोजपुर र तेह्रथुमका अग्निपीडितले सहुलियतमा कर्जा पाउने भएका छन् । राष्ट्र बैंकले आज परिपत्र जारी गर्दै उक्त व्यवस्था गरेको हो ।
भोजपुर बजार र तेह्रथुमको संक्रान्तिमा भएको आगलागीबाट क्षती भएका ३४ परिवारले शहरी क्षेत्रमा अधिकतम २५ लाख र अन्य स्थानमा अधिकतम १५ लाख रुपैयाँका दरले ऋण पाउने भएका हुन् । यसका लागि पीडितहरुले जिल्ला दैवीप्रकोप उद्दार समितिको सिफारिस जुटाउनु पर्नेछ ।
सप्तरीमा बाढी तथा डुवानबाट घर र व्यवसायमा क्षति पुगेकाहरुले अधिकतम १५ लाख रुपैयाँ कर्जा पाउने छन् ।
“








