लागुऔषध चरेसका मुख्य कारोबारी पक्राउ

चितवन, १८ असार । गत वैशाख २० गते नारायणगढको लायन्सचोकबाट ना ४ ख ७६३० नंम्बरको ट्रकबाट बरामद गरिएको १२६ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेसका मुख्य कारोबारीलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाका अनुसार पर्सा जिल्ला, कौवावन कटैया गाउँपालिका – ७ का ३२ वर्षीय आजाद भनिने ओसिम महम्मद अन्सारीलाई निजकै घरबाट नेपालमा चरेस खरिद गरी बिक्रीका लागि भारत लैजाँदै गर्दा यही असार १५ गते प्रहरीले पक्राउ गरेको हो । सो चरेस धादिङबाट ल्याइएको थियो ।

चरेस बरामद भएकै दिन चालक मोजहर मन्सुर र सहचालक अजयकुमार रामलाई प्रहरीले पक्राउ गरेको थियो । अट्ठाइस वर्षीय मन्सुर बारा जिल्लाको जितपुर सिमरा नगरपालिका–२३ का र १९ वर्षीय कुमार राम बारा प्रस्टोका–४ का हुन् । दुवैलाई लागुऔषध नियन्त्रण ऐन, २०३२ अन्तर्गत कारबाही गरिने थापाले बताउनुभयो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *