सर्दुखोलामा पुल निर्माण गर्ने विषयमा धरानबासी विभाजित

“
पुस २२, धरान । जनसहभागितामा मुलुककै उदाहरणीय सहरका रूपमा धरानलाई लिने गरिन्छ । पूर्वको पर्यटकीय र आवासीय सहर भएकाले पनि धरानको पहिचान छुट्टै रहेको छ । धरानमा सबै वर्ग समुदाय जातजातिको सम्रिषण रहेको छ । र, उकले अर्कालाई सम्मान तथा आदर गर्ने संस्कार पनि छ । तर, पछिल्लो समय यो संस्कार र परम्परा हराउँदै गएको आभास भएको छ ।
यसको एउटा उदाहरण हेरौँ ।
अहिले धरान–बराहक्षेत्र जोड्ने सर्दुखोलामा पुल निर्माण गर्ने विषयमा धरानबासी विभाजित भइरहेका छन् । हरेक वर्ष वर्षायाममा पुल अभावका कारण बरहाक्षेत्र र धरानका जनतालाई ठुलै असर हुने गरेको छ । सरकारले पुल निर्माणका लागि रसुवा कन्ट्रक्सनलाई ठेक्का दिएपछि स्थानीय धनकुटेबासीहरु त्यसको विरुद्धमा उत्रिएका छन् ।
पुलका कारण देखाउँदै धरान धनकुटे रोडबासीहरुको आफ्नो घरजग्गा जाने भन्दै तल्लो क्षेत्रबाट पुल निर्माण गर्न दबाब दिँदै तत्काल पु्ुलको काम रोक्न भनेका छन् । सार्वजनिक सडक ऐन २०३१ मै धनकुटे रोडको मापदण्ड २०४ फिट कायम छ । उक्त रोडलाई २०४ फिट कायम गर्दा त्यो रोडसँग जोडिएका सयौँ घर भत्कने भएपछि स्थानीयहरू विरुद्धमा उत्रिएका हुन् ।
धनकुटे रोडबासीद्वारा गठित ‘धनकुटे रोड संयुक्त उपभोक्ता संघर्ष समिति’ ले पुलको विरोध गरिरहेका छन् । उक्त पुल धरान चतरा जोड्ने एकमात्र पुल हो । पुल अभावका कारण बर्सेनि उर्लने सर्दुको भेलमा चौपाया, साना सवारी देखि मानिससम्म पर्ने गरेका छन् । संघर्ष समितिले धनकुटे रोडबाट बाइपास गरी तीनकुने, विपी प्रतिष्ठानको दक्षिण गेट, सर्दुको ५ नम्बर पुल हुँदै चतरा जोड्नु पर्ने माग गर्दै आएको छ ।
सङ्घर्ष समितिका अध्यक्ष निनाचन्द्र राईको बोनस मल नामक सपिङ मल उक्त उक्त रोडको मुखमै रहेकोले उनकै सक्रियतामा रोड बाइपास गर्न माग गरिएको हो । हिजो शुक्रवार पुल निर्माण क्षेत्र पुगेका सङ्घर्ष समिति र रेल्वेवासीबीच झडपको स्थिति समेत सृजना भएको थियो ।
सङ्घर्ष समितिका अध्यक्ष राईले वडा अध्यक्ष सूर्य भट्टराईको नेतृत्वमा आफूहरूमाथि आक्रमणको प्रयास भएको आरोप लगाए । यता वडा अध्यक्ष भट्टराईले पुल निर्माण कुनै पनि हालतमा नरोकिने भन्दै धनकुटेबासीको काम विकास विरोधी रहेको जिकिर गरे । उनले समितिको मागलाई वार्ताको माध्यमबाट हल गर्न आफू तयार भएको भन्दै पुल निर्माणलाई नै रोक्ने गतिविधि नगर्न आग्रह गरेका थिए । शुक्रवारै दुवै पक्षलाई छलफलमा धरान उपमहानगरपालिकामा बोलाईए पनि संघर्षरत पक्ष नआएकोले अहिले काम सुचारु गरिएको धरान १७ का वडाध्यक्ष भट्टराईले मकालु खबरलाई बताए ।
पुल निर्माणको जिम्मा पाएको रसुवा कन्ट्रक्सनले आगामी तीनवर्षभित्र (२०७६ कात्तिकसम्म) सक्ने गरी सम्झौता गरेको छ । उसले धरानदेखि सिन्धुलीको भिमानसम्म ४३ वटा पुलको ठेक्का लिएको छ । २५० मिटर लम्बाइ रहेको सर्दुको पुलको काम केही दिन अघिदेखि सुरु भएको थियो । बराहक्षेत्र चतराबासीले भने धरानबासीले सर्दुमा पुल निर्माण गर्दा दुवै क्षेत्रलाई फाइदा हुने भन्दै विरोध गर्न नपर्ने बताएका छन् ।
“








