पार्टी एकता टुङ्गो लगाउन संयोजन समितिको बैठक बस्दै 

काठमाडौं, पुस २५ । पार्टी एकताका विषयमा एमाले र माओवादीले छलफल गर्दैछन् । नेतृत्व, संगठनात्मक संरचना र नीतिगत विषयमा सहमति खोज्न आज एमाले र माओवादी केन्द्रका शीर्ष नेता सम्मिलित एकता संयोजन समितिको बैठक बस्दैछ ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले एकताको खाका, सांगठनिक विषय र अन्य प्राविधिक विषयमा आजको संयोजन समितिमा छलफल हुने जानकारी दिनुभयो । बैठकमा वैचारिक विषयमा एकरुपता र सांगठनिक एकताको गृहकार्य गर्न कार्यदल गठन गर्ने कार्यसूची रहेको बताइएको छ ।

कार्यदलले दिएको प्रतिवेदनका आधारमा एकता प्रक्रिया अघि बढ्ने दुई पार्टीका शीर्ष नेताबीच सहमति भएको छ । एकता प्रक्रियालाई गति दिने सम्बन्धमा अस्ति आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच छलफल भएको थियो ।

त्यही छलफलका आधारमा हिजो दुवै पार्टीले आन्तरिक छलफल गरेका थिए । समितिमा एमालेबाट अध्यक्ष ओली, बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र महासचिव इश्वर पोखरेल रहनुभएको छ भने माओवादीबाट अध्यक्ष दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 10 =