रोल्पा : प्रचण्डसँग हारेका वलीले यसपटक जिते चुनाव

असार १८, रोल्पा । माओवादी जनयुद्धको उद्गमथलो रोल्पाले यसपटकको स्थानीय तह चुनावमा माओवादी नेतृत्वलाई झड्का दिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्ती देखि कृष्णबहादुर महरा, वर्षमान पुन लगायत माओवादीका ठूला नेताहरुको जिल्ला रोल्पामा रुकुम जस्तै ‘क्लिन स्वीप’ गर्ने माओवादीको प्रयास सफल हुन सकेन ।रोल्पाका १० स्थानीय तह मध्ये एमालेले २ स्थानीय तह जितेर माओवादीको आधार इलाका तोडेको छ भने कांग्रेसले एक गाउँपालिका जितेर माओवादीलाई ७ स्थानीय तहमा रोक्न सफल भएको छ ।

माडी र थवाङ गाउँपालिका बाहेक जिल्लाका अन्य सबै स्थानीय तहमा दलहरु एक्लाएक्लै लडेका थिए । माडी र थवाङमै अन्य सबै दल मिल्दा पनि माओवादी विजयी भएको छ । तर, रुन्टिगढी, लुंग्री र त्रिवेणीमा माओवादी हारेको छ ।माओवादी जनयुद्धकालमा सेल्टरका रुपमा रहेको क्षेत्र एमालेले जितेको छ । चर्चित होलेरीकाण्ड भएको होलेरी सहितको क्षेत्र रुन्टिगढी गाउँपालिकामा एमालेले जित निकालेको छ । माओवादी अध्यक्ष प्रचण्डले पहिलो संविधानसभा चुनाव जितेको रोल्पामा उनैसँग १० वर्षअघि पराजित भएका एमालेका पूर्वजिल्ला अध्यक्ष शान्तकुमार ओलीले माओवादी युद्धकालको सेल्टर मानिने त्रिवेणी गाउँपालिका प्रमुख जितेर आधार इलाका तोडेका हुन् । त्यस्तै, रुन्टीगढी गाउँपालिकामा एमालेका बालाराम बुढा र छमाया पुन अध्यक्ष उपाध्यक्षमा निर्वाचित भए ।

कांग्रेसले लुंग्री गाउँपालिका जितेर माओवादी नेताहरुलाई स्तब्ध बनाएको छ । लुंग्री गाउँपालिकामा कांग्रेसका दुर्गाबहादुर खड्का अध्यक्षमा र भीममाया बुढा उपाध्यक्षमा निर्वाचित भए । यो नतिजा माओवादीका लागि निराशाजनक बन्यो ।रोल्पालाई रुकुम जस्तै ‘क्लिन स्वीप’ गर्ने सबै प्रयास असफल भएको माओवादी युवा नेता दिपेश पुनले स्वीकार गरे । उनी चुनावी अभियानको क्रममा करीब एक महिना रोल्पामा खटिएका थिए । केही आन्तरिक कमजोरीका कारण सोचे जस्तो नतिजा निकाल्न नसकिएको उनले बताए ।

चुनाव जित्नका लागि प्रचण्ड देखि महरा सम्मका नेताहरु रोल्पा जाने तर, कार्यकर्ता र जनताको अपेक्षा अनुसार काम नगर्ने कमजोरीले माओवादी रक्षात्मक बनेको टिप्पणी समेत भएको छ । रोल्पा घर भएका नेत्रविक्रम चन्द ‘विप्लव’ ले पनि माओवादी हराउन भूमिका खेलेका थिए । यसपटकको स्थानीय चुनावले माओवादी भित्र जनार्दन शर्मा ‘प्रभाकर’ लाई अझ बलियो बनाएको छ भने आधार इलाकाका अन्य नेताहरु माथि प्रश्न उठेको छ । शर्माको गृहजिल्ला रुकुममा माओवादी केन्द्रले ‘क्लिन स्वीप’ गरेको छ । रोल्पा, सल्यान, गोरखा, जाजरकोट, दाङ जस्ता जिल्लामा खराब नतिजा आएको छ ।

यो चुनावी परीणामले रोल्पामा माओवादीको एकाधिकार तोडिएको छ । ०४८ मा तत्कालीन जनमोर्चाले त्यहाँ चुनाव जितेको थियो । त्यसबेला कृष्णबहादुर महरा र बर्मन बुढाले जितेका थिए ।

०५१ र ०५६ मा माओवादीले बहिस्कार गरेकाले कांग्रेसले जित्यो । माओवादी शान्ति प्रक्रियामा आएपछि ०६४ र ७० दुबै संविधानसभा चुनावमा माओवादीले जित्यो । दोस्रो संविधानसभामा देशैभर माओवादी नराम्रोसँग पराजित हुँदा पनि रोल्पामा जितेको थियो । तर, यो पटक स्थानीय चुनावमा माओवादीले आफ्नो बर्चश्व जोगाउन सकेन ।

प्रचण्डसँग हार्नेले यसपटक जिते

०६४ सालमा प्रचण्डसँग फराकिलो अन्तरले हारेका शान्तकुमार वली स्थानीय चुनावमा भने विजयी भएका छन् । रोल्पाका सामान्य किसान परिवारका वली माओवादी दबदबाका बेला पनि युद्धकालमा एमालेको नेतृत्व सम्हालेर बसेका राजनीतिज्ञ हुन् ।

वली २०५४ सालमा जिल्ला विकास समिति सदस्य थिए । उनले माओवादीका गंगाबहादुर घर्ती मगरलाई हराएका हुन् । त्रिवेणी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचितसावित्रा बुढामगर महिला संघकी केन्द्रीय सदस्य हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *