‘मोबाइल चोर’को दोष लगाएपछि सँगै सुतेका साथीको हत्या

पुस २०, पोखरा । मोबाइल चोरको दोष लगाएपछि सँगै सुतेका आफ्नै दुई जना साथीको हत्या गरेको अभियुक्त पूर्णबहादुर लिम्बुले स्वीकार गरेकाछन् । पोखरा लेखनाथ महानगरपालिका–१८ सराङकोटस्थित निर्माणाधीन माउन्टेन्ट रिसोर्ट एण्ड स्पा होटेलमा गत शुक्रवार मृत अवस्थामा फेला परेका दुईजना मजदुरको हत्या आफूले गरेको ‘सागर’ नामका पूर्णबहादुर लिम्बुले स्विकारेपछि घट्नाको रहस्य खुलेको छ ।

धनकुटा जिल्लाको छतर जोरपाटी गाउँपालिका घर भई सो रिसोर्टमा काम गर्ने मजदुर सागरले घनले आक्रमण गर्दा दुईजनाको मृत्यु भएको र एक जना सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक अशोक सिंहले जानकारी दिए ।

चारजना खाना खाएर सँगै सुतेकोमा चोरको आरोप लगाएकोले आवेगमा आई घनले हान्दा भोजपुर जिल्लाको षडानन्द नगरपालिकाका वर्ष १९ को निमा शेर्पा र वर्ष ३७ को आङलाक्पा शेर्पाको घटनास्थलमा मृत्यु भएको थियो । अर्का साथी वर्ष २७ को आङदावा शेर्पा सख्त घाइते भएकोले उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । आङ्दावाको अझै होस नखुलेको प्रहरी उपरीक्षक अशोक सिंहले बताए ।

आफ्ना साथीहरूको हत्या गरिसकेपछि अभियुक्त रातिनै पूर्व जाने बस चढेर आफ्नो घर पुगेको सुराक कास्की प्रहरीले पाएपछि प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदी सहित चार जनाको टोली त्यसतर्फ गएको थियो । धनकुटास्थित प्रहरीको अनुसन्धान टोलीको सहयोगले सागर पक्राउ परेको प्रहरी सहायक निरीक्षक सुवेदीले बताए ।

टोलीले प्रदेश नं. १ को प्रहरी र जिल्ला प्रहरी कार्यालय धनकुटासंगको समन्वयमा निजलाई पक्राउ गरी बिहीबार नै पोखरा ल्याएर जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक सिंहले बताए । घटना हुनु भन्दा पाँच दिन अगाडि अभियुक्त लिम्बुले मृतक आङलाक्पा शेर्पा र घाइते आङदावाको मोबाइल चोरेको र अरू साथीहरूले थाहा पाएपछि चोरेको मोबाइल फिर्ता गर्दापनि उनीहरूले चोरको आरोप लगाएकोले आफूहरू सुत्ने कोठामा रहेको घनले हिर्काएर साथीहरूको हत्या गरेको पत्रकार सम्मेलनमा जानकारी दिए ।

मोबाइल चोरेको निहुँमा मृतकहरुले आफूसँग झगडा गर्दै आएकाले पहिलेदेखि नै उनीहरूको हत्या गर्ने योजनामा रहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =