पहिरोले घर पुरिँदा पोखरामा दुईको मृत्यु, एक बेपत्ता

असार १८, नेपालगन्ज । पहिरोले घर पुरिँदा पोखरामा दुईको मृत्यु भएको छ । अर्की एक महिला बेपत्ता भएकी छिन् ।भीषण वर्षाका कारण पछाडिको ढिस्को खसेर पोखरा लेखनाथ १८ प्रस्याङपाखाका तारापती अधिकारीको घर पुरिँदा स्याङ्जा घर भई ठूली आमाको घरमा आएका १४ वर्षीय टंक क्षेत्रीको ज्यान गएको हो । दुई तले ब्लकको कच्ची घर पहिरोले पुरेपछि क्षत्री पनि पुरिएका थिए । अन्य सदस्य भने भागेर बाँच्न सफल भएको कास्की प्रहरीका प्रवक्ता डिएसपी खड्गबहादुर खत्रीले बताए ।

यसै गरी बेलुकीको खाना खाएर भाँडा माझ्ने क्रममा आएको पहिरोले पोखरा लेखनाथ १९ अकलादेवी मन्दिर नजिकैकी ३३ वर्षीया शोभा पौडेलको ज्यान गएको प्रहरीले जनाएको छ  । प्रहरीका अनुसार पौडेलको शव आइतबार बिहान घर भन्दा एक सय मिटर तल भेटिएको हो ।

यसैबीच फुस्रे खोलाले बगाएर पर्वतको तिलहार घर भएकी लीलाकुमारी लामिछाने बेपत्ता भएको प्रहरीले जनाएको छ । खत्रीका अनुसार शनिवार दिनभर रोपाइँ गरी साँझ छोरीको घर फर्कने क्रममा खोला तर्दा बाढीले उनलाई बगाएको थियो । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पहिरोले अवरुद्ध सिद्धार्थ र पोखरा बागलुङ (भूपी शेरचन) राजमार्ग सञ्चालन भएका छन् । राजमार्गहरुका विभिन्न स्थानमा पहिरो जाँदा अवरुद्ध सडक भने खुलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *