सुस्तामा झोलुङ्गे पुल निर्माणमा ढिलाइ, स्थानीयको जोखिमपुर्ण ‘डुङ्गा यात्रा’ जारी

“
नवलपरासी, पुस २० । नवलपरासीको सुस्तामा झोलुङ्गे पुल निर्माणमा ढिलाई हुँदा सुस्ताबासीहरुको समस्या बढ्दै गएको छ । ठेकेदारले झोलुङ्गे पुलको निर्माणमा विभिन्न कारण देखाई ढिलाई गरिहेको हुँदा सुस्ताबासीहरु आफ्नै जिल्लाको सुस्ता गाउँपालिकाबाट सदरमुकाम आउन जोखिमपुर्ण यात्रा डुङ्गा नै चढ्न बाध्य छन् । यसरी कछुवा गतिमा भैरहेको निर्माणले सुस्ताबासीमा चिन्ता बढाएको छ ।
नारायणी (गण्डकी) पारी भारतको विहारसंग जोडिएको सुस्ताभुमी र जिल्लाको सुस्ता गाउँपालिका जोडने गरि सरकारले २ वर्ष अगाडी झोलुङ्गे पुलको आयोजना दिएपनि ठेकेदारको लापरवाहीले उक्त पुल निर्माण भारम्भ नै एक वर्ष ढिलो भएको स्थानीयले बताए । वर्षाैंदेखि जोखिमपुर्ण यात्रा गर्दै आएका सुस्ताबासीको समस्या सामाधान गर्न सरकारले सुस्ता र पक्लिहवँ जोड्न एसियाकै दोश्रो ठुलो झोलुङ्गे पुलको आयोजना बनाएको थियो ।
वि.स. २०७३ पुषमा शुरु भएको उक्त झोलुङ्गे पुलको निर्माण कार्य अझै ५ प्रतिशत पनि हुन सकेको छैन । पुलको निर्माण कार्यमा २ वर्ष बिताएर पनि पिलरको निर्माण गर्न सकिएको छैन । पुलको निर्माण कार्य सुस्त गतिमा भैरहेको छ । पुल निर्माणमा पटक पटक विभिन्न विवाद समेत उठ्ने गरेका छन् । प्राविधिक गडबण्डी र विवादले पटक पटक अवरुद्ध हुदै आएको पुल निर्माण कार्य ५ वर्षमा पनि पुरा नहुने संकेत देखिएको छ ।
१ हजार ५ सय ७१ मिटर लम्बाई र १.६ मिटर चौडाई रहेको उक्त झोलुङ्गे पुलको बेस बनाउने कार्यमा जम्मा १६ वटा पाईप मात्र धसिएको छ । पुलको निर्माणका लागि कुल २ सय २० वटा पाईल धसी ४ वटा ठुलो अग्लो पिलर ठड्याईने छ भने १० वटा सानो पिलर ठडयाई पुल बाँधिने कार्य गरिने सब ईन्जिनियर गोपाल बहादुर थापाले बताए । त्रिसुली आश्रय जे.भी. कन्सट्रक्शन कम्पनीले २७ करोड रुपैयामा ठेक्का लिएको उक्त पुलको निर्माण कार्यमा ढिलाई हुनु लामो समय मधेश आन्दोलन, वर्षायाममा भिषण बाढी र भारतीय विवाद रहेकोे साईट सब ईन्जिनियर थापाले बताए ।
नारायणी (गण्डक) नदीपारी भारतको विहार सिमासंग जोडिएको नेपालकै भुमि सुस्ता पुग्न नेपालको एक मात्र बाटो जोखिमपुर्ण डुङ्गा यात्रा हो । हाल सुस्ता गाउँपालिकाको वडा नं. ५ मा पर्ने सुस्ता भुमी पुग्न नदीवारी पक्लिहवा गाँउस्थित नदीको बन्धाबाट करिब साँढे दुई किलोमिटरको दुरी डुङ्गाले यात्रा तय गर्न पर्दछ । उक्त यात्रा २ घण्टा भन्दा बढि लाग्ने गर्दछ । वर्षाको बेला उच्च बाढीका कारण सुस्ताबाट आवत जावत गर्न नै नसकिने अवस्था हुन्छ ।
वर्षौंदेखि सुस्तामा बसोबास गर्दै आएका सुस्ताबासीहरु कुनै प्रकारको सरकारी तथा गैरसरकारी कामकाज गराउन र बजार गर्न त्रिवेणी बजार आउन पर्दा जोखिमपुर्ण यात्रा डुङ्गा नै तारेर आउने गर्दछन् । डुङ्गाको सफर सुख्खा याममा दुरी कम र जोखिम पनि कम हुन्छ तर वर्षातको मौसममा नदीको भिषण बाढीले पुरै नदीमा पानी भर्दछ र यात्राको दुरी बढाउने देखि यात्रा उच्च जोखिममा पुग्ने गरेको सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङ्गले जानकारी दिए ।
सुस्तामा उत्पादित बालीहरु बेचविखन गर्न र मजदुरी गर्न पनि डुङ्गा नै तारेर आवत जावत गर्दछन सुस्ताबासी । सुस्ताबासीहरुको मुख्य पेशा खेती र माछा मार्ने हो । सुस्तामा खास गरि विपन्न परिवारका समुदायहरुको बसोबास बढि छ । सुस्ताबाट नेपाल आवतजावत गर्न अर्को विकल्पको बाटो भारतीय बाटोपनि छ जुन बाटो तय गर्दा डुङ्गा चढन पर्दैन तर त्यो बाटो प्रयोगमा भारतीय एसएसबीले पटक पटक रोक लगाउने देखि सुस्ताबासीहरुलाई मानसिक एवं शारिरीक यातना दिने गर्दछ । भारतीय एसएसबीको ज्यादतीले सुस्ताबासी त्यो बाटो प्रयोग गर्न डराउने गरेको अध्यक्ष गुरुङ्गले बताए ।
विगतमा बाढीको बेला डुङ्गाको यात्रा गर्दा कतिपटक त डुङ्गै पल्टेर भौतिक तथा मानविय क्षति भएको छ गुरुङ्गले दुखेसो पोखे । गुरुङ्गले भने, डुङ्गा चढिन्छ तर पारी सहिसलामत पुगिन्छ कि नाई भन्ने त्रास मनमा बसिरन्छ । छोटो दुरीमा बचावका लागि सबै सुस्ताबासीहरु पौडी सिकेका छन् ।
करिब ४० हजार ९ सय ८० हेक्टेयर क्षेत्रफलमा फैलिएको उक्त सुस्ता पन्चायत २०६२ साल देखिनै भारतीय पक्षद्धारा १४ हजार ४ हेक्टर क्षेत्रफल अतिक्रमण भैसकेको छ र ७ हजार हेक्टेयर क्षेत्रफल भातरले जोतभोगबाट रोक समेत लगाएको छ । करिब ३ सय घरधुरी रहेको सुस्ता भुमिमा बाटोघाटो, खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य भौतिक पुर्वाधार समेतको समस्या वर्षौदेखि नै यस्तै छ ।
“








