निर्माणधिन झोलुङे पुलबाट खसेर म्याग्दीमा दुई मजदुरको मृत्यु

“
म्याग्दी, २५ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा निर्माणधिन झोलुङ्गे पुलबाट खसेर सोमबार साँझ दुई मजदुरको ज्यान गएको छ । निर्माणधिन अवस्थामा रहेको पुलबाट खस्दा कैलाली जिल्लाको महोन्याल गाउँपालिका–५ का धन बहादुर क्षत्री र सोही गाउँपालिकाका–४ का पुरन थापाको ज्यान गएको वडाअध्यक्ष बिलबहादुर फगामीले बताए।
वेगखोलाको बेग र बादुक गाउँलाई जोड्ने बेगखोलामा नेपालकै अग्लो र लामो पुल तीन महिनादेखि निर्माणधिन अवस्थामा छ । ‘निर्माणकार्य अन्तिम चरणमा पुगेको पुलको बाँदुक तर्फबाट बास बस्न फर्कनेबेलामा चिप्लिएर उनीहरु पुलबाट खसेका थिए । त्यसको एकघण्टापछि १ सय ५० मिटर तल खोला किनारमा उनीहरुको शब भेटिएको थियो’ वडाअध्यक्ष फगामीले जानकारी दिए । उनले अन्तिम चरणमा पुगेको पुलबाट मजदुरको खसेर मृत्यु भएपछि स्थानीयबासी समेत दुखित भएको बताए ।
दनभरी पुलमा आवश्यक पर्ने सिमेन्ट बोकेका क्षत्री र थापा साढे पाँच बजे पुलबाट बाँदुक जाने क्रममा खसेका थिए । निर्माणधिन अवस्थामा रहेको पुलका मजदुर, जनप्रतिनिधि, स्थानीयबासी घटनास्थलमा पुगेपछि प्रहरीलाई जानकारी गराएका थिए । बेगखोला गाउँबाट बाँदुग जोड्ने झोलुङ्गे पुलको लठा तान्ने, दुवै तर्फको मेन ब्लकका साथै मुख्य संरचनाको निर्माण कार्य सकिएपछि फिनिसिङको काम भइरहेको थियो ।
उक्त पुलको काम १० प्रतिशत मात्रै बाँकी छ । कैलालीबाट आएका अन्य मजदुर भने सुरक्षित रहेका छन् । प्रहरी निरिक्षक सन्तोष रोकाले पोष्टमार्टमका लागि शबहरु जिल्ला अस्पताल बेनी ल्याउन प्रहरी टोली परिचालन भएको बताए ।
‘पुल निर्माणको क्रममा सुरक्षालाई विषेश ध्यान दिएपनि तारबार नगरिएको स्थानबाट आवतजावत गर्ने प्रयास गर्दा दुर्घटना भएको देखिन्छ’, उलने भने, ‘कैलालीबाट आएका आफन्तहरुलाई आजै शब जिम्मा लगाउने तयारी गरिरहेका छौँ ।’ कुल ३ करोड ३२ लाख लागतमा निर्माण हुन लागेको पुल ३ सय ६५.८० मिटर लम्बाई रहेको छ ।
साविकको बेगखोला गाविसमा रहेका १–६ र बादुकका ७,८ र ९ वडाका बासिन्दालाई लक्षित गरिएको पुल निर्माण भएपछि रघुगंगा गाउँपालिकाको भगवती, पिप्ले, चिमखोला, दग्नामका साथै अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ तातोपानी, नारच्याङ, हिस्तानका बासिन्दालाई समेत आवतजावतमा सहज हुने वडाअध्यक्ष फगामीले जानकारी दिए ।
“








