सर्वाधिक राशीको ‘खप्तड फुटवल प्रतियोगिता’ भोलीदेखि

“
धनगढी, पुस २० । निजी क्षेत्रको सर्वाधिक पुरस्कार राशीको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगिता२०७४’ भोलि (शुक्रबार) बाट धनगढीमा शुरु हुँदै छ । प्रतियोगिताको पूर्व सांसद आरजु राणा देउवाले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।
आज पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लवले प्रतियोगितामा ए डिभिजनका फुटवल क्लव, विभागीय टोली तथा विदेशी क्लवसहित १२ वटा टिमले भाग लिने जनाइएको छ ।
सुदूरपश्चिम–११ स्पोर्टस् क्लवको आयोजनामा हुने सो फुटवल प्रतियोगितामा सहभागी हुने टोलीहरू धनगढी आइपुगेको आयोजक क्लवका अध्यक्ष सुरेश हमालले बताए । प्रतियोगिता सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको हमालले बताए ।
धनगढी क्षेत्रीय रंगशालामा सञ्चालन हुने प्रतियोगितामा एक हजार पाँच सय थप दर्शक अटाउने कृत्रिम प्याराफित पनि निर्माण गरिएको छ । रंगशालामा तीन हजार पाँच सय दर्शक क्षमताका दुई वटा प्याराफिट रहेका छन् ।
प्रतियोगितामा नेपालका चर्चित फुटवल क्लवहरू, मनाङमस्र्याङ्दी, संकटा, त्रिभुवन आर्मी, झापा–११, सहारा क्लव पोखरा, अग्नी रुपन्देही–११, सुदूरपश्चिम–११, धरान फुटवल क्लव, एपिएफ क्लव, डुक स्टार क्लव भुटान, च्यासल युथ क्लव, र थ्री स्टर क्लव सहित १२ वटा ए डिभिजनका क्लव सहभागी हुँदैछन् ।
प्रतियोगिताको उद्घाटन खेल आयोजक सुदूरपश्चिम ११ स्पोर्टस् क्लव र काठमाडौंको च्यासल युथ क्लवबीच हुने प्रतियोगिताका प्रवक्ता ओम चन्दले बताए ।
खप्तड गोल्डकप विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यस्तै, उपविजेताले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उदयमान खेलाडी लगायतका विधामा उत्कृष्ट खेलाडीहरूलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक क्लवले जनाएको छ ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट एक जना खेलाडीलाई मोटरसाईकल पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, प्रत्येक खेलका म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितामा टिकट लिएर खेल हेर्न जाने दर्शकहरूमध्ये प्रत्येक दिन एक जनालाई गोला प्रथाद्वारा मोवाईल फोनसेट प्रदान गरिने जनाइएको छ । प्रतियोगिताको मुख्य प्रायोजक सिजी ग्रुपको नेपाल आईस ब्राण्ड र सहप्रायोजकमा नेपाल टेलिकम रहेको छ ।
“








