कान्ति बाल अस्पताल ५६औँ वर्षमा !

“
काठमाडौं, पुस २२ । कान्ति बाल अस्पतालले ५६औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रमको स्वास्थ्य मन्त्री दीपक बोहराले पानसमा बत्ति बालेर उद्घाटन गरे ।
मन्त्री बोहराले कान्ति बाल अस्पताल लाई सुविधासम्पन्न अस्पताल बनाउन आफुले सक्दो पहल गर्ने बताए । कार्यक्रममा स्वास्थ्य सचिव डा. पुष्पा चौधरीको समेत उपस्थिति थियो ।
कान्ति बाल अस्पताल नेपालको केन्द्रीय बाल अस्पतालका रूपमा रहेको छ । तत्कालीन सोभियत संघ सरकारको सहयोगमा वि.सं २०१९ पुस २२ गते स्थापना भएको हो । आमा कान्ति राज्यलक्ष्मीदेवी शाहको नामबाट तत्कालीन राजा महेन्द्रले कान्ति बाल अस्पताल स्थापना गरेका हुन् ।
सन् १९८४मा तत्कालीन जापानी प्रधानमन्त्री रियोतारो हासिमोतोले भ्रमण गरेपछि प्राप्त जापानी आर्थिक सहयोगबाट अस्पतालको गुणस्तर र भौतिक संरचनामा केही सुधार भएको पाइन्छ । सोभियत सहायताअन्तर्गत स्थापना भएकाले सुरूका दुई वर्षसम्म यो अस्पताल सञ्चालनमा सोभियत चिकित्सक, नर्स तथा अन्य प्राविधिकबाट सेवा प्राप्त भएको थियो।
जनरल अस्पतालको रूपमा स्थापना भएकाले सुरूका ७८ वर्षसम्म यस अस्पतालले सबै उमेर समूहका बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्यो। पछि देशभरका बालबालिकालाई आधारभूतदेखि विशिष्टसम्मका सबै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यअनुरूप ०२७ साउनदेखि वीर अस्पतालभित्रको बालरोग विभाग औपचारिक रूपमा यस अस्पतालमा स्थानान्तरण भएदेखि स्थापनाकालको ५० शय्याको कान्ति अस्पताल १५० शय्याको कान्ति बाल अस्पतालमा परिणत भएको थियो।अस्पतालमा हाल ३२७ शय्या छ । र, यो देशकै ठूलो बाल अस्पतालको रुपमा सञ्चालनमा छ ।
हाल देशको कुल जनसंख्यामध्ये करिब ४१ प्रतिशत भाग ओगट्ने १४ वर्षमुनिका बालबालिकालाई स्वास्थ्य सेवा प्रदान गर्ने ३ सय पचास शय्या क्षमता भएको यो अस्पताल नेपालको एकमात्र सरकारी स्तरको केन्द्रीय प्रेसित (रेफरल) बाल अस्पताल हो।
“








