निः शुल्क काठ पाउने भ्रममा ३० हजार आवेदन

बनेपा, १८ असार । काभ्रेपलाञ्चोकमा भूकम्प पीडितले घर बनाउन भन्दै ३० हजार भूकम्प पीडितले जिल्ला वन कार्यालय आवेदन दिएका छन् । सालको काठ निःशुल्क पाउने भ्रममा ३० हजार आवेदन कार्यालयमा चाङ लागेको र अन्य थप निवेदन पनि दर्ता हुने क्रममा रहेको जिल्ला वन कार्यालयका अधिकृत प्रेम खनालले जानकारी दिनुभयो । निः शुल्क सालको काठ पाउने भन्ने भ्रममा भूकम्पपीडित छन् तर उनीहरुले निःशुल्क नपाउने उहाँले जानकारी दिनुभयो ।

भूकम्प पीडितका लागि काभ्रेपलाञ्चोकमा १० हजार क्युफिट काठ आवश्यक भएकाले वन विभागलाई पत्राचार भएको जानकारी दिँदै वन अधिकृत खनालले दसैँ आसपासमा ती काठ तराईका जिल्लाबाट पैठारी गरेर वितरण गरिने बताउनुभयो । घर बनाएको नक्सा पास, लालपुर्जा, तिरो तिरेको रसिद, वास्तविक भूकम्पपीडित भएको परिचयपत्र र सामुदायिक वनको सिफारिस पत्रलगायतका कागजात माग गरेका छौँ, छानबिन गरेर वितरण गर्छौं – उहाँले भन्नुभयो । सालको काठ काठमाडौँमा प्रतिक्युफिट रु छ हजार ५०० पर्छ तर बजार मूल्यभन्दा सस्तोमा उपभोक्तालाई काठ वितरण हुन्छ ।

यसैबीच जिल्ला वन कार्यालयले धोबीखोला सामुदायिक वनमा रहेको धुलिखेल हाई रिसोर्ट र गौखुरेश्वर सामुदायिक वनमा रहेको हजार सिढी रेस्टुरेन्टले वन अतिक्रमण गरेको भन्दै हटाएको छ । त्यस्तै, नगरकोटमा पनि भएको वन अतिक्रमण हटाउन भक्तपुर र काभ्रेपलाञ्चोकको समन्वय बैठक राख्ने तयारी भएको अधिकृत खनालले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *