“बिपन्नलाई “”न्यानो”” बाँड्दै बि.पि.का विद्यार्थीहरु”

“
धरान, पुस २४ । शितलहर तथा चिसोका कारण कठ्याँग्रिएर रात बिताउन बाध्य बिपन्न परिवारका लागि बि.पि. कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा अध्ययनरत ‘रोटर्याक्ट क्लब अफ धरान घोपा’का बिद्यार्थीहरुले “न्यानो सेवा कार्यक्रम ” सुरु गरेका छन् ।
उनीहरुले धरान बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान भित्र बसोबास गर्ने डाक्टर तथा विद्यार्थीहरुको घरदैलोमा गई न्यानो लुगा संकलल गरि सो कार्यक्रम संञ्चालन गरेका हुन् ।
आईतबार बेलुका आफना काम सकेर बरगाछि र भानु चोकस्थित सडक बालबालिकाहरु बस्ने ठाउँ पुगेर रोटर्याक्ट क्लब अफ धरान घोपाका रोटर्याक्टरहरुले सडक बालबालिका र उनीहरुका परिवारका अरु सदस्यहरुलाई जाडोको लुगा बितरण गरेका छन् ।
सडक बालबालिकाहरु जाडोले कठ्यांग्रिन थालेको जानकारी पाए पछि आफुहरुले १५ दिनदेखि लुगा संकलन गरी सफा, प्रसोधन र प्याकेजिङ गरेको र नयाँ बर्ष मनाउन राखेको खर्चले बि.पि. कोईलारा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बस्ने विद्यार्थी, तीनका परिवार तथा किराँत याक्थुङ चुम्लुङ्गको सहयोगले सडक बालबालिका र उनीहरुका परिवारका अरु सदस्यहरुका लागि जाडोको लुगा बाँड्ने न्यानो प्रयास सुरु गरेको प्रतिष्ठानमा एम.बि.बि.एस. तेस्रो बर्षमा अध्ययनरत रोटर्याक्टर शुभम कुमार अग्रवालले बताए ।
उनले नयाँ बर्ष मनाउने नाममा तडक भडक गर्नु भन्दा दुःखीहरुको हेरचाहमा थोरै भए पनि सहयोग पुगोस् भनेर सहयोग गरिएको जानकारी दिए । अग्रवालका अनुसार सो क्षेत्रका ४३ जना सडक बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको हो । यसका साथै मौसममा सुधार नआएसम्म अरु ठाउँहरुमा पनि ’न्यानो सेवा’ अभियानलाई निरन्तरता दिने सो कार्यक्रमका संयोजकहरु रोटर्याक्टर अमित साह, इरु प्याकुरेल, अर्जुन मन्डल र रोटर्याक्टर खुस्बु झाले बताए ।
न्यानो लुगा बितरणको क्रममा सो क्षेत्रको बिषयमा जानकारी ल्याएर आफुहरुलाई सहयोगको लागि घच्घच्याउने प्रतिष्ठानका बाल रोग बिसेषज्ञ डा. अरुण कुमार सिंहलाई बिशेष धन्यवाद समेत दिइएको थियो ।
सो क्षेत्रका सडक बालबालिका र बिपन्न ब्यक्तिहरुको अवस्थाको बिषय सार्वजनिक भएपछि जीवनयापनमा सहजता प्रदान गर्न एवं दुखमा साथ दिन न्यानो कपडा बितरण गरिएको कार्यक्रममा उपस्थित बाल रोग बिशेषज्ञ डा. अरुण कुमार सिंहले बताए ।
प्रतिष्ठानका विद्यार्थीहरुसँगै कपडा बाड्न पुगेका किराँत याक्थुङ चुम्लुङका कुशल श्रेष्ठले आफनो परिवारसँगै सडकमा बसोबास गर्दै आएका बालबालिकाहरुलाई सहयोग गर्नु आफनो कर्तव्य रहेको बताए ।
पुसको सुरुवातदेखि नै सितलहरसँगै जाडो बढेपछि सडक बालबालिकाहरु तावामा आगो बालेर रात कटाउने गरेका थिए । जाडोमा न्यानो कपडा पाए पछि उनीहरु निकै हर्सित भएका थिए । लत्ता कपडा पाएपछि त्यहाँ बस्दै गरेका रमेशले भने, ‘हामी जस्तो दुःखीलाई हेर्ने मनकारी पनि हुँदा रहेछन् । जाडोमा न्यानो कपडा पाउँदा धेरै सहयोग मिलेको छ ।’
एता धरानमा तापक्रम घट्दै जाँदा मङ्गलबारदेखि जनजीवन प्रभावित बन्दै गएको छ । आईतबार २० देखि २२ डिग्रीबीच रहेको धरानको तापक्रम तापक्रम सोमबार बिहान १५ डिग्रीमा झरेको थियोे ।
चिसो स्याँठ र बाक्लो हुस्सुले जनजीवन प्रभावित भए पछि सडक बालबालिका , सुकुम्बासी क्षेत्र , बिपन्न, एकल, अपाङ्गगता भएकाहरुमा न्यानो कपडा बाँड्ने व्यवस्था मिलाइएको रोटेरियन मुकेश अग्रवालले जानकारी दिए । यसअघि भुकम्प र बाढी आए लगत्तै प्रतिष्ठानका विद्यार्थीहरुले आफ्नो पिकनिक र भ्रमण रद्द गरेर पनि पीडितहरुलाई सहयोग गरेका थिए ।
“








