मेरो एउटा बानी छ-‘माग्दिन तर नाइँ भन्दिन’

“
काठमाडौँ, पुष २० । ‘पार्टीले लु ! तिमी नै राष्ट्रपति बन भन्यो भने नाइँ चाहीँ भन्दिन तर मेरो एउटा बानी छ,राष्ट्रपति बनाइदेऊ भनेर नमस्कार र बिन्ती गर्दै हिँड्दिनँ।’ वाम गठबन्धनभित्र पार्टी एकता र सत्ता बाँडफाँडका बारेमा बहस चलिरहदा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीले आगामी देशको कार्यकारी पद सम्हाल्न दिए पछि नहट्ने बताए ।
झापामा रहेका खनालले राष्ट्रपतिको दौडमा आफूले अहिलेसम्म कुनै मुख नखोलेको तर पार्टीले सिफारिस गरे तयार रहेको समेत ठोकुवा गरे । ‘मैले यो शब्द पहिलो चोटी उच्चारण गर्दैछु,’ उनले कार्यक्रम पछि भने,‘मागेर पद लिदिन तर दिए नाइँ भन्दिन ।’ यससँगै उनले आफ्नो योगदान र भूमिका हेरेर दिइएका सबै जिम्मेवारी कुशललतापूर्वक सम्पन्न गर्ने दावी समेत गरे।
उनले कार्यक्रममा राष्ट्रपति पद निष्क्रिय भए पनि आफू भने सक्रिय भूमिका रहेन उनले दावी गरे। ‘राष्ट्रपति भए पनि म चुप लागेर बस्नेवाला छैनँ, उनले भने, ‘चुप लागेर बस्नका लागि म राजनीतिमा आएको होइन।’ पछिल्लो समय राष्ट्रपतिका रुपमा खनालसँगै माधव नेपाल र वर्तामान राष्ट्रपति भण्डारीको नाम चर्चामा रहेको छ। यद्यपि एमाले र माओवादी केन्द्रबारे राष्ट्रपति पद कस्ले लिन भन्ने बारेमा अहिलेसम्म औपचारिक सहमति भने हुन सकेको छैन।
“








